वर्षौं बित्दा पनि पाँच सय मिटरको सडक स्तरोन्नति हुन सकेन
पर्वत — कुश्मा नगरपालिका–५ बडगाउँमा प्रदेश अस्पताल पर्वत छ । जिल्लाको भौतिक विकासको जिम्मा बोकेको विकासे अड्डा पूर्वाधार विकास कार्यालय पनि यहीँ छ । अस्पताल ढोकैअघिको सडक भएर अरू दर्जन सरकारी कार्यालयमा समेत पुगिन्छ । तर वर्षौं बित्दा पनि जम्माजम्मी पाँच सय मिटरको सडक पुनर्निर्माण हुन सकेको छैन ।
अति संवेदनशील मानिने अस्पतालमा पुग्ने सडकको अवस्थाप्रति सरोकारवाला निकायले चासो र चिन्ता नदेखाउँदा बिरामीले सास्ती पाउने गरेका छन् । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शंकर गिरीले जिम्मेवार ठाउँमा बस्नेहरूको बेवास्थाले अस्पतालअघिको जीर्ण सडक भएको बताए ।
‘दैनिक तीनसय बिरामी अस्पतालमा आउनुहुन्छ, दुर्घटनाका घाइते र हिृवलचियरमा बिरामीलाई ल्याउनुपर्ने हुन्छ,’ अध्यक्ष गिरीले भने, ‘पूर्वाधारजस्तो विकासे अड्डा र दर्जन सरकारी कार्यालय अघिको बाटोको हविगत यस्तो हुन्छ ?’
वर्ष दिनअघि सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङसँग हारगुहार गर्दै नागरिकको हस्ताक्षरसहित डेलिगेसन पुगेको उनले बताए । ‘कहाँ, कसलाई भन्न बाँकी राखियो होला र ? सघन सहरीमा ५० करोड बजेट हुन्छ, तर त्यो कार्यालयले बस्ती भएका ठाउँमा सडक निर्माण गर्न छाडेर जंगलका बीचमा बाटो ढलान गर्छ,’ अध्यक्ष गिरीले भने ।
धुँवाधुलो र भत्किएको सडकमा परेका खाल्डोले सवारी दुर्घटना हुनुका साथै सवारीसाधनले उछिट्याएका ढुंगाले पसलहरूमा क्षति पुग्ने गरेको स्थानीय बताउँछन् ।
स्थानीय अशोक श्रेष्ठ र यमुना पौडेलले अस्पतालजस्तो संवेदनशील ठाउँमा आधा किलोमिटरको बाटो निर्माण गर्न अझ कति वर्ष लाग्ने भन्दै प्रश्न गरे ।
कुश्मा–५ का वडाध्यक्ष रामहरि शर्माले आफ्नो वडामा आउने बजेटले सडक निर्माण गर्न सम्भव नभएको बताए । वडामा भत्किएका बाटा टालटुल गर्न पनि बजेट अभाव भएको बताउँदै अध्यक्ष शर्माले सडक पुनर्निर्माणका लागि विकासे अड्डा पूर्वाधार कार्यालयको ध्यान जान आवश्यक रहेको उनको भनाइ छ ।
‘पूर्वाधार विकास कार्यालयलाई धेरै पटक मौखिक र लिखित रूपमा बजेट विनियोजनका लागि सम्बन्धित मन्त्रालयमा सिफारिस गरिदिन आग्रह गरेँ । उनीहरुले सुन्छन् । हुन्छ भन्छन् । हुनचाहिँ केही भएको छैन,’ अध्यक्ष शर्माले भने, ‘आफ्नै भवन पछाडिको पर्खाल भत्कँदा त वास्ता नगर्ने कार्यालयले सडक बनाउन पहल गर्ने त कुरै भएन ।’
पूर्वाधार विकास कार्यालयले भने यो वर्ष सडक निर्माण गर्न बजेट नभएकाले सम्भवन नरहेको बताएको छ । अस्पतालको सडक निर्माणका लागि आगामी आर्थिक बजेटमा समेटिने गरी योजना लेखी पठाउने कार्यालय प्रमुख सन्तोष अर्यालले बताए ।
प्रदेश अस्पताल, पर्वत ६५ शय्या क्षमताको छ भने दिनमा तीनसयभन्दा बढी बिरामी आउने गरेका छन् । बिहान ७ देखि ७ बजेसम्म बिरामीको जाँच गरिने र चौबिसै घण्टा इमर्जेन्सी सेवा सञ्चालन हुने गरेको छ । अस्पतालमा फिजियोथेरापी, हेमोडाइलसिस, भिडियो एक्सरे, आँखा, दाँत लागयतका सेवा उपलब्ध छन् ।
प्रदेश अस्पताल पर्वत र पूर्वाधार विकास कार्यालयबाहेक रेडक्रस, सशस्त्र प्रहरी बल, सीप विकास, अनुसन्धान आयोग, जिल्ला अदालत, हुलाक, कृषि ज्ञान केन्द्र, खानेपानी, शिक्षा, नापी, मालपोत, सरकारी वकिलको कार्यालय, पशु विज्ञ केन्द्र, जिल्ला स्वास्थय, नेपाल पत्रकार महासंघ, लगायतका कार्यालय यहीँ अवस्थित छन् ।
