पूर्वाधार अभावमा पर्यटकलाई सास्ती

वैशाख ६, २०८२

प्रकाश बराल

Tourists suffer due to lack of infrastructure

बागलुङ — नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन पुग्ने पर्यटकले पूर्वाधार अभावमा सास्ती खेप्न बाध्य भएका छन् । वर्षको दुईपटक हेलिकप्टर लिएर सिकारीहरू ब्लकमा पुगे पनि अपेक्षा गरेअनुरूप पर्यटक नआएको स्थानीयले बताए ।

सडक अभाव, खानेपानी पर्याप्त नहुनु र पर्यटक पुग्दा बस्ने आरामदायी होटलको अभावमा बल्लतल्ल पुगे पनि पर्यटक छोटो बसाइमै फर्कन बाध्य छन् । स्थानीयले भने पर्यटक बढाउन ढोरपाटन उपत्यकालाई सिकार आरक्षको क्षेत्रबाट अलग गर्नुपर्ने माग गर्दै आएका छन् । 

हाल बुर्तिवाङदेखि ढोरपाटनसम्मको ३६ किमि कच्ची सडक पर्यटकका लागि समस्या बनेको छ । सालझण्डी ढोरपाटन सडक आयोजनाको काम १६ वर्षसम्म पनि सम्पन्न नभएपछि पर्यटक सहजै ढोरपाटन पुग्न नपाएका हुन् । ढोरपाटन उपत्यकालाई रुकुमको तकसेरा र मध्यपहाडी लोकमार्गको पातीहाल्नेसम्म जोड्नका लागि भने आरक्षले साथ नदिएको स्थानीय सागर घर्तीले बताए ।

‘उक्त सडक जोड्न सकेमा कर्णाली प्रदेशबासीले पनि सहजै ढोरपाटन घुम्न पाउनेछन्,’ घर्तीले भने, ‘सोह्र वर्षदेखि निर्माणाधीन सडक पनि अलपत्रै छ ।’ बुर्तिवाङदेखि ढोरपाटनसम्मको सडक तत्काल कालोपत्र गर्नुपर्ने उनीहरूको माग छ ।

२०७७ सालको बाढीपहिरोले भत्केको सडकसमेत अझै बन्न नसकेकाले जबरजस्त जाने यात्रीले पनि सास्ती खेप्ने गरेका हुन् । संघीय वन राज्यमन्त्री, गण्डकी प्रदेशका वनमन्त्रीसहित प्रदेशसभाका सदस्यहरूले ढोरपाटनमै पुगेर विकासका संभावना समेत खोजी गरेका छन् । उनीहरूले विकासका लागि कानुनी र प्रक्रियागत समस्या समाधानमा पहल गर्ने बताए ।

हाल निर्माण भैसकेको गाडीखोला चामेद्वार ढोरपाटन सडकको १० किमि बढी कालोपत्र भैसक्दा पनि आरक्ष नजिकै सडकको ट्रयाक खोल्न नपाएपछि सडक अलपत्र छ । प्रस्तावित सडक पनि खुल्न नसकेपछि विकासमा पछाडि परेको ढोरपाटन नगरपालिकाका वडा नं. ९ का अध्यक्ष खिमबहादुर घर्तीले बताए ।

ढोरपाटन सिकार आरक्षका सूचना अधिकारी पशुपति अधिकारीका अनुसार गत आर्थिक वर्ष ढोरपाटनमा स्थानीय बाहेक १५ हजार ७ सय ७० जना नेपाली पर्यटक र १ सय ६ जना विदेशी पुगेका थिए । चालु वर्षको फागुन मसान्तसम्ममा १० हजार ७ सय बढीले भ्रमण गरिसकेका छन् भने १ सय २० विदेशी नागरिकले घुमेका छन् ।

यो अनुपातले चालु वर्षमा १८ हजार बढी पर्यटक आउने अनुमान छ । अधिकारीका अनुसार नेपालीलाई प्रतिव्यक्ति १ सय रुपैयाँ, सार्क राष्ट्रको भए १ हजार ५ सय र अन्य विदेशीलाई ३ हजार प्रवेश शुल्क लिने गरिएको छ । बागलुङ सदरमुकामदेखि ढोरपाटन आरक्ष १ सय २६ किमिको दूरीमा रहेको छ ।

आरक्षले जीविकोपार्जनमा पनि समस्या सिर्जना गरेको स्थानीयको आरोप छ । सिकार आरक्षभित्र सडक निर्माण गर्न नपाएको, आईईई र ईआईए गरेर आरक्षको अनुमतिले मात्र काम गर्न पाउने भएपछि विकास निर्माणका काम ठप्प भएको उनीहरूको गुनासो छ ।

‘स्तरीय होटल निर्माणमा पनि आरक्षको अनुमति पाउन सकिएको छैन,’ स्थानीय धीरेन्द्र घर्तीले भने, ‘जंगलमा ढलेको रुख पनि काट्न पाइँदैन ।’  किसानले घाँस–दाउरा काट्न पनि नपाएको उनले बताए । ढोरपाटन उपत्यकामा ६ सय बढी घरधुरी छन् ।

खेतीपाती, घाँसदाउरा गर्न पनि आरक्षले रोक्दा स्थानीयले जीविकोपार्जनमा पनि सास्ती खेपेको स्थानीय नरमती पुनले बताइन् । ‘हामीले नियमित रूपमा घाँस दाउरा गर्न पनि पाएका छैनौं, न त देउरालीमा धजा चढाउन नै पायौं,’ पुनले भनिन्, ‘देउरालीमा सेना बसेको छ भने घाँस–दाउरा गर्न आरक्षले छेकेको छ ।’

वर्षौंदेखि बस्दै आएका स्थानीयलाई आरक्षले अवरोध गरेको उनले बताइन् । स्थानीयले उपत्यकालाई आरक्षबाट अलग गर्नुपर्ने र पर्यटक सहज आउने वातावरण बनाउनुपर्ने समेत बताएका छन् । 

आरक्षका प्रमुख संरक्षण अधिकृत पशुपति चौधरीले राज्यको कानून र नीति अनुसार तथा आरक्षको नीतिगत व्यवस्था अनुसार काम गरेको बताए । राज्यले आरक्षको क्षेत्र सीमित गरेको खण्डमा वा काम कर्तव्यमा हेरफेर गरेमा आरक्षले पनि सोही अनुसार काम गर्ने बताए ।

‘हामीले मध्यवर्ती क्षेत्र निर्माणमा पहल गरेका छौं, घोषणा भयो भने स्थानीयले नै यहाँको झण्डै ५० प्रतिशत राजश्वसमेत पाउनुहुन्छ,’ उनले भने, ‘उक्त रकमले आय आर्जनका काम पनि गराउन सकिन्छ ।’ मध्यवर्ती घोषणामा ढिलाइ हुँदा स्थानीयलाई अप्ठ्यारो परेको उनले बताए । यहाँ हरेक वर्ष ७ करोड रुपैयाँसम्म राजस्व संकलन हुने गरेको छ ।

बृहत अन्तरक्रियापछि ढोरपाटन उपत्यकामा आवश्यक पूर्वाधार अगाडि बढाउने, पदमार्ग बनाएर पर्यटकलाई आकर्षित गर्ने लगायतका दर्जन योजना संचालन गर्ने निर्णय गरिएको बागलुङ क्षेत्र नं २ (ख)का सांसद द्रोण कुँवरले जानकारी दिए । उनले जिल्लाका सबै सरोकारवाला कार्यालयले पनि ढोरपाटन उपत्यकाको विकास लक्षित योजना बनाउन र सोही अनुसार बजेट र कार्यक्रम संचालन गर्न पनि आग्रह गरे ।

‘राज्यको नीति नियममा बस्ने तर विकासको फल ढोरपाटनबासीले पाउने अवसरको खोजीमा छौं,’ उनले भने, ‘उपत्यकाभित्र गौरवका आयोजना संचालन गर्न आरक्षले पनि सहयोग गर्नुपर्छ ।’

उपत्यकाभित्र कृषि र पशुपालनको क्षेत्र विस्तार गर्न बजेट बढाउन पहल गर्ने, स्तरीय होटलमार्फत पर्यटक भित्र्याउने काममा आरक्षको साथ र सहयोग चाहिने विषयमा सहमति जुटेको उनले बताए ।

प्रकाश बराल बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully