जिम्मेवारी हेरफेर गर्न प्रदेश अनुशासन आयोग प्रमुख, महामन्त्रीसहित १५ जनाको माग
कास्की — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सभापति राजन गौतमविरुद्ध पार्टी केन्द्रीय कार्यालयमा उजुरी परेको छ । पार्टीलाई क्षति हुने काममा संलग्न रहेको दाबी गरेर प्रदेश महामन्त्रीसहित १५ जनाले कार्यवाहक महामन्त्री एवं संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीलाई चैत २ मा पत्र पठाएका हुन् ।
प्रदेश सभापति गौतमको क्रियाकलाप, अभ्यास, व्यवहार पार्टीको मूल्य–मान्यताविपरीत रहेको र उनी स्वेच्छाचारी बनेको पत्रमा उल्लेख छ । गौतममाथि निर्णय नहुँदासम्म जिम्मेवारीमा निष्क्रिय रहने १५ उजुरीकर्ताले संयुक्त पत्रमार्फत जानकारी गराएका छन् ।
‘उपरोक्त सम्बन्धमा गण्डकी प्रदेश समिति सभापति श्री राजन गौतमज्यूको क्रियाकलाप, अभ्यास र व्यवहार, हाम्रो पार्टीको विधि–विधान, मूल्य र मान्यताविपरीत साथै स्वेच्छाचारी ढंगले चलाउँदै आएकोले यस्ता गतिविधिले पार्टीलाई प्रदेशमा ठूलो क्षति पुग्दै गएको र आगामी दिनमा थप क्षति पुग्ने देखिएकाले उहाँलाई पार्टीको राइट टु रिकल वा कुनै विधिबाट जिम्मेवारी हेरफेर गरी कारबाही गरी पाऊँ भनी तपसिलबमोजिमका जिम्मेवार साथीहरूले सहीछाप गरी यो निवेदन संयुक्त रूपमा पेस गर्दछौं,’ पत्रमा भनिएको छ, ‘साथै उहाँको विषयमाथि निर्णय नहुँदासम्म हामीले गर्दै आएका जिम्मेवारीमा निष्क्रिय रहने कुराको समेत संयुक्त रूपमा अवगत गराउँदछौं ।’
प्रदेश अनुशासन आयोग प्रमुख योगेन्द्र के.सी, महामन्त्री नवीन त्रिपाठी, संगठन विभाग सचिव एकराज न्यौपाने, कोषाध्यक्ष लक्ष्मी अधिकारी, प्रवक्ता विकास भुर्तेल, सदस्यहरू हेम सुवेदी, अशोक खड्का, अनीषा अधिकारी, शितला थापा, विनोद वि.क, समिउन निशा, गीता सुनार, राममाया बस्ताकोटी, योगराज पौडेल र डिल्लीराम कोइरालाले हस्ताक्षर गरेर संयुक्त उजुरी दिएका हुन् ।
पदाधिकारीको जिम्मेवारी हेरफेर, विभाग गठन, जिल्ला समिति गठनमा एकलौटी गरेको, वडा र जिल्ला भेलामा महामन्त्रीलाई थाहै नदिई एक्लै जाने गरेको, नवलपुर मात्र केन्द्रीत भएको, पार्टीभन्दा पनि व्यक्तिगत राजनीतिलाई केन्द्रमा राखेको आरोप सभापति गौतममाथि छ । ‘व्यक्तिको लहडले मात्र हुँदैन । पार्टीलाई मजबुत बनाउनुपर्छ,’ एक जना उजुरीकर्ताले इकान्तिपुरसित भने, ‘उहाँलाई सक्ने भन्ने होइन । उहाँले मनन गर्नपर्छ भन्ने हो । उहाँको कार्यशैली सुध्रिनुपर्छ भन्ने हाम्रो कुरा हो ।’
सभापति गौतमले आफ्ना केही कार्यशैलीमा कमजोरी भएको स्वीकारे । ‘कहीँ कतै मेरो कार्यशैलीमा कमजोरी भएकै हुन् । विधि प्रक्रियामा कमजोर भएर हिँडेको छैन,’ उनले भने,’ साथीहरूको खबरदारीपछि बैठक बसेर त्यसलाई सामान्यीकरण गरिएको छ ।’
