सभापति मन्त्री बनेपछि १० महिनासम्म समिति नेतृत्वविहीन

नयाँ सभापति चयन गर्न नियमावली संशोधन

चैत्र २६, २०८१

अनुप पौडेल

The committee was leaderless for 10 months after the chairman became a minister

कास्की — सभापति फणीन्द्र देवकोटा मन्त्री बनेपछि गत जेठ ३० देखि गण्डकी प्रदेश सभाको सामाजिक विकास तथा कृषि समिति नेतृत्वविहीन छ । ज्येष्ठ सदस्य कांग्रेसका महेन्द्रध्वज जीसीको नेतृत्वमा समिति बैठक बस्छ । नयाँ सभापति चयन गर्न १० महिनापछि गण्डकी प्रदेश सभा नियमावली, २०८० संशोधन गरिएको छ ।

मंगलबारको प्रदेश सभा बैठकले दफावार छलफलपछि नियमावलीको संशोधन मस्यौदा बहुमतले पारित गरेको हो । 

नियमावलीको नियम १५७ (५)ले सभापति रिक्त भएको १५ दिनभित्र निर्वाचन गर्नुपर्ने व्यवस्था गरेकामा त्यसलाई संशोधन गरिएको छ । गत असारमा सरकार गठनको विषय सर्वोच्च अदालत पुगेपछि समयमै संसदीय समिति सभापतिको निर्वाचन हुन सकेको थिएन । सर्वोच्च अदालतबाट विवाद समाधान भएर असार १६ मा नेपाल समाजवादी पार्टीनिकट देवकोटा दोस्रोपटक मन्त्री बने । त्यसपछि सभापति चयन गर्न नियमावली बाधक बनेपछि संशोधन गरिएको हो । 

नियमावली संशोधन गर्न गत भदौ २६ मा चार सदस्यीय संशोधन मस्यौदा समिति गठन गरिएको थियो । नियम १५७ (५) लाई एकपटकका लागि ३० दिनभित्र समिति सभापतिको निर्वाचन गर्न सकिने गरी बाधा फुकाउने व्यवस्था संशोधनमार्फत गरिएको समिति सदस्य कांग्रेस सांसद प्रकाश बरालले जानकारी दिए । यसबाहेक समिति बैठक बस्ने गणपूरक संख्या र निर्णय गर्दा आवश्यक संख्या पनि संशोधन गरिएको छ । 

संशोधनअघिको नियमावलीको नियम १६४ मा समिति संख्याको एक चौथाइलाई बैठक बस्न गणपूरक संख्या मानिएको छ । नियम १६६ ले समिति सदस्य संख्याको बहुमतले निर्णय गर्न सकिने व्यवस्था गरेको छ । एक चौथाइ सांसदले बैठक बस्न सक्ने तर निर्णय गर्न नसक्ने व्यवस्था संशोधन गरेर बहुमतलाई नै गणपूरक संख्या मानिने व्यवस्था संशोधनमार्फत गरिएको छ । अब बैठक बस्न समिति सदस्यको बहुमत संख्या आवश्यक परे पनि निर्णय गर्दा उपस्थित संख्याको बहुमत भए पुग्नेछ । 

गण्डकी प्रदेश सभाका चारमध्ये अर्थ विकास समिति र प्रदेश मामिला तथा कानुन समितिमा कांग्रेसको नेतृत्व छ । सार्वजनिक लेखा समिति सभापति सत्तापक्ष एमालेसँग छ । एमालेले सामाजिक विकास तथा कृषि समिति लिन चाहेको छ । माओवादीलाई चारमध्ये एउटा समिति दिन सत्तापक्षका दल सहमत छन् । 

सार्वजनिक लेखा समिति माओवादीलाई दिएर लेखा समिति सभापति सुधीरकुमार पौडेललाई कृषि समिति सभापति बनाउने विषयमा एमालेभित्र छलफल भएको थियो । तर, दलका नेता खगराज अधिकारीबाट कुनै निर्देशन नपाएपछि पौडेल लेखा समिति सभापतिमा यथावत् छन् । ‘म अहिलेसम्म सार्वजनिक लेखा समितिको सभापति नै छु । राजीनामा दिएको छैन । दल नेताबाट कुनै त्यस्तो निर्देशन आएको छैन,’ पौडेलले भने ।

मंगलबारको संसद् बैठकले एकपटकलाई एक महिनाभित्र सभापति चयन गर्न सकिने व्यवस्था पारित गरेपछि वैशाख २६ भित्र कृषि समितिमा सभापति टुंगो लगाउनुपर्ने हुन्छ । 

सदस्यको जिम्मेवारी हेरफेर

प्रदेश सभाको मंगलबारको बैठकले समिति सदस्यको जिम्मेवारी हेरफेर गरेको छ । 

एमाले दल नेता खगराज अधिकारी सार्वजनिक लेखा समितिबाट प्रदेश मामिला तथा कानुन समितिमा, एमाले प्रमुख सचेतक गोविन्दबहादुर नेपालीलाई कानुन समितिबाट लेखा समितिमा, एमाले सांसद वेदबहादुर गुरुङलाई सामाजिक विकास तथा कृषि समितिबाट लेखा समितिमा, एमालेकै राजकुमारी भुजेललाई सामाजिक विकासबाट कानुन समिति र कांग्रेस सांसद डिल्लीराम सुवेदीलाई अर्थ तथा विकास समितिबाट कानुन समितिमा मनोनयन गरिएको छ । 

गण्डकी प्रदेश सभा नियमावली २०८० को नियम १५५ (१)ले संसदीय समितिमा पदेनसहित बढीमा १५ जना सदस्य रहने व्यवस्था गरेको छ । समितिमा नियमावलीमा निर्धारित संख्याभन्दा बढी सांसद भएपछि संख्या र दलीय सन्तुलन मिलाउन समितिगत जिम्मेवारी हेरफेर गरिएको हो ।

अनुप

Link copied successfully