बागलुङ — बागलुङ कालिका भगवती मन्दिर परिसरमा लागेको चैतेदसैँ मेला मौलिक व्यापारको स्थल बनेको छ। यहाँ सयौँ भक्तजनको उपस्थिति छ। मौलिक व्यापारका लागि पनि यो मेला उत्तिकै चर्चित छ।
शनिबार सयौँको भीडमा ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेका मौलिक सामग्रीको बिक्री गरिरहेका छन्। किन्ने देखि आकर्षक सामग्रीको फोटो खिच्नेहरू पनि उत्तिकै छन्। ग्रामीण क्षेत्रमा उत्पादन हुने निगालो, बाँस र बेतका सामग्रीले बजार पाएका हुन्।
त्यसै गरी, ठेकी, फलामका सामग्री समेत बिक्रीमा छन्। ‘मैले त जाने देखिनै डाली ल्याएर बेच्दै आएको छु, अहिले पनि हिउँदभर बुनेका सामान ल्याएको छु,’ बडिगाड गाउँपालिका–५ का ७८ वर्षीय शशिधर विकले भने, ‘माघे सङ्क्रान्तिमा रिडी, चैतेदसैँमा बागलुङ कालिका नै हाम्रो बजार हो।’ उनले घरबाट पनि निगालोका सामान बिक्री गरेको बताए। गत वर्ष चैतेदसैँमा ५० हजार कमाएका विकले यो वर्ष पनि घर खर्चको जोहो गर्ने बताए।
चैत्र शुक्ल प्रतिपदादेखि नै मन्दिरमा चहलपहल सुरु भएकोमा गत बुधबारदेखि भने विशेष मेलाकै रूपमा मौलिक सामानको बिक्री हुने मेलाको रूपमा चिनिएको छ। शनिबार कालिका मन्दिरमा सयौँको भीड थियो।
ठेका, डाला र नाङ्ला किन्न पाइने भएकाले गाउँ गाउँबाट सयौँ आउने गरेका छन्। ताराखोलामा बनेका अल्लोका कपडादेखि किसानले उत्पादन गरेका मह र अन्य कृषि सामग्री पनि मेलामा बिक्रीमा छन्। किनमेलसहित झ्याउरे, पञ्चेबाजा सहितका गीत र पञ्च बली दिने तथा हेर्नेहरू पनि मन्दिरमा ओइरिएका छन्। मन्दिरमा जिल्ला मात्र नभई देशभरबाट ५ लाखको हाराहारीमा भक्तजन आएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए।
पर्वतका राजा प्रतापी नारायण मल्लले पाल्पाका राजा मणिमुकुन्द सेनकी राजकुमारी विश्रवादेवीसँग विवाह गर्दा राजकुमारीले पाल्पा माझकी देवी कालिकालाई साथमा ल्याएर विधिपूर्वक स्थापना गरेको किंवदन्ती छ । किंवदन्तीअनुसार विसं १५९१ देखि मन्दिर स्थापना गरेर यहाँ मेला र पूजा सुरु भएको पाइन्छ।
