पर्वत — कुश्मा नगरपालिका–५ मोदीवेणीमा स्नान गर्ने क्रममा कालीगण्डकी नदीले बगाएकी महिला मृत भेटिएकी छिन् ।
३८ वर्षीया विष्णु पन्तको शव बागलुङको जैमिनी नगरपालिका–५ बिनामारेस्थित नदी किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले बताए । उनका अनुसार जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल २५ नं. गण चण्डिकाको प्रहरी टोलीले खोजीकार्यलाई निरन्तरता दिएको थियो ।
‘महिलालाई बगाएको खबर आउनसाथ मोदीवेणी पुग्यौं,’ प्रहरी निरीक्षक सापकोटाले भने, ‘त्यहाँबाट खोज्दै तलतर्फ जाने क्रममा मृत अवस्थामा भेट्यौं । मृतक फेला परेको स्थान बागलुङ पर्ने भएकाले बागलुङ प्रहरीको जिम्मा लगाएर फर्कियौं ।’
लुंखुदेउराली घर भए पनि कास्की आमरसिंहचोकमा बस्ने पन्त कुश्मास्थित दिदीको घरमा आएकी थिइन् । उनी आफ्नो छोरा र दिदीसहित कालीगण्डकी स्नान गर्न पुगेकी थिइन् ।
हिन्दु धर्मावलम्बीका लागि कालीगण्डकी र मोदी नदीको संगम स्थान मोदीवेणी दिव्यधाम पवित्र मानिन्छ । आज नयाँ वर्ष भएकाले स्नान गर्न जानेहरुको बिहानैदेखि भिड छ ।
