थपिएको म्याद सकिने बेला बल्ल कालोपत्र

ट्य्राक खुलेको दुई दशकपछि घ्याम्पेसाल-ताकुकोट सडक कालोपत्र

चैत्र २१, २०८१

हरिराम उप्रेती

Black paper when added expires

गोरखा — बारपाक सुलिकोट गाउँपालिकाको केन्द्र पुग्ने घ्याम्पेसाल–पाँचखुवा देउराली–ताकुकोट सडक कालोपत्र सुरु भएको छ । २०७७ साउनमा उक्त सडक कालोपत्रका लागि ठेक्का लागेको थियो । दोस्रो पटक थपिएको म्यादमा सडक कालोपत्रको कामले तीव्रता पाएको छ । 

८.६३८ किलोमिटर सडक कालोपत्र सुरु भएको पूर्वाधार कार्यालयका प्राविधिक कपिल काप्रीले बताए । ‘आठ किलोमिट सडक नै कालोपत्र सक्ने गरी काम सुरु भएको छ,’ उनले भने,‘यो पटक कालोपत्र सक्ने गरी कामलाई तीव्रता दिएका छौं ।’ सडक कालोपत्रको काम वाहकोटबाट सुरु गरिएको उनले बताए । उक्त सडक २९ करोड ७७ लाख २० हजार लागतमा कालोपत्र गर्ने गरी ठेक्का सम्झौता भएको थियो ।

२०७७ साउन १४ गते ठेक्का सम्झौता गरी सडक कालोपत्रको जिम्मा एम/एस विरुवा वाइबा एन्ड लामा जेभीले पाएको थियो । ठेकेदार कम्पनीको दोस्रो पटक थपिएको अन्तिम म्याद यही चैत मसान्तसम्म छ । सात मिटर चौडाई र एक मिटरको नालासहितको सडक बन्ने छ । नाला निर्माण, ग्याबिन वाल, मेसिनरी वाल लगाउने काम सम्पन्न भइसकेको काप्रीले बताए ।

उक्त सडकका लागि चालु आर्थिक वर्ष २ करोड ५० लाख विनियोजन भएको छ । ट्य्राक खुलेको झन्डै दुई दशकपछि उक्त सडक कालोपत्र सुरु भएको हो । उत्त सडकको ट्य्राक २०६३ सालमा खुलेको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले बताए । सडक कालोपत्र नहुँदा हिउँदमा धुलो र बर्खामा हिलोले सकस हुँदै आएको थियो ।

‘गत वर्ष नै कालोपत्र सक्नुपर्ने थियो, धेरै पटक गाउँपालिकाको तर्फबाट पनि ताकेता गर्‍यौँ,’ उनले भने,‘यस वर्ष भने कामले तीव्रता पाएको छ, ठेक्का लागेको खण्डको कालोत्रे सकिन्छ भन्नेमा आशावादी छौँ ।’ सडक कालोपत्र भएपछि बारपाक सुलिकोट गाउँपालिकाका स्थानीयलाई आउजाउमा सहज वन्ने छ ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully