बागलुङ — यहाँकी एक बालिकको उपचारमा सहयोग अभियान थालेको २० दिनमै ६८ लाख रुपैयाँ संकलन भएको छ । बागलुङ नगरपालिका-७ की चार वर्षीया शुभेच्छा खत्रीको उपचारका लागि अभिभावकले सहयोग अभियान थालेका थिए ।
फागुन २० गते पत्रकार सम्मेलन गरेर सुरु भएको सहयोग अभियानमा ६८ लाख ८६ हजार २ सय १२ रुपैयाँ संकलन भएको बालिकाका पिता सागर खत्रीले बताए । संचारमाध्यममा समाचार आएपछि देश विदेशबाट सहयोग आएको हो । उपचारका लागि ५० लाख खर्चको अनुमान गरिएकोमा बढी रकम संकलन भएको खत्रीले पत्रकार गरेर जानकारी दिए ।
सागर खत्री र मनिषा गैरेकी छोरी शुभेच्छालाई मिर्गी नामक रोग लागेपछि हाल भारतको गंगाराम अस्पतालमा उपचाररत छिन् । उनको उपचारमा परिवारले ५० लाख रुपैयाँ खर्च गरिसकेपछि आर्थिक अभाव भएकोले सहयोग अभियान थालिएको थियो । ५० लाख संकलन गर्ने लक्ष्यले थालिएको अभियानको २० दिनमै ६८ लाख रुपैयाँ संकलन भएपछि तत्कालको खर्च टर्ने भन्दै परिवारका सदस्य र सहयोग समितिका सदस्यले कार्यक्रम स्थगत गरेका हुन् ।
पत्रकार सम्मेलन गरेर समितिका संयोजक नेत्रलाल न्यौपाने र खत्रीले तत्कालको खर्च जोहो भएको बताए । साथै खर्च नभएमा बाँकी रकम पनि सामाजिक काममा लगाउने उनीहरुले बताएका छन् । हाल बिरामीकी आमा अस्पतालमा छिन् भने बाबुले नेपालमा सहयोग अभियान चलाएका थिए । यो अभियान चलेपछि लायन्स, रोटरी लगायतका क्लब, निजी तथा सामुदायिक बिद्यालय, युवा क्लब, अस्पताल र क्याम्पस, छिमेकी र आफन्त समेतले साथ दिएका थिए ।
