नौमती बजाउने प्रतिस्पर्धामा महिला

गोरखा नगरपालिका क्षेत्रमा मात्र एक दर्जन बढी महिला पञ्चेबाजा समूह छन् । महिलाले पञ्जेबाजा बजाउने सीप मात्र सिकेका छैनन्, घरखर्च चलाउने माध्यम पनि बनाएका छन् ।

चैत्र २४, २०८१

हरिराम उप्रेती

Women in naumati playing competition

गोरखा — उमेरले ५० नाघेकी गोरखा नगरपालिका–९ की रमा बस्नेतको काँधमा प्राय नरसिंहा छुट्दैन । गोरखा बजारमा हुने कार्यक्रम होस् वा कुनै कार्जे, बस्नेत महिलाहरुको नेतृत्व गर्दै नौमती लिएर पुगेकी हुन्छिन् । 

उनको समूहले गीत गाउँदै पञ्चेबाजा घन्काएपछि जमघटको माहोल नै अर्कै बन्छ । बस्नेतको समूहले पञ्जेबाजा बजाउन थालेको ५ वर्ष पुग्यो । यो अन्तरालमा पञ्जेबाजामा पनि सबैभन्दा गाह्रो नरसिंहा फुक्न बस्नेत पोख्न बनिसकिन् । 

भन्छिन्, ‘अहिलेसम्म चार सय बढी ठाउँमा पञ्चेबाजा बजाइसक्यौं, हाम्रो बाजालाई कसैले खोट लगाएको छैन ।’ गोरखा आसपास मात्र नभइ छिमेकी तनहुँ, कास्कीसम्म पञ्जेबाजा लिएर पुग्ने गरेको उनले सुनाइन् ।

‘गोरखा दरबारबाट गोरखपुर खिचडी लिएर जाँदा पनि हाम्रै बाजा रोज्नुभयो, यहाँ वरीपरी मात्र होइन हामीले भारतको गोरखपुरसम्म पुगेर पञ्जेबाजा घन्काएका छौं,’ उनले भनिन् । समय र कार्जे हेरेर पञ्जेबाजा बजाएको ज्याला लिने गरेको उनले सुनाइन् । ‘सुरुको वर्ष त सिक्नै समय लाग्यो,’ उनले भनिन्,‘अहिले त यो बाजालाई व्यवसायिक बनाएका छौं, बोलाएको ठाउँमा जान छुटाएका छैनौं, कार्जे र समय हेरेर दिनको ४० हजारसम्म लिन्छौं,’ उनले भनिन् ।

Women in naumati playing competition

पुरुषको तुलनामा महिलाको पञ्चेबाजालाई रकम कम दिने गरेको भन्दै उनले दुखेसो पोखिन् । ‘पुरुष सरह नै हामी पनि बजाउँछौ, तर पुरुषले १ लाख लिने ठाउँमा महिला त हो नि भनेर ५०/६० हजार दिँदा खिन्न लाग्छ,’ उनले भनिन् । ज्याला रकम दामासाहीमा भाग लगाउने गरेको उनले बताइन् । १० प्रतिशत महिला पञ्चेबाजा समूहमा राख्ने प्रावधान पनि उनीहरुले बनाएका छन् । 

‘पञ्चेबाजा हाम्रो आयआर्जन बनेको छ, एकदिन हिँड्दा एक जनाको भागमा २५ सय देखि ३ हजारसम्म पर्छ,’ उनले भनिन्,‘आफ्नै कमाई भएपछि घरकासँग माग्नु परेको छैन ।’ गोरखा नगरपालिका–९ को बस्नेतको समूहमा मात्र २२ जना महिलाले नौमती बाजा घन्काउँछन् । उनीहरुसँग नौमतीको तीन सेट छ । बाजा बजाउने सीपले आयआर्जनको बाटो पनि बनेको वडा–९ कै पम्फा कुँवर बताउँछिन् ।

Women in naumati playing competition

‘पहिले गाउँमै झ्याउरे लगाउन जान्थ्यौं, अरुले बाजा बजाइदिनुहुन्थ्यो हामी गाउने नाच्ने गर्थ्यौ,’ उनले भनिन्,‘अहिले त हामी गाउने, नाच्ने, बजाउने सबै गर्छौं ।’ पञ्चेबाजा बजाउने कला सिक्न हरेक दिन १ घण्टा छुट्याउने गरिएको कुँवरले बताइन् । ‘बाजा बजाउने भनेपछि धेरै कुरा जान्नुपर्छ, ख्याली, झ्याउरे मंगल धुन धेरै कुरा हुन्छन्,’ उनले भनिन्, ‘सबै सिकेर पोख्त बन्न अहिले दिनको एक घण्टा छुट्याएका छौं ।’ 

महिला पञ्जेबाजा भनेर सम्मान पाउँदा खुसी लाग्ने गरेको उनले सुनाइन् । ‘सुरुमा असाध्यै गाह्रो भयो, समाजले महिलाले पञ्जेबाजा बजाउने भनेर हेर्थे, स्वीकार्न पनि गाह्रो भयो, परिवारलाई मोड्न पनि समय लाग्यो,’ उनले भनिन्,‘अहिले त सबैले सम्मान गर्छन्, परिवारबाट पनि रोकटोक छैन ।’

Women in naumati playing competition

गोरखा नगरपालिका–९ मा मात्र महिलाको नौमती बाजाका तीन समूह छन् । 

महिलाहरु नौमती बजाउने कला सिक्न प्रतिस्पर्धामा छन् । गोरखा नगरपालिका–९ कै रोजिना बस्नेत आफुहरुले पुरुष सरह पञ्जेबाजा बजाउन पोख्त बनेको दाबी गर्छिन् । भन्छिन्, ‘मैले मात्र चार वटा बाजा बजाउँछु, झ्याली, दमाहा, सनाई र नरसिंहा बजाउन सिक्न दुई वर्ष लाग्यो ।’ २०७६ सालबाट बजाउन सुरु गरेका उनीहरुले बाजा खरिद गर्ने रकम पनि आफैंले उठाएका थिए । 

उनले भनिन्,‘एक डेड लाख लागेको थियो होला, कार्जे र कार्यक्रममा बाजा बजाएर त्यो पैसा पनि असुल गर्‍यौं,’ उनले भनिन् । समूहमा पञ्जेबाजा बजाउन सिक्न आउनेको संख्या पनि बढ्दै गएको उनले सुनाइन् ।

Women in naumati playing competition

महिलाले पञ्जेबाजा बजाउने सीप मात्र सिकेका छैनन्, घरखर्च चलाउने माध्यम पनि बनाएका छन् । गोरखा–९ कै वेलिमाया सिर्मल बजाउन थालेपछि चुलो बाल्न पनि सहज बनेको बताउँछिन् । ‘कार्जेको सिजनमा त दिन खाली हुन्न, २५ हजार देखि ४० हजारसम्म दिनमै पनि कमाई हुन्छ,’ उनले भनिन्,‘भाग लगाउँदा पनि दुई हजार, २५ सय परिहाल्छ, त्यसै बसेर समय जान्थ्यो, यति कमाएपछि त घरखर्चलाई पनि सहज बनेको छ ।’ सिर्मल सहनाई बजाउँछिन् ।

Women in naumati playing competition

चैते दसैंको अवसरमा शनिबार गोरखा दरबारमा भएको मेलामा नौमती बाजा प्रतियोगितामा पाँच समूहले सहभागिता जनाएका थिए । प्रतियोगितामा गोरखा नगरपालिका–९ को गोरखकाली महिला नौमती बाजा संरक्षण समूह पहिलो बनेर १० हजार नगद पुरस्कार पायो । त्यस्तै गोरखा–९ कै शुभारभ्भ उद्यमी महिला समूह दोस्रो र गोरखा–१० को गण्डकी महिला बचत तथा ऋण सहकारी संस्था तेसो बनेको छ । दोस्रो र तेस्रो समूहले क्रमश ७ हजार र ५ हजार नगद पुरस्कार पाएका छन् ।

Women in naumati playing competition

गोरखा नगरपालिका र गोरखा उद्योग वाणिज्य संघको आयोजनामा गोरखा दरबार परिसरमा भएको चैते दसैं मेलामा महिलाहरुको पञ्जेबाजा बजाउने प्रतियोगिता मुख्य आकर्षण रहेको थियो । 

प्रतियोगिताले संस्कृति संरक्षणमा पनि सहयोग पुर्‍याएको गोरखा उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिकी पूर्वअध्यक्ष रिता रेग्मी बताउँछिन् । ‘महिलाहरुलाई अझै सक्षम बनाउन पनि प्रतियोगिताले सघाएको छ, पुरुष सरह नै महिलाहरु पनि काम गर्न सक्छन् भन्ने सन्देश पनि दिएको छ,’ उनले भनिन् ।

Women in naumati playing competition

हरिराम उप्रेती उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully