म्याग्दी — अन्नपूर्ण गाउँपालिका-६ घार पुर्ख्यौली घर भई हाल पोखरामा बसोबास गर्दै शिवकुमार-ज्ञानु बरुवाल दम्पतीले स्थानीय विद्यालयमा अक्षय कोष स्थापना गरेका छन ।
बेल्जियमलाई कर्मथलो बनाएका बरुवाल दम्पतीले आफैले विद्यालय तहको शिक्षा आर्जन गरेको मुक्तिमार्ग माध्यमिक विद्यालयमा १० लाख ८ हजार ४ सय ८४ रुपैयाँको ‘कुलबहादुर/स्व.मनकुमारी’ अक्षय कोष घोषणा गरेका हुन् । कोषको आम्दानीले मुक्तिमार्ग मावि र छिमेकी भुवानी आधारभूत विद्यालयमा अध्ययनरत जेहेनदार तथा विपन्न विद्यार्थीलाई वार्षिक रुपमा छात्रवृत्ति दिइने भएको छ । भुवानी आधारभूत विद्यालय कुलबहादुर बरुवालको प्रमुख अगुवाइमा स्थापना भएको थियो ।
‘विद्यालयमा १० लाखभन्दा बढीको अक्षय कोष राख्न लागेका छौं,’ अक्षय कोषका संस्थापक शिवकुमार बरुवालले भने, ‘रकम हस्तान्त्रण भइसकेको छैन । म आफै गाउँ फर्केर रकम हस्तान्त्रण गर्छु । विद्यालयले कार्यविधि बनाई विपन्न र जेहनदार विद्यार्थीलाई थप शिक्षा आर्जनका लागि प्रोत्साहन सहयोग गर्नेछ ।’
