पूर्वराजालाई नागरिकसरह दण्डको भागीदार बनाउँछौं : पोखरेल

शिक्षा र निजामती ऐन बर्खे अधिवेशनबाट ल्याउने प्रतिवद्धता

चैत्र ३०, २०८१

कान्तिपुर संवाददाता

Let's make the former king a partner in the punishment like a citizen: Pokharel

कास्की — नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चैत १५ मा काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागरिकले गरेको गल्तीसरह दण्ड गरिने बताएका छन् ।

शनिबार पार्टी जिल्ला कमिटी कास्कीले आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै उनले देशलाई द्वन्द्व र हिंसामा लैजान खोजिएको विषय सरकारले राम्रोसँग बुझेको बताए । ‘एउटा नागरिकले जसरी गलत काम गरेबापत दण्डको भागिदार हुनुपर्छ त्यस्तै किसिमले दण्डको भागिदार (पूर्वराजालाई) बनाउने छौं,’ पोखरेलले भने ।

तीनकुने घटनाको मुख्य योजनाकार पूर्वराजा शाह नै भएको पोखरेलले दाबी गरे । चैत १५ को प्रदर्शनको उद्देश्य नै हत्या, हिंसा, तोडफोड र आगजानी रहेको उनले जिकिर गरे । ‘त्यो कार्यक्रम हत्या, हिंसा, तोडफोड, आगजानीका उद्देश्यका साथ आयोजना गरिएको थियो,’ पोखरेलले भने, ‘त्यो सम्पूर्ण कामको जवाफदेही, त्यसको योजनाकार, मास्टरमाइन्ड पूर्वराजा ज्ञानेन्द्र थिए जसलाई अब यथोचित प्रक्रियाबाट छानबिन हुन्छ भन्ने कुरा म जानकारी गराउन चाहन्छु ।’ अराजकतावादलाई सघाउने र मलजल गर्ने काम गर्नु उचित नहुने पोखरेलको भनाइ छ । 

शिक्षा ऐन र निजामति सेवा ऐन वर्तमान सरकारले बर्खे अधिवेशनबाट पारित गर्ने वरिष्ठ उपाध्यक्ष पोखरेलको भनाइ छ । आन्दोलनरत शिक्षकले वार्तामार्फत समाधान खोज्न आवश्यक रहेको उनले बताए । ‘शिक्षकका माग जुन छन् ती मागलाई सम्बोधन गर्ने हिसाबले आउने बर्खे अधिवेशनमा पहिलो चरणमै त्यो शिक्षा विधेयक ल्याउने छौं र पास गर्ने छौं,’ पोखरेलले भने, ‘समितिमा छलफल चलिरहेको कुरा भएको हुनाले त्यसलाई टुंगिने प्रक्रिया हुन्छ ।’

उनले कांग्रेससँग स्थिरिताका लागि सहकार्य भएको बताए । चुनावमा एक्लाएक्लै प्रतिस्पर्धा हुने भएकाले त्यसैअनुसार सक्रिय रहन पोखरेलले कार्यकर्तालाई निर्देशन दिए । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहालले ‘म्याजिक नम्बर’मार्फत अस्थिरता पैदा गरेकाले त्यसको अन्त्य गर्न तत्काललाई मिल्नुपरेको पोखरेलले सुनाए । 

कान्तिपुर

Link copied successfully