निर्मल निवासमै बस्न नपाउनेसम्मको परिस्थिति आउनेबारे सोच्न पूर्वराजा शाहलाई मुख्यमन्त्री पाण्डेको चेतावनी

चैत्र १७, २०८१

कान्तिपुर संवाददाता

Chief Minister Pandey's warning to former King Shah to think about the situation where Nirmal will not be able to stay at home

कास्की — गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले निर्मल निवासमै बस्न नपाउनेसम्मको परिस्थिति आउनेबारे सोच्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिएका छन् । आगजनीसहित उच्छृङ्खल गतिविधिले त्यस्तो परिस्थिति आउन सक्ने उनको भनाइ थियो ।

‘देशको परिस्थितिअनुसार सम्बोधन गर्न नसकिएका असन्तुष्टिका स्वरलाई लिएर संविधान उल्टाउँछु, संघीयता, गणतन्त्र खारेज गर्छु, फेरि नारायणहिटीमा आएर बस्छु भनेर २/४ वटा घर जलाउन लगाउने, १०/२० वटा गाडी जलाउन लगाउने उच्छृङ्खल कार्य गर्ने हो भने दरबारमार्गको राजदरबार होइन, महाराजगञ्जको निर्मल निवासमा पनि बस्न पाइन्छ कि पाइँदैन भन्ने यस्ता क्रियाकलाप गर्नेले सोच्नुस्,’ मुख्यमन्त्री पाण्डेले भने । 

राजतन्त्र ल्याउँछु भन्नु दिवा सपना भएको मुख्यमन्त्री पाण्डेले टिप्पणी गरे । ‘यो गणतन्त्र ल्याउने र राजतन्त्र फाल्नेमा जुत्ता खियाएका, पसिना बगाएका, रगत बगाएका मानिस हामी आज पनि जिउँदै छौं,’ उनले थपे, ‘हामी जिउँदो रहिरहेको अवस्थामा कसैलाई राजतन्त्र ल्याउँछु भन्ने लाग्छ भने त्यो दिवा सपना हो । कदापि पूरा हुन सक्दैन ।’

आइतबार गण्डकी प्रदेशसभा बैठकमा बोल्दै उनले ‘भड्किएका दल’ राजवादीले गर्दा एक ठाउँमा उभिने परिस्थितिसमेत बनेको बताएका छन् । गणतन्त्रमाथि धावा बोलेपछि दलहरू सोच्न बाध्य भएको उनको भनाइ थियो ।

‘कोही कतैतिर भड्किने, कोही कतै भड्किने भइराखेको थियो । अब अहिले यो धावा बोलेपछि फेरि हामी सबैलाई ठण्डा दिमागले सोचेर एकै ठाउँमा उभिने परिस्थिति सिर्जना भएको छ,’ उनले भने, ‘यो एउटा उपलब्धिपूर्ण, महत्वपूर्ण काम भएको छ ।’

कान्तिपुर संवाददाता

Link copied successfully