लमजुङमा तास खेल्दै गरेका ५ जना पक्राउ

चैत्र १७, २०८१

आश गुरुङ

5 people were arrested for playing Tas in Lamjung

लमजुङ — लमजुङको बेंसीसहर नगरपालिका-७, गैरीधारा नजिकै तास खेलिरहेको अवस्थामा ५ जनालाई पक्राउ गरी प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको छ ।

उनीहरुलाई जिल्ला प्रशासन कार्यालयबाट आइतबार ७ दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

हारजितको बाजी राखेर तास खेल्दै गरेको अवस्थामा उनीहरु शनिबार बेलुकी पौने ७ बजेतिर पक्राउ परेका थिए । उनीहरुको साथबाट १९ हजार ४५ रुपैयाँ बरामद गरिएको छ । प्रहरीले उनीहरुविरुद्ध जुवासम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५, सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्धको कसुर दफा १२५ बमोजिक पहिलोपटक खेल्ने खेलाउनेलाई ३ महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।

आश गुरुङ गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully