नवलपुर — पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–१२, ज्वाइँथरमा लागेको डढेलो बस्तीसम्म फैलँदा एउटा घर जलेर नष्ट भएको छ ।
ठूलोपोखरा सामुदायिक वनमा लागेको डढेलोले स्थानीय जितमी विकको जस्तापाताले छाएको तीन कोठाको घर जलेर नष्ट भएको हो । घर नजिकै रहेको सालको बोटमा आगो लागेको र रूख नै घरमाथि ढल्दा घरमा रहेका अन्नपात लत्ताकपडासहित घर जलेको प्रहरीले जनाएको छ ।
तीन दिनदेखि वनमा डढेलो लागेको र बस्तीमा पस्ने जोखिम रहेकाले मानिसहरु घर बाहिर बसेका थिए । जसको कारण मानवीय क्षति भएन । जिल्लाका विभिन्न १० स्थानमा यस आर्थिक वर्षमा डढेलो लागेको छ । जसको कारण धूवाँले बाहिर हिँडडुल गर्दा आँखा पोल्ने समस्या छ । डढेलो नियन्त्रणको लागि उपभोक्ता, वन कार्यालय र सुरक्षाकर्मी परिचालन भएपनि सुख्खा मौसम र हावा लागेको कारण डढेलो नियन्त्रणमा लिन समस्या परेको छ ।
