बस्तीसँगै डाँडाबाट सारिए देउता
गोरखा — वर्षौदेखि बस्दै आएको थातथलो काउनडाँडा छाडेर पालुङटार नगरपालिका–९ की कुमारी गुरुङ पिप्लेमा झरेको ६ वर्ष पुग्यो । खाइखेली हुर्किएको काउनडाँडा छाड्ने बेला ८१ वर्षीय गुरुङले मन भारी बनाइन् । डाँडाको बस्तीका सबै घर २०७२ वैशाख १२ को भूकम्पले भत्काएपछि थातथलोमा नयाँ घर बनाउन गुरुङलाई आँट पनि आएन।
गुरुङको पनि काउनडाँडाको दुइ तले घर भूकम्पले भत्काएको थियो । ‘देवरहरुका तीन घर थिए, सबै वेँसी झर्ने भनेर भूकम्पपछि काउनडाँडामा घर नै बनाएनन्,’ उनले भनिन्, ‘हामी मात्र एक घर भयौं, गुहार माग्ने मान्छे पनि नभएपछि सबैभन्दा पछि हामी बेंसी झरेका हौं ।’
बस्ती नै बेंसी झरेपछि काउनडाँडा सुनसान बनेको उनले बताइन् । ‘गामबेंसी गर्न पनि गाह्रै थियो, कोही उता ६ नम्बरतिर रोड पुगेको ठाउँमा घडेरी किनेर सरे, कोही बेंसीमा खेतमा भूकम्पको घर बनाए,’ उनले भनिन्,‘मैले एक लाखमा पिप्लेमा एउटा गरा किनेर घर बनाएर सरेको हुँ ।’
काउनडाँडा मात्र नभइ २०७२ वैशाख १२ को भूकम्पपछि पालुङटार–६ को बोरीभञ्ज्याङ बस्ती पनि रित्तिएको छ । यस क्षेत्रका बासिन्दाले बेंसी पिप्ले झरेर भूकम्पपछिको नयाँ घर बनाएका छन् । बसाइँ सरेर आउन थालेपछि एक दशकअघिसम्म खरबारी रहेको पिप्लेको भने मुहार मात्र फेरिएको छैन, गुलजार बनेको छ ।
‘भूकम्पको राहत तीन लाख आयो, त्यसमाथि चार लाख थपेर दुई कोठे घर बनाएका छौं,’ उनले भनिन्,‘यहाँ सबैभन्दा पछि हामी सरेका हौं, यो पिप्लेमा आपको बगैंचा, खरबारी रहेको सुनसान ठाउँ थियो, १८/२० घर भूकम्पपछि सरेपछि अहिले बस्ती नै बसेको छ ।’
सबै घर काउनडाँडा र बोरिभञ्ज्याङबाट सरेको स्थानीय बताउँछन् । एकपछि अर्को घर गर्दै पिप्लेमा बस्ती बसेपछि भने गुरुङ पनि खुसी बनेकी छिन् । ‘अहिले त गाउँ नै भयो नी, रमाइलो नि भएको छ,’ उनले भनिन्, ‘धेरै वर्षदेखि बस्दै आएको माथिको घर, बजार जान आउन पनि टाढा थियो, उकालो ओरालो गर्नुपर्थ्यो, विमार हुँदा पनि मेडिकल पुग्न दुई घण्टा लाग्थ्यो, सहज त बेंसी झरेपछि नै भयो ।’
साँझको समयमा हिँडडुल गर्न समेत डरमर्दो पिप्लेमा बस्ती भरीभराउ भएको देख्दा स्थानीय विष्णुमाया गुरुङ पनि छक्क छिन् । ‘गाउँबेंसी गर्ने बाटो हो, यहाँ झाडी थियो, साँझ परेपछि त हिँड्नै डरमर्दो थियो,’ उनले भनिन्,‘त्यस्तो झाडीले ढाकेको ठाउँमा अहिले घर नै घर बनेका छन् ।’
उनी बोरिभञ्ज्याङबाट भूकम्पअघि पिप्ले झरेकी थिइन् । ‘खेतबारी पुग्न नजिक पर्छ भनेर बेंसी झरेका हौं,’ उनले भनिन् । पिप्पले भएर चार वर्षअघि सडक पनि खुलेको छ । बस्तीबसेपछि स्थानीयलाई सजिलोका लागि खानेपानीको योजना पनि निर्माणाधीन छ । ‘भूकम्पअघि १ घर मात्र थियो, हामी सरेर दुई घर भएका थियौं,’ उनले भनिन्,‘भूकम्पपछि घर नै घर भयो, अहिले बाटो, बिजुली आएको छ ।’
हाल पिप्लेमा २० घरधुरी पुगेको उनले बताइन् । स्थानीय बेंसी झरेपछि गाउँ भने सुनसान बनेको छ । पुस्तौंदेखि वोरिभञ्ज्याङका स्थानीयले पूजा गर्दै आएको इच्छादेवी मन्दिर पनि नयाँ बस्तीमा निर्माण गरिएको स्थानीय गणेश गुरुङले बताए ।
‘बस्ती तल सरेपछि मन्दिर पनि सार्न खोजेका हौं,’ उनले भने,‘माथि मान्छे नभएपछि पूजा गर्न पनि तलमाथि गर्न गाह्रो पर्यो, बस्ती सरेको ठाउँमा मन्दिर बनाइसक्यौं, चैत ३० गतेको साइत निकालेर देवता अब बेंसीमै झार्दै छौं ।’ पूर्णिमा र पञ्चकमा यस क्षेत्रका स्थानीयले उक्त मन्दिरमा पूजा गर्दै आएका छन् । बस्ती बीचमा मन्दिर र चौतारा निर्माण गरिएको गुरुङले बताए । यहाँ गुरुङ समुदायको बाहुल्यता रहेको छ ।
