कास्की — बेलायतका तत्कालीन राजकुमार चार्ल्स तृतीय (हाल राजा)ले २०३९ सालमा बास बसेको कास्कीको स्याक्लुङ्कोट गाउँमा होमस्टे खुलेको छ ।
कास्कीको रूपा गाउँपालिका–७ स्याक्लुङ्कोट डिठ्ठा गाउँमा बुधबारदेखि ‘स्याक्लुङ्कोट होमस्टे’ सञ्चालनमा आएको हो । ५ घरबाट होमस्टे सुरूवात गरिएको होमस्टे व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद गुरुङले जानकारी दिए ।
पर्यटकलाई स्थानीय उत्पादन खुवाउने र गाउँमै आयआर्जन बढाएर बसाइँसराइ रोक्ने उद्देश्यले होमस्टे सञ्चालनमा ल्याइएको उनले सुनाए ।
स्याक्लुङ्कोटबाट अन्नपूर्ण हिमशृंखला र पोखरा देखिन्छ । यो गाउँ पोखरा बजारबाट २४ किलोमिटर पूर्वतर्फ पर्छ । पोखराको पृथ्वीचोक, विजयपुर, तालचोक, बेगनासताल, सुन्दरीडाँडा, तालबेँसी हुँदै ४० मिनेटमा स्याक्लुङ्कोट पुगिन्छ ।
सडक र खानेपानीको समस्याले यस गाउँले बाक्लो बसाइँसराइ भोगेको छ । कुनैबेला ८५ घरधुरी रहेकोमा हाल १७ घरमा मात्र बसोबास छ । अहिले गाउँ पुग्ने अधिकांश सडक पक्की छ र लिफ्टिङमार्फत खानेपानी पुर्याइएको छ ।
स्याक्लुङ्कोटका अगुवा क्याप्टेन तेजबहादुर गुरुङ भन्छन्, ‘गाउँ सबै खाली भयो, खेतबारी बाँझो भए । होमस्टे गरेर केही गर्न सकिन्छ कि भनेर गरेका हौं ।’
होमस्टेको गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले बुधबार उद्घाटन गरे । उनले देशलाई समृद्ध बनाउने भरपर्दो माध्यम पर्यटन भएको बताए ।
‘आत्मनिर्भरतातर्फ जानुपर्छ । समृद्ध देश र सुखी नेपाली अबको हाम्रो यात्रा हो । त्यो यात्राको सबैभन्दा भरपर्दो माध्यम भनेको पर्यटन विकास हो,’ उनले भने ।
तत्कालीन बेलायती राजकुमार चार्ल्स ४३ वर्षअघि हिँडेको बाटो ‘रोयल ट्रेक’ नामले परिचित छ । ट्रेकअन्तर्गत पर्ने स्याक्लुङ्कोट डाँडामा चार्ल्सले आफ्नो ४ रातको ट्रेकिङको दोस्रो रात बिताएका थिए ।
