पर्वत — जंगल छेउमा खिया परेको जस्तापाताले छाएको सानो विद्यालय छ । भिरालो जमिनमा उभिएको विद्यालयमा साना विद्यार्थी कखरा सिक्न पुग्छन् । कुश्मा नगरपालिका–३ दुर्लुङको पुच्छारमा अवस्थित अम्बोट आधारभूत विद्यालयमा ३१ जना विद्यार्थी पढ्छन् ।
अंग्रेजी माध्यममा शिशुदेखि तीन कक्षासम्म पढाइ हुने आफूहरुको विद्यालयलाई राज्यले उपेक्षा गरेको विद्यालयकी प्रधानाध्यापक मिना गुरुङले बताइन् ।
२०५२ सालमा खड्कबहादुर गुरुङले विद्यालयको स्थापना गरेका थिए । उनी विद्यालयकी प्रधानाध्यापक मिना गुरुङका बुवा हुन् । त्यस समय पोखरा–बागलुङ सडक निर्माणले गति लिएपछि साविक दुर्लुङ र बाजुङ गाविसमा पर्ने निम्ने, कथुरे, हृयार्दी, भारती, भुम, ओखलढुंगा लगायतका गाउँबाट अम्बोटमा बसाइँसराई आउनेहरु बढ्न पुगे । विद्यालय नजिक थिएन ।
बालबालिकाको पढाइमा समस्या हुने देखेर बुवाले विद्यालय सञ्चालनमा ल्याएको प्रधानाध्यापक गुरुङले बताइन् । ‘तारे सामुदायिक वनमा विद्यालय छ । हामीसँग लालपूर्जा पनि छैन । बुवादेखि मेरो समयमा आइपुग्दासम्म विद्यालयलाई लालपूर्जा दिलाउन कहाँ पुगिन्, कसलाई भनिन् ?, थाकिसकेको छु,’, उनले भनिन्, ‘लालपूर्जा नभएपछि रकम सहयोगमा अप्ठ्यारो पर्ने भनेर स्थानीय सरकारको बेवास्तामा परेका छौं । त्यही इखले आफै चन्दा संकलन अभियान सुरु गरेर विद्यालयसम्म आउने पक्की ढलानको बाटो निर्माण गरेका हौं ।’
विद्यालयले गत असोजमा चन्दा संकलन अभियान थालेको थियो । गाउँका देस तथा विदेशमा बस्ने १ सय ४ जनाबाट ११ लाख ४६ हजार ७ सय २३ रुपैयाँ सहयोग प्राप्त भएको थियो । उक्त रकमले विद्यालयसम्म पुग्ने फलामे रेलिङसहित तीन सय मिटर जति ढलान गरेर सिँढी बाटो निर्माण गरिएको छ । बचत भएको रकमबाट विद्यालय परिसरमा फलामको पिलर राखेर सिमेन्टको ढलान गरी सानो खेलमैदान पनि निर्माण गरिएको छ । विद्यालयमा दुईदेखि ८ वर्ष उमेर समूहका विद्यार्थी पढ्न जाने गरेको प्रधानाध्यापक गुरुङले बताइन् । ‘भिरालो जग्गामा विद्यालय छ । साना विद्यार्थी ढुंगा र गेग्रानसहितको अप्ठ्यारो बाटोमा हिँड्नुपर्ने बाध्यता थियो,’ उनले भनिन्, ‘बर्खाको बेलामा त विद्यार्थी बाटो हिँड्न सक्दैनौं भनेर विद्यालय नै आउँदैनन् ।’
विद्यालयमा खानेपानी र बिजुलीको अभाव छ । विद्यालयमा चाहिने खानेपानी अम्बोटबाट मोटर लगाएर ल्याइएको छ । विद्यालयको नाममा मिटर जडानमा समस्या भएपछि विद्यालय व्यवस्थापन समिति अध्यक्ष सिर्जना रानामगरको घरबाट बिजुली लगिएको छ । ‘म अध्यक्ष भएको एक वर्ष भएको छ । खानेपानी र बिजुलीको समस्या समाधान गर्न पहिलेको व्यवस्थापन समिति खटिएको थियो,’ उनले भनिन्, ‘गाउँका विद्यालयमा विद्यार्थी नरहने समस्या भए पनि हाम्रोमा त्यस्तो छैन । विद्यालयलाई पक्की भवन र एक जना मन्टेश्वरी शिक्षक पनि आवश्यक छ । सुनिदिने कस्ले ?’
नवनिर्मित बाटोको विद्यालयकी संस्थापक अध्यक्ष दुर्गाकुमारी गुरुङले रिवन काटेर उद्घाटन गरिन् । विद्यालयमा दुई प्रावि स्थायी र दुई जना निजी शिक्षक छन् । निजी शिक्षकलाई व्यवस्थापन समिति र अभिभावकले रकम संकलन गरी तलब दिने गरेका छन् । महिलाहरुको नेतृत्वमा विद्यालय सञ्चालित छ । विद्यालय व्यवस्थापनको अध्यक्ष र चारै जना महिला शिक्षक विद्यालयको गुणस्तर बढाउन लागि परेका छन् । ‘अम्बोटका विद्यार्थीले यो विद्यालयबाट तीन कक्षासम्मको पढाइ सकेर कुश्मा र पातिचौर पढ्न पुग्छन् । त्यसभन्दा अघि यहाँका कोही विद्यार्थी पनि निजी वा अन्यत्रको विद्यालयमा पढ्न जाँदैनन्,’ अध्यक्ष रानाले सुनाइन् ।
