च्याउ खेतीबाटै मासिक ६०/७० हजार कमाईरहेकी च्याउ दिदी

भन्छिन, ‘परिवारसँगै भएर यतिको कमाई हुनु के नराम्रो होला र ?’

वैशाख ५, २०८२

सुमनजंग थापा

Mushroom sister earning 60/70 thousand monthly from mushroom farming

काठमाडौँ — जलजला गाउँपालिका–८ फर्सेका सावित्री खत्री र श्रीमान भीम बहादुर खत्री अक्सर खेतमै भेटन्छिन् । खत्री दम्पत्ती आ–आफ्नो जागिरे जीवन छाडेर कृषिमा रमाउन आईपुगेका हुन् । १४ बर्ष अघि गाउँ विकास समितीमा सामाजिक परिचालकको काम गरेकी सावित्री र साउदी अरब र कतारमा गरेर नौ वर्ष पसिना बगाएका खत्री दम्पत्तीलाई हिजोआज लाग्छ, बल्ल पो सही बाटो समातिएछ ।

खत्री दम्पतीले अहिले चारवटा प्लाष्टिकका टनेलभीत्र कन्ये र गोप्रे च्याउ उत्पादन गरिरहेका छन् । अनि थोरै बारीमा गाजर र अन्य सिजनल तरकारी पनि फलाईरहेका छन् । तरकारी उत्पादनको यही कर्मबाट उनीहरुको परिवारको खर्च मज्जाले चलेको छ । अनि धेरथोर बचत गर्दै सन्तुष्टीको भावमा उनिहरुले भन्न पाएका छन, ‘मिहेनत गरियो भने आफ्नै घरगाउँमा बसेर कमाई गर्न सकिँदो रहेछ ।’

च्याउ खेती सुरु गर्नुको रोचक कथा छ सावित्रीसँग । सामाजिक परिचारकको काम गर्ने बेला उनलाई कृषि सेवा केन्द्रका प्रमुख रामकृष्ण अर्यालले एकदिन बासखर्क पुर्याएका थिए । थोरै लगानीमा पनि च्याउ खेती गर्न सकिने देखेपछि उनको मनमा च्याउ खेतीको रहर पलायो । त्यसपछि उनी कन्ये च्याउ उत्पादनको तालिम लिईन । भनिन, ‘त्यहाँ च्याउ खेती देखेको दुइ वर्षपछि त म आफैले च्याउ खेती सुरु गरिसकेको थिए ।’ २०७० सालबाट १२ हजार  लगानीमा च्याउ खेती थालेकी सावित्रीले यसैमा १२ बर्ष बिताईसकिन् । त्यसैले त उनले गाउँघरमा परिचय नै पाएकी छिन, च्याउ दिदी । सुरुवाती दिन सम्झिदै उनले सुनाईन, ‘१२ हजारको लगानीले २०/२५ पोकामा च्याउ फलाएर २० हजार रुपैयाँ कमाउँदा त्यतिबेला खुसीले रातभर निदाउँन सकेको थिईन् ।’

निरन्तरको कृषि कर्मका कारण उनी कृषि उद्यमी बनीसकेकी छिन् । जलजला गाउँपालिका–८ का वडा अध्यक्ष हरि विकास जिसीले उनको कामले सिंगो पालिका चिनिएको बताए । भने, ‘उहाँ सामाजिक काममा पनि लागेर हिँड्नु हुन्छ । कृषि कर्मले त सिंगो गाउँपालिकालाई चिनाउनु भएको छ ।’

सावित्रीलाई श्रीमान भीमबहादुरको साथ पनि उस्तै मिलेको छ । विदेश जाने रहर त्यागेर उनी पनि पत्नीलाई हर काममा सघाईरहेका छन् । सावित्रीले सुनाईन, ‘जे पर्ला तर्ला भनेर च्याउ खेतीमा हामफालेकी हुँ । त्यतिबेला नआँटको भए केही हजारका लागि श्रीमान/श्रीमती दुईतिर अलगिनु पर्थ्यो होला ।’Mushroom sister earning 60/70 thousand monthly from mushroom farming

सुरुवातमा च्याउ उत्पादनका उनका निम्ती जति गाह्रो काम थियो उति नै उत्पादन भएको च्याउन बेच्नु । स्थानियले च्याउको स्वाद पाएका थिएनन् । उनले भनिन, ‘सुरुवातमा त बेच्न निकै गाह्रो भयो । किनकी च्याउ खानुपर्छ । यसमा मासुमा भन्दा बढी प्रोटिन हुन्छ भन्ने नै थाह थिएन् ।’ विस्तारै च्याउको महत्व बुझ्नै गएपछि उनलाई च्याउ बेच्न सजिलो भएको छ । भनिन, ‘अहिले त फर्सेको स्थानीय बजार, कुश्मा, म्याग्दी र बागलुङमै सबै च्याउ खपत हुन्छ ।’

अहिले उनले दुईवटा टनेल भित्र ६ सय प्लाष्टिकको पोकामा कन्ये च्याउ उत्पादन गरिरहेकी छिन । त्यस्तै वातानुकुलित दुईवटा टनेलमा भने गोप्रे च्याउ उत्पादन गरेकी छिन् । गोप्रे च्याउ केजीको ५ देखि ६ सय रुपैयाँमा बेच्न सकिने भएपनि यसको उत्पादनमा उति नै धेरै मिहनेत पर्ने उनले बताईन् । भनिन, ‘गोप्रे च्याउ खेतीका लागि कम्पोष्ट मल पनि मकवानपुरबाट ल्याईरहेछु ।’ उत्पादन खर्च नै धेरै पर्ने र महंगो हुने भएकाले उनले यो च्याउ भने पोखराको बजारमा बेचीरहेकी छिन् ।

सावित्रीले च्याउ विक्रीबाट सबै खर्च कटाएर वार्षिक ७ लाख नाफा निकाल्ने गरेको बताईन् । यसमा दुइ दम्पत्तीको बर्षभरको मिहनेत पनि जोडीएको छ । सोचेजस्तै आम्दानी भएपनि च्याउ खेती सजिलो काम हैन भन्ने उनको बुझाई छ । ‘दुःखको त के कुरा गराई बच्चाको स्याहर गरे जस्तै रात दिनै च्याउलाई हुर्काउनु पर्छ ।’ तर यस्तो दुःख उनी हात हातै च्याउ बेचेर हात परेको पैसा गन्नेबेला भुल्छिन् । भनिन, ‘सिजनमा त विक्री भएको च्याउको पैसा गन्न समेत फुर्सद मिल्दैन ।’

यो वर्ष सावित्रीले ५ रोपनी जग्गामा खेती गरेको आलु र गाँजर बेचेर थप १ लाख ३० हजार रुपैयाँ कमाईन् । नजिकै कालीगण्डकी नदी भएकाले र सिंचाइको दुःख नभएकाले उत्पादन राम्रो भएको उनले बताईन् ।

खत्री दम्पत्रीका एक छोरा र छोरी छिन् । छोरी अध्यनका लागि एक महिना अघि मात्र कोरिया गएकी छिन भने छोरा सानै छन् । ‘परिवार सँग बसेर आफ्नै जमिनमा खेतीगरी महिनाको ६०/७० हजार कमाउनु नराम्रो होइन नि’, उनले भनिन्, ‘हामीले नेपालमा काम गर्छौँ अनि कमाइ चाहिँ डलरमा खोज्छौँ । यहाँ त नेपालकै रुपैयाँ खोज्ने होला नि ।’

सावित्री हिजोआज च्याउ खेतीमा मात्रै सीमित छैनिन् । उनी त च्याउ खेतीका बारेमा गाउँलेलाई बुझाउने र तालिम दिने काममा समेत खटिन थालेकी छिन् ।  दुईवर्ष यता उनले स्थानियका लागि च्याउ खेतीको तालिम दिदै आएकी छिन् । कहिलेकाही भने विद्यालय पुगेर विद्यार्थीलाई च्याउ खेती सिकाउँछिन त कहिले गाउँगाउँ पुगेर आमा समूहलाई । च्याउ खेतीमा मानिसहरुको उत्साह र जिज्ञासा देखेर उनलाई लाग्न थालेको छ, ‘अब त व्यवसायिक प्रशिक्षक भएरै च्याउ तालिम सञ्चालन गरौँ कि भन्ने लाछ ।’

सुमनजंग थापा सुमन कान्तिपुरका पर्वत संवाददाता हुन् । उनी समसामयिक विषयमा समाचार लेख्ने गर्छन् ।

Link copied successfully