पर्वत — कुश्मामा बन्जी पुल निर्माणले साहसिक पर्यटनको ढोका उघार्यो । कहिल्यै पर्वत नदेखेका पर्यटकलाई बन्जीकै कारण यहाँसम्म आउने वातावरण बन्यो । बन्जी सञ्चालन गर्ने कम्पनी द क्लिफका अध्यक्ष राजु कार्कीले दिएको जानकारी अनुसार २०७७ देखि अहिलेसम्म तीन लाख पर्यटक बन्जी गर्न आएका छन् । तर दुःखको कुरा यहाँ आइपुग्ने पर्यटकले नजिकै रहेका प्राकृतिक तथा धार्मिक गन्तव्य गुप्तेश्वर गुफाको मज्जा बटुल्न भने सकेको देखिँदैन ।
‘बन्जीबाट ५ मिनेटमा गुप्तेश्वर गुफा पुगिन्छ । ठाउँठाउँमा होर्डिङ बोर्डहरू पनि राखेका छौं । रकम अभावले पर्यटक केन्द्रित रणनीति बनाउन सकेका छैनौं,’ गुप्तेश्वर धार्मिक तथा पर्यटकीय विकास संस्थाका सह–सचिव अर्जुनराज पुरी भन्छन्, ‘बन्जी आउने पर्यटकलाई गुफासम्म ल्याउनै सकिएको छैन । गुफा समिति, बन्जी संचालक र स्थानीय क्लबहरू मिलेर गुफामा पर्यटक लक्षित कार्यक्रम बनाउन आवश्यक छ ।’
प्राकृतिक गुप्तेश्वर गुफा ९० वर्ष पहिले स्थानीय रत्नबहादुर कार्कीले देखेका थिए । उनी गाई/बाख्रा चराउन जाँदा ठूलो दुलो र त्यसभित्र चम्कदार मूर्ति देखेपछि गाउँभरि हल्लाखल्ला भयो । ‘काठमाडौंदेखि नागाबाबा, शिव गिरी बाबा र पशुपति बाबा आएर गुफाको अवलोकन गरे,’ गुप्तेश्वर धार्मिक तथा पर्यटकीय विकास संस्थाका पूर्वअध्यक्ष गणेश भण्डारीले भने, ‘उनीहरूले गुफामा चिम्टा गाढेर अग्नि स्थापना गरेपछि गुप्तेश्वर गुफाको नामले स्थापित भयो ।’
पाँच वर्षअघिसम्म पनि प्राकृतिक र धार्मिक आस्था बोकेको गुप्तेश्वर गुफा चर्चाको विषय बन्थ्यो । पर्यटन प्रवर्द्धनमा काम गर्ने संघसंस्थाले गुप्तेश्वर गुफालाई महत्त्वका साथ प्रचारप्रसारमा सघाउँथे । स्थानीबासीले समेत शिव/पार्वतीको तपस्या स्थल आफ्नो ठाउँमा भएकामा गर्व महसुस गर्थे । तर अचेल चासो कम हुँदै गएको छ । यस्तो हुनुमा व्यवस्थापन समिति र स्थानीय सरकारकै कमजोरी रहेको द क्लिफका संचालक नेत्र पराजुली बताउँछन् ।
‘हामीले गुफाको नजिकै बन्जी सुरु गर्यौं । यसले कुश्माको होटल व्यवसायलाई चलायमान मात्र बनाएन कि पर्वतकै पहिचान बदल्यो । हामीकहाँ आउने पर्यटकलाई गुप्तेश्वर गुफासम्म पुग्नूस् पनि भन्छौं,’ उनले भने, ‘गुप्तेश्वरको सबै जिम्मा निजी कम्पनीले लिन त सक्दैन नि ! स्थानीय सरकार छ । व्यवस्थापन समिति छ ।’ गुफा पुग्ने बाटो भत्केर वर्षौं बित्दासमेत नबनाउने, आफूले केही नगर्ने अनि पर्यटक आएनन् र गुफा ओझेलमा पर्यो भन्नुको कुनै अर्थ नहुने उनले बताए ।
महिना दिनअघि भारतको अयोध्याबाट मुक्तिनाथ दर्शन गर्न आइपुगेका राजीव शर्मासहित १२ जनाको समूह गुप्तेश्वर गुफामा भेटिए । उनले बन्जी र अग्ला पुलहरूको घुमफिर सकेर गुफामा शिव/पार्वतीको दर्शनका लागि आइपुगेको बताए । उनी मुस्ताङ यसभन्दा अघि पनि पुगेका रहेछन् । पर्वत चाहिँ पहिलो पटक आएको सुनाए ।
‘बन्जीको नजिक पसलमा चिया पिउँदै थियौँ । त्यहाँ दुई–चार जना नेपाली थिए । उनीहरूले गुप्तेश्वर गुफा पुग्न सुझाए,’ उनले भने, ‘मैले गुफा पुग्न कति समय लाग्छ भनेर सोधेँ, उनीहरूले ५ मिनेटमै पुगिने बताए सँगै हामीहरू गुफा हेर्न आएका हौँ ।’ उनले मुस्ताङ पुग्ने भारतीय पर्यटकलाई लक्षित गरेर प्रचारप्रसार गर्न पनि सुझाव दिए ।
गुप्तेश्वर धार्मिक पर्यटन प्रवर्द्धन संस्थाका अध्यक्ष पृथ्वीनारायण शर्माले गुप्तेश्वर गुफा संसारकै लामो र साततले गुफा भएको दाबी गरे । ‘संसारको लामो गुफा भन्ने कुरा नापे थाहा हुन्छ, साततले पनि हेरे थाहा हुन्छ,’ उनी भन्छन्, ‘गुफामा रहेका मूर्तिका आकार कसैले बनाएर बन्दैन । न चुनढुङ्गा पग्लेर बन्छ, त्यसैले यो गुफा अलौकिक छ ।’
गुफाको अन्तिम बिन्दुमा कोही पुग्न सकेका छैनन् । तीन किलोमिटरसम्म चाहिं स्थानीय पुग्ने गरेको अध्यक्ष शर्माले बताए । उनका अनुसार एक किलोमिटरभित्र पुग्दा धर्मद्वार रहेको छ । ‘हिन्दु धर्म मान्यतामा धर्मी र अधर्मी भनिन्छ । धर्म गर्नेहरू त्यो धर्मद्वारको प्वालबाट सजिलै छिर्न सक्छन् भने अधर्मी छिर्न सक्दैनन् भनिएको छ,’ उनले गुफामा रहेका मूर्तिहरू देखाउँदै भने, ‘भक्तजन सहजै गुफामा आउन सक्छन् । तर भक्तका नाममा गलत नियत बोक्नेहरू आउँदा मूर्तिहरू फुटाइने, बिगार्ने काम भएको छ ।’
नारायण माध्यमिक विद्यालय कुश्माका प्रधानाध्यापक समेत रहेका अध्यक्ष शर्माले २०२८ सालमा गुप्तेश्वर गुफा छिर्दाको अनुभव सुनाउँदै भन्छन्, ‘राम, लक्ष्मण, सीता र भरत उभिएको मूर्ति थियो । भरतले रामको चरणमा शिर निहुराएर खराउ समाएको आकृतिको शिला थियो ।’ उनका अनुसार अहिले त्यहाँ नाम छ, मूर्ति छैन । ‘गुफामा ७ फिट अग्लो शिवलिङ्ग छ, त्यहाँ अटुट रुपमै जल खसेको देख्न सकिन्छ । अन्य मूर्तिहरूमा भने थोपाथोपा जल खसेको छ,’ उनले भने ।
हिन्दु धर्मावलम्बीले माता पार्वतीको जन्मस्थान नजिकै कुश्मा नगरपालिका–१ पाङमा पार्वती गुफा भएको विश्वास गर्छन् । अध्यक्ष शर्माले किंवदन्ती सुनाउँदै भन्छन्, ‘माता पार्वतीले त्यहाँबाट गुप्तेश्वर गुफामा आएर महादेव पति पाउँ भनी तपस्या गरेपछि महादेवले दर्शन दिनुभएको थियो ।’
गुफामा महाशिवरात्रि, बालाचतुर्दशी, हरिबोधनी एकादशी, माघे सङ्क्रान्तिलगायतका दिनमा विशेष पूजाआजा हुन्छ । गुफालाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन ७८ फिट अग्लो शिव–पार्वतीको मूर्ति, सिसमहल र मन्दिरसहितको पार्क निर्माणको काम अघि बढाइएको छ । १५ रोपनी जमिनमा बनाउन लागिएको उक्त संरचना निर्माणपछि गुफामा देश/विदेशका पर्यटकको चाप बढ्नेमा अध्यक्ष शर्मा ढुक्क देखिन्छन् ।
