राजतन्त्र आफ्नै कमजोरीले सकियो : मन्त्री गुरुङ

चैत्र १६, २०८१

अनुप पौडेल

Monarchy ended due to its own weakness: Minister Gurung

कास्की — सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले देखाएको उदारतालाई राजावादीले कमजोरी ठानेको बताएका छन् । 

पोखरामा शनिबार नेपाल सुनचाँदी व्यवसायी महासंघको १२ औं साधारण सभामा बोल्दै उनले लोकतन्त्रले बोल्न, हिँड्न दिएको अधिकारलाई कमजोरी ठान्ने काम भएको बताए । ‘पूर्वराजा अहिले सामान्य मानिस हो । उसलाई हिँड्ने, डुल्ने, लागेको कुरा भन्ने अधिकार दिएका छौं हामीले । तर, हामीले दिएको उदारताको कुरालाई उनीहरूले कमजोरी ठाने,’ मन्त्री गुरुङले थपे, ‘संविधानका खिलाप बोल्ने मान्छेलाई रोक्न सक्छ संविधानले । व्यवस्था पल्टाउँछु भन्नेलाई रोक्न सक्छ किनकि यो सत्ता गणतन्त्रवादीको हो ।’

व्यवस्था पल्टाउने कुरा संविधानसम्मत नभएकाले सरकारले सहेर नबस्ने उनले बताए । आगजनी, तोडफोड, लुटपाटमा संलग्न र परिस्थिति निर्माणमा भूमिका निर्वाह गर्नेमाथि छानबिन हुने मन्त्री गुरुङको भनाइ छ । ‘यो घटनामा जसले लुटपाट मच्यायो, जसले पुलिसको हतियार खोस्ने प्रयत्न गर्‍यो । जसले हिंसा मच्यायो । जसले आगजनी गर्‍यो । जसले मान्छे मार्ने परिस्थितिमा महत्वपूर्ण भूमिका निर्वाह गर्‍यो ती सबै व्यक्तिमाथि छानबिन हुन्छ,’ उनले भने । छानबिनपछि कानुनअनुसार कारबाही गर्न मन्त्रिपरिषद्ले गृह मन्त्रालयलाई जिम्मेवारी दिइसकेको मन्त्री गुरुङले सुनाए । 

राजावादीको हर्कतले उनीहरूको असली अनुहार देखिएको मन्त्री गुरुङले टिप्पणी गरे । लोकतन्त्रमा छनोटको विकल्प रहेकाले वर्तमान व्यवस्था नै ठिक रहेको मन्त्री गुरुङको भनाइ थियो । ‘०८४ मा चुनाव हुँदै छ । गणतन्त्रमा केपी ओली, देउवा मन परेन, माधव नेपाल वा प्रचण्ड मन परेन भने हटाउन सक्नुहुन्छ । आफ्नो नेता छान्न पाउँछौं,’ उनले भने, ‘लोकतन्त्रमा जहिले पनि रोजाइको विकल्प हुन्छ । तर, राजतन्त्रमा कहिले पनि विकल्प हुँदैन ।’

०४७ को संविधानमा राजतन्त्रलाई ठाउँ दिए पनि राजतन्त्र आफ्नै कमजोरीले सकिएको उनले बताए । कान्तिपुर टेलिभिजन, अन्नपूर्ण दैनिक, व्यक्तिगत र सार्वजनिक सम्पत्तिमाथि भएको आक्रमणलाई सरकारले गम्भीर ढंगले लिएको मन्त्री गुरुङको भनाइ थियो ।

अनुप पौडेल

Link copied successfully