नवलपरासी — नारायणी नदीमा डुबेर बेपत्ता भएका दिदीभाइको शव फेला परेको छ । गैंडाकोट नगरपालिका-१ कुमालटोल बस्दै आएका १३ वर्षीया दीक्षा शेरपुन्जा र ९ वर्षीय स्वप्निल शेरपुन्जाको ब्रिटिस क्याम्प नजिक बुधबार दिउँसो शव फेला परेको हो ।
जिल्ला प्रहरी प्रमुख यादव ढकालका अनुसार सशस्त्र प्रहरीको गोताखोरको टोलीले उनीहरु डुबेकै स्थानबाट शव भेटाएको हो ।
मंगलबार साँझ हजुरआमा सँगै ब्रिटिस क्याम्प गएका उनीहरु हजुरआमाको चप्पल छुटेल लिन जाँदा पानीमा डुबेर बेपत्ता भएका थिए । दीक्षा र स्वप्निल गैंडाकोटस्थित नेपाल राष्ट्रिय शम्सेर आदर्श माध्यमिक विद्यालयमा कक्षा ७ र कक्षा ४ को वार्षिक परीक्षा दिएर बसेका थिए ।
