एक करोडको ‘कतार बहुद्देश्यीय अक्षयकोष’ स्थापना

वैशाख २, २०८२

प्रकाश बराल

Establishment of ``Qatar Multi-Purpose Akshay Kosh'' worth one crore

बागलुङ — बागलुङ सेवा समाज दोहा कतारको अगुवाइमा ‘कतार बहुद्देश्यीय अक्षयकोष’ स्थापना गरिएको छ । न्यूनतम १ करोड रुपैयाँको कोषमार्फत दैवीप्रकोप उद्धार, सीपमूलक तालिम पर्यटन प्रवर्द्धन, प्रवासीको तथ्यांक संकलन, सम्मान र पुरस्कार प्रदान तथा रचनात्मक काम गर्ने लक्ष्य राखिएको छ ।

कोषमार्फत वैदेशिक रोजगारमा गएर फर्केका युवाले गाउँमा उद्यम सञ्चालन गर्न खोजेमा सहयोग गर्ने योजना रहेको समाजका संरक्षक होमनाथ शर्माले बताए ।

औपचारिक घोषणा अप्रिल १८ अर्थात् आगामी शुक्रबार मात्र गरिने भए पनि अहिलेसम्म ५० लाख संकलन भइसकेको पत्रकार सम्मेलनमार्फत शर्माले जानकारी दिए । सन् २००५ मा स्थापना भएको समाजले कोषको आवश्यकता देखेपछि गत महिनादेखि यो अभियान शुरु भइसकेको थियो । औपचारिक कार्यक्रममार्फत शुक्रबारै एक करोड पुर्‍याउने लक्ष्य राखिएको हो । कोषमा कतारमा काम गरिरहेका स्थानीय श्रमिकले योगदान गर्नेछन् ।

समाजका पदाधिकारीले पत्रकार सम्मेलन गरेर कोषको उद्देश्यबारे जानकारी गराए । ‘विशेषगरी दैवीप्रकोपका घटनामा तत्काल उद्धार र राहत दिन सकियोस् भनेर कोष स्थापना भएको हो,’ कोषका सदस्य भरत पौडेलले भने, ‘जिल्ला प्रशासनमा दर्तासहित प्रशासनकै अनुमतिमा सहयोगसमेत प्रदान गरिनेछ ।’ विदेशमा काम गर्दा अप्ठ्यारोमा परेका युवालाई उद्धार गरेर ल्याउने काममा समाजले पहल गरेको छ । उनीहरुलाई समेत सहयोग गर्नुपरेमा कोषको रकम खर्च गरिने बताइएको छ ।

बागलुङदेखि कतारमा गएर काम गरेका श्रमिकको तथ्यांक संकलन गर्ने योजना पनि समितिको छ । ‘जनहितकारी काम सँगै कोषले मानवीय सेवा र प्रवासीका लागि आवश्यक जानकारीमूलक बुलेटिन पनि प्रकाशन गर्ने लक्ष्य राखिएको छ । 

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully