तरकारी, फलफूल वा दुग्धजन्य पदार्थ कति उत्पादन हुन्छ र ढुवानी कहाँ गर्ने आधारभूत योजनाबिनै कृषि एम्बुलेन्स खरिद गरिएको थियो ।
म्याग्दी — योजनाबिनै हचुवाका भरमा अन्नपूर्ण गाउँपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स प्रयोगविहीन बनेको छ । गाउँमा उत्पादित कृषि तथा पशुजन्य उत्पादन बजारसम्म पुर्याउन २०८०/८१ को बजेटबाट पालिकाले कृषि एम्बुलेन्स खरिद गरेको थियो । चिस्यान कायम राख्ने एसीजडित कृषि एम्बुलेन्स ढुवानीयोग्य कृषि उत्पादन नभएपछि अलपत्र परेको हो ।
तरकारी, फलफूल वा दुग्धजन्य पदार्थ कति उत्पादन हुन्छ, ढुवानी कहाँ गर्ने र कृषकको माग के हो भन्ने आधारभूत जानकारी र व्यावसायिक योजना नबनाई पालिकाले कृषि एम्बुलेन्स खरिद गरेको थियो ।
गाउँपालिका उपप्रमुख दीवाकुमारी तिलिजा उद्देश्यअनुसार गाउँगाउँमा भएका कृषि उत्पादन बजार पुर्याउन नसकेको बताउँछिन् । ‘संघीय ससर्त अनुदानमा पालिकाले ४० प्रतिशत बजेट थपेर कृषि एम्बुलेन्स ल्याइएको हो,' उनले भनिन्, 'एकाध पटक गाउँका कृषि उत्पादन स्थानीय बजारमा झार्नेबाहेक उपयोगहीन भएको छ । कृषक र कृषक समूह आकर्षित हुन सकेका छैनन् ।’
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको १९ लाख ८० हजार ससर्त अनुदान र गाउँपालिकाको १५ लाखसमेत लगानीमा गत असारमा १३ टन भारवाहन क्षमताको चिस्यान प्रविधियुक्त कृषि एम्बुलेन्स खरिद गरिएको थियो ।
पालिकाले गत साउन ६ गते ‘कृषि एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन कार्यविधि’ जारी गरेको थियो । भौगोलिक विकटताका कारण बजार पहुँच अभावले कृषिजन्य उत्पादन खेर गएको भन्दै पालिकाले कृषकको आर्थिक क्षति कम गर्न र व्यावसायिक कृषितर्फ उन्मुख गराउने जनाएको थियो ।
पालिकाभित्र कुन खेती कति क्षेत्रफलमा र कति परिणाममा उत्पादन हुन्छ भन्ने अभिलेख पालिकासँग नभएको कृषि सेवा शाखा नै बताउँछ । तर, पालिकाभित्र मनग्य वर्षे आलु, सुन्तला र सिमी उत्पादन भई जिल्लाबाहिर निकासी समेत हुने गरेको छ ।
‘हामीसँग ठ्याक्क कृषि उत्पादनको तथ्यांक छैन । तर बढी आलु र सुन्तला उत्पादन हुन्छ । व्यापारीले आलुबारी र सुन्तला बगैंचा नै किनेर आफै फसल लैजाने गरेकाले कृषि एम्बुलेन्सको अपेक्षित प्रयोग नभएको हो,’ कृषि सेवा शाखा प्रमुख सम्झना खत्रीले भनिन्, ‘कृषि एम्बुलेन्समा तापक्रम व्यवस्थापन गरी कृषि उत्पादन ताजा स्वरुपमा बजार पुर्याउन सकिन्छ । कृषक समूह बिस्तारै आकर्षित हुँदै छन् । चिज ढुवानीको कुरा भएको पनि छ ।’
व्यापारी हातमा पैसा बोकेर ढुवानी साधनसहित कृषकको बारीमा पुगेर उत्पादन एकमुष्ठ उठाउने भएकाले महँगो भाडा तिरेर कृषि एम्बुलेन्स उपयोग गर्न कृषक अनिच्छुक देखिएका हुन् ।
कृषि एम्बुलेन्स सञ्चालन गर्नुअघि स्थानीय तहले कृषि उपज तथा पशुजन्य उत्पादनको तथ्यांक संकलन गरी कृषिजन्य उत्पादनको समर्थन मूल्य तोक्नुपर्ने हो । तर पालिकाले यस्तो गरेको छैन ।
कृषि एम्बुलेन्स अहिले कृषि शाखाका कर्मचारीलाई तालिम सामग्रीसहित फिल्ड डुलाउन दुरुपयोग भएको स्थानीयको भनाइ छ । कृषि सेवा शाखा प्रमुख खत्रीले कर्मचारी बोक्न नभई कृषक तालिममा एम्बुलेन्सको उपयोगिता बुझाउन प्रदर्शनीका लागि फिल्डमा लगिएको बताइन् ।
