'आलु बिक्री गर्न कतै पुग्नै पर्दैन, व्यापारी बारीमै आउँछन्, एक-दुई केजी कसैले लान्छु भन्दा किन्न नपाइने अवस्था हुन्छ’
पर्वत — कुश्माको उक्लिँदो तातोबाट उम्केर जलजला गाउँपालिका-९ को बनौं गाउँ पुग्ने हो भने मुटु कमाउने चिसो पाइन्छ । यहाँ पुगेपछि यही चिसोमा फल्ने आलुको स्वाद लिन कसले बिर्सेला र ? त्यही भएर त मगर संस्कृति, स्थानीय खानपान, टम्म मिलेर बसेजस्तो देखिने बागलुङ बजार र मनोरम हिमशृंखलाको दृश्यावलोकन गर्दै आलुको स्वाद लिन परपरबाट मान्छेहरु बनौं पुग्छन् ।
बनौं गाउँ स्वादिलो आलुका लागि प्रख्यात छ । यहाँको रैथाने आलु फल्न नपाउँदै बिक्री भइसक्छ । वडाध्यक्ष गौबहादुर पुनले भने, ‘आलु बिक्री गर्न कतै पुग्नै पर्दैन । व्यापारी नै बारीमै आउँछन् । एकदुई केजी कसैले लान्छु भन्दा किन्न नपाइने अवस्था हुन्छ ।’
वर्षमा एक सिजन मात्रै आलु खेती गर्ने बनौंवासीले पुसदेखि चैतसम्म आलु लगाउँछन् । उनीहरुले असारबाट पुससम्मै बिक्री गर्छन् । ‘हाम्रोमा चिस्यान केन्द्र छैन । बारी नै स्टोर हो, यहाँ आलु कुहिन्न । बरु झिक्यो भने बिग्रन्छ,’ मणिबराह कृषक समूहका अध्यक्ष टकबहादुर पुर्जाले भने, ‘हाम्रोमा किलो चल्दैन । पाथीको हिसाब हुन्छ । एक पाथीको १५०/२०० रुपैयाँले बेच्ने गरिएको छ ।’ एक पाथी बराबर लगभग तीन किलो आलु हुने उनले बताए ।
आलुको रैथाने जात बनौं नसे र बनौं बोसेको बिउ लगाउँदै आएको मणिबराह कृषक समूहका अध्यक्ष पुर्जाले बताए । २५ जनाको समूहले ७५ रोपनी जग्गामा ६ हजार किलो आलु लगाएका छन् । ‘कृषि ज्ञान केन्द्र पर्वतको १२ लाखको कार्यक्रममा पोहोर ३ सय रोपनी जमिनमा आलु लगाएका थियौं, यस वर्षचाहिँ ४ लाखको मात्र कार्यक्रम हो,’ उनले भने ।
स्थानीयका अनुसार यातायातको साधन नहुँदा हिँडेरै गोर्खा, कास्की, स्याङजा, बागलुङ र पर्वतका विभिन्न स्थानबाट मान्छेहरु बनौंमा आलु लिन आइपुग्थे । त्यो बेला अहिलेजस्तो पैसा तिरेर आलु खरिद/बिक्री हुँदैनथ्यो । ‘आलुसँग साट्न चामलका पहेँला बोरा बाटैभरि लस्करै हुन्थे,’ बाजेले चामलको बोरा राखेर आलु साटेको बच्चाबेलाको स्मरण गर्दै ३६ वर्षीय पुर्जा सुनाउँछन्, ‘चिनी, चियापत्ती, नुनदेखि काँइयोसम्म ल्याउने गरेको सम्झना छ, मलाई ।’ बनौंको पातल गाम, फाँट, ठूलचौर लगायतका ठाउँमा आलु खेती गरिएको छ ।
स्थानीय बमबहादुर गर्बुजाले आफ्नो ४ रोपनी जमिनमा आलु लगाएका छन् । बनौंका धेरै स्थानीयको जस्तै उनको पनि मुख्य आम्दानीको स्रोत आलु हो । ‘बाजेका पालादेखि आलु लगाउँदै आइएको छ । सिँचाइको अभावले अन्य खेती गर्न सकेका छैनौं,’ उनले भने, ‘आलु लगाउने तरिका हाम्रोमा थोरै फरक छ । ड्याङ बनाएर आलु लगाउँदा झनै समस्या हुन्छ । अरुले लगाएको दुई/तीन महिनामा खन्छन्, हामीले त पाँच/छ महिना खन्दैनौं ।’
वडाध्यक्ष पुनले बनौंको मुख्य समस्या भनेकै पानी भएको बताए । ‘फागुनदेखि वैशाखसम्म हाम्रोमा पानी नै हुँदैन । विकल्प केही गर्न सकिन्छ कि भनेर थोपा सिँचाइको काम अघि बढाउन खोज्दै छु,’ उनी भन्छन्, ‘सिँचाइ मात्र हुने हो भने बनौंमा आलुसँगै धान र मौसमी तरकारी उत्पादनको केन्द्र बनाउन सकिन्थ्यो ।’
कृषि ज्ञान केन्द्र पर्वतका अनुसार बनौंमा गतसाल १८ हजार किलो आलु उत्पादन भएको थियो । ‘हाम्रो आलु कार्यक्रम अनुसार पोहोर मणिबराह कृषक समूहमा ४० कृषक समावेश थिए । अहिले २५ जना आबद्ध छन्,’ कृषि प्रसार अधिकृत प्रेमप्रसाद अचार्यले भने, ‘पोहोर प्रदेश सरकारबाट आलुका लागि जिल्लाभर ३ करोड रकम थियो । यस वर्ष जम्मा १ करोड आएको हुँदा बनौंमा अनुदान रकमबाट आलु खेती गर्नेको संख्या कम छन् ।’ बनौंबाट प्रत्येक वर्ष ५० क्विन्टलजति आलु उत्पादन हुने गरेको वडाध्यक्ष पुनले बताए ।
कुश्मामा बस्ने रमेश पौडेल बनौंको आलु भनेपछि भुतुक्कै हुने गरेको बताउँछन् । ‘तरकारीभन्दा बढी घ्यु हालेर उसिन्ने अनि हरियो पिरो खुर्सनी नुनसँग चोबेर खानुको मज्जै बेग्लै हुन्छ,’ मुख मिठ्याउँदै उनले भने, ‘कहिलेकाहीँ बजारमा मुस्किलले मात्र बनौंको आलु भेट्न सकिन्छ । धेरैपटक आलु खानै भनेर साथी बोकेर बनौं पुगेको छु ।’
जलजला गाउँपालिकाले एमएसफोटी, जनकदेव र पालुङका जातका आलुको बिउ पनि उपलब्ध गराएको छ । तर स्थानीयले पालिकाबाट प्रोत्साहन गरेको बिउ लगाउन मानेका छैनन् । उनीहरु बाहिरबाट ल्याएको बिउले बढी उत्पादन दिन्छ भन्नेमा विश्वस्त हुन सकेका छैनन् । गर्मी ठाउँमा लगाएको आलुको बिउ बनौंजस्तो चिसो ठाउँमा उम्रे पनि त्यसको स्वाद रैथाने आलु बराबरको हुनै नसक्ने अगुवा कृषक मणिबराह कृषक समूहका अध्यक्ष पुर्जाले दाबी गरे ।
जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले स्थानीयलाई गाउँपालिकाले उपलब्ध गराएको बिउ लगाउन अपिल गर्दै आएका छन् । उनले वर्षौंसम्म एकै जातको बिउ लगाउँदा बिस्तारै उत्पादनमा कमी आउनुका साथै रोगको संक्रमणले ज्यादा आक्रमण गर्ने बताए ।
‘वर्षौंदेखि उही बिउ, त्यही आलु गर्दा आलुको जिन हराउने र कमजोर हुन्छ,’ उनले भने, ‘यदि बनौंवासीले रैथाने बिउबाहेक अरु लगाउँदैनौ भन्ने हो भने यहाँको आलुको बिउलाई ल्याबमा लगेर चरणबद्ध किसिमले प्रक्रिया पूरा गरेपछि मात्र लगाउन सकिन्छ ।’
