२०७४ सालको आमनिर्वाचनको मुखमा प्रधानमन्त्री केपी शर्मा ओलीले रेल स्टेसन बन्छ भनेर भाषण गरेको बान्द्रेबिडी चौर अहिले बिजोग अवस्थामा
पर्वत — सामाजिक सञ्जालमा बेलाबखत एउटा भिडियो भाइरल भइरहन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्टेजमा चढेर भाषण गरिरहेको दृश्य उक्त भिडियोमा देखिन्छ । जसमा ओलीले मच्चीमच्ची भनिरहेका हुन्छन्, 'उत्तर–दक्षिण रेल । केरुङ–काठमाडौं, काठमाडौं–पोखरा रेल । पोखरा रेल आएपछि बेनीसम्म रेलका लागि मैले केही भन्नुपर्दैन जस्तो लाग्छ । पोखरा रेल आएपछि बेनी जाँदैन त! बेनी कहाँबाट जानुपर्छ, कुश्मा आउनुपर्दैन । कुश्मा त स्टेसन नै हुन्छ । केही वर्षको कुरा हो यो ।'
०७४ सालको आमनिर्वाचनमा आफ्ना उम्मेदवारलाई भोट माग्न कुश्मा नगरपालिका –६, बान्द्रेबिडी आएका ओलीले उपस्थित भीडलाई सम्बोधन गर्दै रेल-सपना बाँडेका थिए । ओलीको भाषण सुनेर उत्साहित भएका नेता-कार्यकर्ताले त्यतिबेला धेरै बेर ताली बजाएका थिए ।
हिजोआज धेरै स्थानीय त्यतिबेलाको दृश्य सम्झिन्छन् । कतिपय भने मोबाइलमा घुम्दै आएको त्यो भाषणको क्लिप हेरेर मुसुक्क मुस्कुराउँछन् । किनकि ओलीले जहाँ उभिएर रेल-सपना बाँडेका थिए, त्यही बान्द्रेबिडी खुला चौर अहिले आफ्नै संरक्षणको पर्खाइमा टुलुटुलु हेरिरहेजस्तो देखिन्छ ।
सांस्कृतिक, सामाजिक र राजनीतिक गतिविधिको साक्षी बनिरहेको यो खुला चौर अहिले कंक्रिट र फलामको तारबारले घेरिएको छ । एक समय थियो, बान्द्रेबिडीको चारैतिर सल्लाघारी, चिसो हावाको सुस्केरा र चराहरुको चिरवीर गुञ्जन सुन्दै लामो श्वास लिनुको आनन्द बेग्लै हुन्थ्यो । चौर छेउमा रहेको पुरानो स्वामीको रुखमुनि बसेर गफिने, बाघचाल खेल्ने र चौरमा रमाइरहेका बालबालिकाकाे हुल देखेर मानिसहरू एकछिन टक्क अडिन्थे । हरितालिका तीज पारेर महिला दिदीबहिनी यही चौरमा जम्मा हुन्थे र आफ्ना दु:खसुख साटासाट गर्थे ।
चौर नजिकै घर भएकी जनकल्याण सामाजिक महिला समूहकी अध्यक्ष मानकुमारी गिरीले यो चौरसँग गाँसिएका सम्झनाहरू सुनाउँदै भनिन्, ‘हरितालिका तीजमा निकै रमाइलो हुन्थ्यो । कुश्मा नजिकका दुर्लुङ, पीपलटारी, पाङ, खुर्कोट, फलेवास, बाजुङ लगायतका गाउँबाट महिला दिदीबहिनी आएर नाच्ने-गाउने गर्थे ।’ मेला-महोत्सवका कार्यक्रमदेखि राजनीतिक भाषण गर्ने यो थलोमा पहिलेजस्तो रौनक अहिले छैन ।
फलेवास नगरपालिकाका पूर्वनगर-प्रमुख पदमपाणि शर्माले बान्द्रेबिडी चौर राजनीतिक आन्दोलन र परिवर्तनको साक्षी भएको बताए । ‘मैले २०६२ सालमा वामदेव गौतमलाई ल्याएर अनेरास्ववियुको कार्यक्रम गरेको चौर हो, बान्द्रेबिडी,’ उनले भने, ‘जननेता मदन भण्डारी, माधव नेपाल, झलनाथ खनाल, केपी ओली, पुष्पकमल दाहाललगायतका नेताले बान्द्रेबिडी खुला चौरमा उभिएर भाषण गरेका छन् । यो ऐतिहासिक थलो हो, यसको संरक्षण गरिनुपर्छ ।’
एमाले पर्वतका उपाध्यक्ष समेत रहिसकेका शर्माले चौर छेउमा रहेको डिभिजन वन कार्यालय हटाउनुपर्नेदेखि व्यक्तिगत जग्गामा बनेका घरलाई मुआब्जा दिएर चौरलाई फराकिलो टुँडिखेल बनाउन आवश्यक रहेको सुनाए । ‘सदरमुकाममा खुला चौर आवश्यक हुन्छ । भोलि ठूलो प्राकृतिक प्रकोप आइलाग्यो भने कुश्माका मान्छे सुरक्षित रहन कहाँ जाने ? त्यसको तयारी थाल्न पनि साँघुरिएको चौर उकास्न आवश्यक छ ।’
बान्द्रेबिडी चौर शिवालय गुठीका नाममा छ । अहिले बनेको कुश्मा बसपार्क र बान्द्रेबिडी चौर १७ रोपनी क्षेत्रफलमा फैलिएको जनकल्याण सामाजिक महिला समूहकी अध्यक्ष मानकुमारी गिरीले बताइन् । ‘पहिले गुठीको जग्गामा मठमन्दिर निर्माण हुन्थे । हामीले पनि २०५७ सालमा कृष्ण मन्दिर निर्माण गरेका हौं,’ उनले भनिन्, ‘गुठी संस्थानले हामीलाई मन्दिर बनाउन अनुमतिसहित सम्पूर्ण जग्गाको पनि हेरचाह गर्ने जिम्मा दियो । मैले नै सामाजिक काम भनेर बसपार्क निर्माण गर्न जग्गा उपलब्ध गराएँ तर बल्लतल्ल बनेको बसपार्क पनि लथालिंगै छ ।’
यो चौरमा अहिले ढुंगा-माटो थुपारेर बिजोग बनाइएको भन्दै मानकुमारी आक्रोशित देखिन्छिन् । उनले यो चौर सार्वजनिक थलोबाट ठेकेदारको थलोमा पुगेको पनि बताइन् । भनिन्, ‘दुई वर्षअघि चौरकै जग्गामा वडाले जबर्जस्ती सार्वजनिक शौचालय समेत बनाएको छ ।’
कुश्मा नगरपालिका–६ का वडाध्यक्ष ईश्वर गिरीले नगरपालिकाका प्रमुख रामचन्द्र जोशीको सल्लाहमै तत्कालका लागि ग्रेगानसहितको ढुङ्गा-माटो राख्न दिएको बताए । ‘गत वर्ष ठेकेदारले विभिन्न ठाउँबाट उठाएको गेग्रानसहितको ढुङ्गा फाल्ने ठाउँ पाइन भनेपछि हामीले केही समयलाई राख्न अनुमति दिएका हौँ,’ उनले भने, ‘मैले चाँडो चौर खाली गर्न भनेको छु । बिस्तारै उठाइ पनि सकेको छ । बाहिर हल्ला गरेजस्तो मेरो मिलेमतोमा ठेकेदारलाई चौर दिएको भन्ने होइन ।’
अबको केही महिनाभित्रै वडा कार्यालय बान्द्रेबिडी चौरमा बनेको सार्वजनिक शौचालयको भवनमा सार्ने बताउँछन् । माथिल्लो तलामा कार्यालय रहने उनले बताए । ‘सार्वजनिक शौचालयको संरक्षण पनि हुने वडाले महिनावारी घरभाडा बुझाउन समेत नपर्ने हुँदा आर्थिक भार कम हुन्छ,’ उनले भने । यता ठेकेदार सम्पर्कविहीन छन् । उनको मोबाइलमा घन्टी बजे पनि फोन उठाउँदैनन् ।
