कास्की — पोखरेली होटल व्यवसायीले पर्यटकीय क्षेत्रमा खानेपानी आपूर्ति सहज बनाइदिन खानेपानी संस्थानसँग माग गरेका छन् ।
पर्यटकको चाप रहने क्षेत्रले खानेपानीको समस्या भोग्नुपरेको भन्दै समाधान गरिदिन होटल संघ पोखराको टोलीले सोमबार खानेपानी संस्थान पोखराका कार्यालय प्रमुख आशिष कार्कीलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
व्यवसायीले आफूहरूले बोरिङको पानी खरिद गर्नुपर्ने बाध्यता रहेको गुनासो प्रमुख कार्कीसँग गरे । ‘होटल तथा पर्यटन व्यवसायीले दैनिकजसो बोरिङको पानी खरिद गरी पाहुनालाई सेवा दिनुपर्ने बाध्यात्मक परिस्थिति रहेको हुँदा पर्यटनको राजधानी पोखरा र पर्यटकको आवासीय क्षेत्र लेकसाइड, ड्यामसाइडमा नियमित रूपमा खानेपानीको व्यवस्था मिलाइ दिनुहुन अनुरोध गर्दछौं,’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।
होटल संघ पोखरा अध्यक्ष लक्ष्मण सुवेदीले पानीको आपूर्ति पर्याप्त नहुँदा व्यवसायी मारमा परेको बताए । पर्यटकको चहलपहल हुने क्षेत्रमा खानेपानी समस्याले नकारात्मक सन्देश जाने सम्भावनातर्फ सचेत हुनुपर्ने उनको भनाइ छ ।
पर्यटकीय क्षेत्रमा खानेपानीको सहज आपूर्तिका लागि कार्यालय गम्भीर रहेको प्रमुख कार्कीले बताए । जाइकाको खानेपानी योजना सन् २०१५ को भएकाले पोखराको आजको आवश्यकतालाई पूरा गर्न नसकिएको कार्यालय प्रमुख कार्कीले सुनाए । चुहावट र चोरी पानीको अर्को समस्या भएको उनले बताए ।
पोखरेलीलाई प्रशोधित पानी पुर्याउने उद्देश्यले ०७४ भदौमा सम्झौता गरिएको ‘पोखरा खानेपानी सुधार आयोजना’को काम सकेर जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ । यो आयोजना बनाउन जापान सरकारले ४ अर्ब ८१ करोड ३० लाख अनुदान सहयोग गरेको छ । यो आयोजनाको काम सकिसकेको छैन ।
आयोजनाअन्तर्गत दैनिक ४ करोड १० लाख लिटर पानी शुद्धीकरण गरेर घरघरमा पठाउने योजना छ ।
पोखराका ३३ मध्ये १९ वडामा दैनिक ८ करोड ७० लाख लिटर पानीको माग छ । पोखरामा हाल दैनिक ६ करोड २० लाख लिटर पानी वितरण हुन्छ । उत्पादन र आपूर्ति असन्तुलनले पोखरेलीको घरमा आवश्यकताअनुसार पानी पुग्न सकेको छैन । पोखरामा अहिले मर्दीखोलाको पानी वितरण हुन्छ । पोखराका १ देखि १९ बाहेकका वडामा अन्य खानेपानी आयोजना र स्थानीय स्रोत प्रयोग हुने गरेको छ ।
