लमजुङ — लमजुङको मर्स्याङ्दी गाउँपालिका ४, च्याम्चेको अक्टोपस झरनानजिकैको बक्स कटिङआडैमा सुख्खा पहिरो जाँदा अवरुद्ध बेंसीसहर–चामे सडक सञ्चालनमा आएको छ ।
प्रहरीका अनुसार सोमबार मध्यान्ह १२ बजेतिर माथिबाट सडक नै भत्काउने गरी खसेको पहिरोसहितको ठूला–ठूला ढुंगा हटाएपछि सडक सोमबार साँझ साढे ५ बजेबाट सञ्चालनमा आएको हो ।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डीएसपी रेशम बोहराले सोमबार दिउँसो अवरुद्ध सडक साढे ५ घण्टापछि सञ्चालनमा आएको बताए । ‘पहिरो खसेको जानकारीपछि हामीले तत्काल अस्थायी प्रहरी पोष्ट जगतबाट प्रहरी टोली खटायौं र सडक कार्यालयसँग समन्वय गरेर सडक खुलाउन पहल थाल्यौं । मेसिनरी सामग्री प्रयोग गरेर साढे ५ घण्टामा सडक खुलायौं,’ उनले भने । उनका अनुसार सडक खुलेसँगै सवारी साधन गन्तव्यतर्फ गएका छन् ।
