बेलायती राजकुमार बास बसेको गाउँमा खुल्यो होमस्टे

वैशाख ३, २०८२

अनुप पौडेल

A homestay opened in the village where the British prince lived

कास्की — बेलायतका तत्कालीन राजकुमार चार्ल्स तृतीय (हाल राजा) बास बसेको कास्कीको स्याक्लुङ्कोट गाउँमा होमस्टे खुलेको छ । कास्कीको रूपा गाउँपालिका–७ स्याक्लुङ्कोट डिठ्ठा गाउँमा बुधबारदेखि ‘स्याक्लुङ्कोट होमस्टे’ सञ्चालनमा आएको हो ।

५ घरबाट होमस्टे सुरुवात गरिएको होमस्टे व्यवस्थापन समिति अध्यक्ष चन्द्रप्रसाद गुरुङले जानकारी दिए । पर्यटकलाई स्थानीय उत्पादन खुवाउने र गाउँमै आयआर्जन बढाएर बसाइँसराइ रोक्ने उद्देश्यले होमस्टे सञ्चालनमा ल्याइएको उनले सुनाए । 

स्याक्लुङ्कोटबाट अन्नपूर्ण हिमशृंखला र पोखरा देखिन्छ । यो गाउँ पोखरा बजारबाट २४ किलोमिटर पूर्वतर्फ छ । पोखराको पृथ्वीचोक, विजयपुर, तालचोक, बेगनासताल, सुन्दरीडाँडा, तालबेंसी हुँदै ४० मिनेटमा स्याक्लुङ्कोट पुगिन्छ । 

सडक र खानेपानीको समस्याले यस गाउँले बसाइँसराइको चर्को समस्या भोगिरहेको छ । कुनै बेला ८५ घरधुरी रहेकामा हाल १७ घरमा मात्र बसोबास छ । अहिले गाउँ पुग्ने प्रायः सडक पक्की छन् र लिफ्टिङमार्फत खानेपानी पुर्‍याइएको छ । 

गाउँमै रहेकाहरू बसाइँ नसरुन् भनेर होमस्टे सञ्चालनको अवधारणा ल्याइएको स्याक्लुङ्कोटका अगुवा क्याप्टेन तेजबहादुर गुरुङले बताए । ‘गाउँ सबै खाली भयो, खेतबारी बाँझो भए,’ उनले भने, ‘होमस्टे गरेर केही गर्न सकिन्छ कि भनेर सुरु गरेका हौं ।’

होमस्टेको गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले बुधबार उद्घाटन गरे । उनले देशलाई समृद्ध बनाउने भरपर्दो माध्यम पर्यटन भएको बताए । ‘आत्मनिर्भरतातर्फ जानुपर्छ । समृद्ध देश र सुखी नेपाली अबको हाम्रो यात्रा हो । त्यो यात्राको सबैभन्दा भरपर्दो माध्यम भनेको पर्यटन विकास हो,’ उनले भने । 

तत्कालीन बेलायती राजकुमार चार्ल्स ४३ वर्षअघि हिँडेको बाटो ‘रोयल ट्रेक’ नामले परिचित छ । ट्रेकअन्तर्गत पर्ने स्याक्लुङ्कोट डाँडामा चार्ल्सले आफ्नो चार रातमध्ये ट्रेकिङको दोस्रो रात बिताएका थिए ।

अनुप

Link copied successfully