किन भइरहेछ जंगलबाट धमाधम चुत्रो र गुरजोगानोको संकलन ?

चैत्र १३, २०८१

सुमनजंग थापा

Why is the collection of chutro and gurjogano from the forest?

पर्वत — जलजला गाउँपालिकास्थित शालिजाका शेरबहादुर पुन हिजोआज घरछेउछाउको जंगलतिर बाक्लै भेटिन्छन् । काठ दाउरा खोज्न वा स्याउलापातका निम्ति उनी जंगल पसेका हैनन् । उनी त गुरजोगानो र चुत्रो संकलन गर्न जंगल छिरेका हुन् । जंगलबाट संकलन गरिएको चुत्रो प्रतिकेजी २५ र जरा ४० रुपैयाँ र गुरजोगानोको प्रतिकेजी २० रुपैयाँमा बेच्न सकिने भएपछि शेरबहादुर जस्तै स्थानीयहरु हिजोआज जंगलतिर भेटिन थालेका छन् ।

कुश्मा नगरपालिका–५ जलकेनीमा गत मंसिरमा चिनीयाँ कम्पनी छिफु वायोटेक्नोलोजी प्रालि स्थापना भएपछि स्थानियहरु यसरी चुत्रो र गुरजोगानो खोज्न जंगल पस्न थालेका हुन् । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय अर्न्तगत उद्योग विभागमा २०८१ मा दर्ता भएको यो कम्पनीले गुरजोगानो र चुत्रोलाई प्रशोधनगरी धुलो बनाएर चिन पठाउन तयारी थालेको छ ।

रोमनियाको भिसा पर्खेर बसेका शेरबहादुर घरमा खाली बस्न भन्दा जंगलतिर पसे धेरथोर भएपनि कमाई हुने बताउँछन् । उनले भने, ‘मैले दुई हप्ताजसोमा पन्ध्र/सोह्र सय किलो चुत्रो र गुरजोगानो बेच्दा ५५ हजार रुपैयाँजती कमाए । घरखर्च त राम्रै चल्ने नै भयो, विदेश जान भनेर लिएको साहुको ऋणको ब्याज पनि तिरिसकेँ ।’ उनले घरनजिकैको तारे बन पुगेर संकलन गरेको गुरजोगानो र चुत्रो जिपमै लोड गरेर कम्पनीसम्म पुर्याएको बताए ।

शेरबहादुर जस्तै कुश्मा नगरपालिका–४ की नन्दा दर्जीले पनि स्थानीय वनहरुमा पुगेर गुरजोगानो संकलन गरी विक्री गरेको बताइन् । उनी २६ हजार रुपैयाँ कमाएपछि दङ्ग छिन् । उनले दुई महिनाको अवधिमा आम्दानी गरेको र अहिले पनि खोज्न वनतिर जानेगरेको सुनाइन् ।

जंगलमा पुगेर जथाभावी जडीबुटीहरु संकलन हुँदा समेत सम्बन्धित निकायले चासो नदेखाएकोप्रति नागरिक स्तरबाट भने विरोध सुरु हुन थालेको छ । कुश्माका स्थानिय युवराज शर्मा जंगलबाट जथाभावी रुपमा जडिवुटीको संकलन हुनु चिन्ताको बिषय भएको बताउँछन् । उनले भने, ‘अहिले मान्छेहरु उज्यालो हुननपाउँदै जंगल पुग्छन् । उनीहरुले जरा नै नरहने गरी चुत्रो र गुरजोगानो  उत्खन्न गर्छन् । केही पैसाको लोभमा जडीबुटी विदेशी कम्पनीलाई दिएर निमिट्यान्न पारिॅदैछ ।’ उनले जथाभावी हुने यस्तो संकलनले चाहिएका बेला आफैले जडिबुटी नपाउने अवस्था सिर्जना हुने तर्क सुनाए ।

शर्माले चिन्ता जनाएपनि स्थानिय जनप्रतिनिधीहरु भने यो बिषयमा विभाजित देखिन्छन् । एकथरी मौन छन भने एकथरीले जथाभावी संकलन रोक्नुपर्ने बताउन थालेका छन् । गत फागुन २८ मा कुश्मास्थ्ति  काँग्रेसको पार्टी कार्यालयमा आएका गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेललाइ केही जनप्रतिनिधीहरुले सामुदायिक र सरकारी वनहरुबाट जथाभावी चुत्रो र गुजरगानो चोरी निकासी भएको भन्दै यसलाई रोक्नुपर्ने बताएका थिए । कुश्मा नगरपालिका–४ का वडा अध्यक्ष दिनेस श्रेष्ठले आफुहरुले यो कुरा मन्त्रीसमक्ष राखेको बताउँदै भने, ‘जंगलमा हुलकाहुल मान्छे पसेर जरै नरहने गरी उत्खन्न गर्दै जाने र कहीँकतैबाट नियमन नगरी लापरबाह छोड्ने कुराले भोली सामाजिक र पर्यावरणमा असन्तुलन नआउँला भन्न सकिन्न ।’  

औषधिजन्य वनस्पति संकलन र ओसारपसारको यो कामको विरोध केही स्थानियहरुले सामाजिक संजालबाट पनि गरिरहेका छन् । विरोधको स्वर वढन थालेपछि गत फागुन ५ मा डिभिजन वन कार्यालय पर्वत, जिल्ला प्रशासन कार्यालय पर्वत र जिल्ला समन्वय कार्यालय पर्वतको संयुक्त टोलीले उद्योगको स्थलगत अनुगमन समेत गरेको थियो । वन कार्यालयले अनुगमनपछि कम्पनीले आवश्यक कानुनी प्रक्रिया नपुर्‍याएको भन्दै पत्रचार नै गरी तत्काल संकलन कार्य रोक्न आदेश दिएको डिभिजन वन अधिकृत झ्यामनारायण सापकोटाले बताए ।  

वन कार्यलयले कम्पनीलाई पठाएको पत्रमा वातावरण संरक्षण ऐन, २०७६ तथा नियमावली, २०७७ बमोजिम कम्पनीले प्रारम्भिक वातवरणीय परीक्षण (आईई) नगरेको उल्लेख छ । यही कारण देखाउँदै कार्यालयले तत्काल भइरहेको कार्यलाई रोक्न आदेश दिएपनि यसको कम्पनीले स्थानियबाट संकलन गरेको चुत्रो र गुरजोगानो किनीरहेको छ ।

वातावरण संरक्षण ऐन, २०७६ तथा नियमावली, २०७७ बमोजिम उद्योगले प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार पारेर सम्बन्धित सरकारी निकायमा स्वीकृत गरिसकेपछि मात्र परियोजना, उद्योग वा व्यवसाय सञ्चालन गर्न पाइन्छ । यस प्रक्रियाले वातावरणीय सन्तुलन जोगाउने, पारिस्थितिक प्रणालीमा पर्ने प्रभावलाई न्यून गर्ने र दिगो विकासलाई प्रवर्द्धन गर्ने उद्देश्य राख्छ । तर यस विदेशी कम्पनीले प्रारम्भिक वातवरणीय परीक्षण नगरिकनै परियोजना सञ्चालन गरिरहेको देखिन्छ ।

एकातिर डिभिजन वन कार्यालय पर्वतले पत्रचार गरेर यो बिषयमा आफनो सरोकार देखाएजस्तो गरिरहेको छ भने अर्कोतिर डिभिजन बन कार्यलयले भने व्यक्तिको दर्ता श्रेस्ता कायम भएका नम्बरी आवादीमा रहेका बनबाट जडीबुटी संकलन तथा ओसारपसारका लागि अनुमति दिन परिपत्र जारी गरिरहेको छ । कार्यालयले गण्डकी प्रदेश वन नियमावली २०८१ को अनुसुची १६ मा कायम गुरजोगानो र चुत्रो संकलन तथा ओसारपसार गर्नलाई अनुमति प्रदान गरिएको बताएको छ ।

वन कार्यालय पर्वतका डिभिजन वन अधिकृत सापकोटाले व्यक्तिगत वनबाट ल्याउने कुरालाई आफुहरुले रोक्न नमिल्ने बताए । उनले भने, ‘कृषकले मेरो वनमा भएको चुत्रो र गुरजोगानो बेच्न पाऊँ भनेर प्रक्रिया पुरा गरेर आएपछि इजाजत अनुमति दिनुपर्ने हुन्छ ।’ उनले सामुदायिक वनका अध्यक्ष, वडाका अध्यक्ष कसैले पनि सामुदायिक र सरकारी वनबाट चोरी निकासी भएको बारेमा कार्यलयलाई जानकारी नगराएको बताए ।

कार्यलयका अनुसार पर्वतबाट यही पुष माघ महिना देखि गुरजोगानो १० हजार ५ सय केजी र चुत्रो ३ हजार केजी मात्र संकलन भएको छ । वनका अनुसार फलेवास नगरपालिका र पैयुँ गाउँपालीकाबाट मात्रै गुरजोगानो र चुत्रो संकलन भएको छ । कार्यलयले कति जनाले चुत्रो र गुरजोगानो संकलन गर्न र ओसरपसार गर्न छोडपूर्जी लिए भन्ने संख्या भने आफुसँग नरहेको बतायो ।

छिफु कम्पनी प्रा.लिका व्यवस्थापक तथा सूचना अधिकारी हरिकुमार श्रेष्ठले भने प्रारम्भिक वातवरणीय परीक्षण प्रतिवेदन स्वीकृती नभइसकेको तर अन्तिम प्रक्रियामा रहेको स्विकार गरे । उनले थोरै परीक्षणका लागि सुरु गरौँ भनेर तयारी थाल्दा एक्कासी किसानहरुले चुत्रो र गुरजोगानो बढी परिणाममा ल्याएपछि वन कार्यालयले रोकेको बताए । उनका अनुसार अहिले पनि परीक्षणकै काम भइरहेको बताउँदै केही समयमा नै प्रारम्भिक वातवरणीय परीक्षण प्रतिवेदन स्वीकृत भएपछि कम्पनीले बढी परिणाममा काम गर्ने बताए ।Why is the collection of chutro and gurjogano from the forest?चिनीयाँ कम्पनी छिफु वायोटेक्नोलोजी प्रालि परिसर ।

‘राज्यलाई अहिले संकलित जडीबुटी बापतको राजश्व तिरेका छौँ । किसानले निजी वनबाट ल्याएको भन्ने प्रमाणित इजाजत–पत्र देखाएपछि सामान खरिद गर्ने गरेका छौँ । आफैले बोकेर ल्याउने किसानहरुको चाहिँ मानवियताको नाताले इजाजत बिनै खरिद गर्देका छौँ ।’, उनले भने, ‘हामीले त वनको इजाजत–पत्र हेरेर खरिद गर्ने हो, ल्याउनेले सामुदायिक वनबाट ल्याउँछ कि, सरकारी वनबाट, त्यो चाहिँ थाहा हुने विषय भएन ।’
 
उनले वार्षिक ७ सय ३० मेट्रिकटन चुत्रो र गुरजोगानो  संकलन गर्ने लक्ष्य रहेपनि अहिलेसम्म २० टनभन्दा बढीको काम हुन नसकेको बताउँदै उनले बहिर हल्ला गरेजस्तो वनै सक्यो भन्ने खालको स्थित नभएको तर्क सुनाए ।

कालीगण्डकी नदीको किनारमा ८ करोड लगानीमा साढे ४२ रोपनी जमिन भाडामा लिएर कम्पनी सञ्चालन भएको यस कम्पनीमा ३ चिनियाँ र ३१ नेपाली कार्यरत छन् । कम्पनीका व्यवस्थापक तथा सूचना अधिकारी श्रेष्ठले स्थानीय सरकारले आफुहरुलाई कुनै सहयोग नगरेको गुनासो गर्दै भने, ‘ठुलो लगानीका साथ विदेशी कम्पनी आफ्नो ठाउँमा आएको छ, तर हामीलाई दिनुपर्ने सेवासुविधा दिनु त परैको कुरा वास्ता समेत गरिएको छैन ।’

पैयुँ गाउँपालिकाले फागुन २७ मा चुत्रो र गुरजोगानो संकलन कार्य रोक्न सुचना नै जारी गरेको थियो । प्रमुख प्रशासकीय अधिकृत जिवन गैरेले गाउँपालिकाले अहिले पूर्ण रुपमा संकलन कार्यमा बन्देज लगाएको बताए । उनले भने, ‘पहिले वनहरुबाट चुत्रो र गुरजोगानो संकलन भए होलान्, अहिले त्यसतो गतिविधि भएको छैन ।’

फलेवास नगरपालिकाका नगरप्रमुख गंगाधर तिवारीले भने आफ्नो पालिकामा यस्ता गतिविधिहरु नभएको बताए । ‘हाम्रोमा चुत्रो र गुरजोगानो खोज्नेहरु छैनन् जस्तो लाग्छ ।’, उनले भने, ‘बरु विहादी र पैयुँ गाउँपालिका तिरबाट आउने दुईतीनवटा जिपमा चुत्रो र गुरजोगानो बोकेर ल्याएको मैले नै देखेको थिएँ ।’

आयुर्वेदमा चुत्रो र गुरजोगानोलाई महत्वपूर्ण जडीबुटी मानिन्छ । चुत्रो विशेषगरी जण्डिस र लिभर सम्बन्धी बिरामीलाई उपयोगी हुने प्रदेश आयुर्वेद चिकित्सालय फलेवासका सूचना अधिकारी चन्द्रप्रसाद आचार्यले बताए । त्यस्तै आँखा रोग र पाचन सम्बन्धी समस्यामा काम आउने आचार्यले बताए । उनका अनुसार गुरजोगानोले छालासम्बन्धी, पखाला लग्दा आमाको स्तनलाई शुद्ध बनाउन र शारीरिक दुखाइलाई कमगर्न उपयोगमा ल्याइन्छ ।

डिभिजन वन कार्यालय पर्वतले गैरकाष्ठ वन पैदावारअन्तर्गत पर्ने चुत्रो र गुरजोगानो पहाडी भेगमा सबैजसो ठाउँमा पाइने बताएको छ । कम्पनीले पर्वत, म्याग्दी, बाग्लुङ, कास्की, लमजुङ, अर्घाखाँची, गुल्मी स्याङ्जालगायतका जिल्लाहरुलाई केन्द्रित गरेर प्रशोधन उद्योग सञ्चालन गरेको बताएको छ । संकलित जडीबुटीको जरा, हाँगा र डाँठलाई प्रशोधन गरी धुलो बनाइएर औषधिको कच्चा पदार्थको रुपमा प्रयोग गर्न चिन पठाइने कम्पनीले बताएको छ ।

सुमनजंग सुमन कान्तिपुरका पर्वत संवाददाता हुन् । उनी समसामयिक विषयमा समाचार लेख्ने गर्छन् ।

Link copied successfully