पूर्वी नवलपरासी — पूर्वी नवलपरासीमा रगत अभाव देखिएको छ । रगतको माग बढ्दै गएको र रक्तदाता घट्दै गएपछि जिल्लामा रगत अभाव देखिएको हो । नेपाल रेडक्रस कावासोती उपशाखाले सञ्चालन गरेको नवलपुर रक्तसञ्चार सेवामा मौज्दात रगत निकै कम भएकाले रक्तदान गर्न रेडक्रसले सबैमा आग्रह गरेको छ ।
रक्तसञ्चार केन्द्रमा अहिले मासिक १ सय ५० युनिट रगतको माग भए पनि रक्तदान गर्ने कम भएकाले रगत मौज्दात कम भएको नेपाल रेडक्रस सोसाइटी कावासोती उपशाखाका अध्यक्ष बाबुराम कँडेलले बताए । ‘हामीले चौबीसै घण्टा रक्तदान गर्न सकिने गरेर रक्तसञ्चार केन्द्र सञ्चालन गरेका छौँ,’ उनले भने,‘ रक्तदान कार्यक्रम पनि निकै कम हुने गरेको छ । हामीले सबैलाई रक्तदान गर्नका लागि आग्रह गर्दछौँ ।’
रगत अभाव हुन थालेपछि तत्कालका लागि एक युनिट उपलब्ध गराउने र थप रगत आवश्यक परेमा बिरामीका आफन्तहरूबाट रगत झिकेर काम चलाउनुपर्ने अवस्था रहेको रक्तसञ्चार केन्द्रले जनाएको छ । केही वर्ष अगाडिसम्म जिल्लामा तीस देखि ४० युनिटसम्म रगत खपत हुँदै आएकोमा पछिल्लो समय मासिक एक सय पचास युनिटसम्म रगतको माग हुँदै आएको छ ।
यसअघि चितवनका अस्पतालसम्म पनि यहाँबाट रगत लगिने गरिएकोमा अहिले जिल्लामा रहेका अस्पतालमा नै रगतको माग धान्न मुस्किल रहेको छ । कावासोतीमा रहेको रक्तसञ्चार केन्द्रले अघिल्लो वर्ष २ हजार युनिट रगत संकलन गरेको थियो । मागअनुसार चालु आर्थिक वर्षमा तीन हजारभन्दा बढी युनिट रगत संकलन गर्नुपर्ने छ ।
