पर्वत — जिल्लाको कुश्मा नगरपालिकाको सामुदायिक वनमा आगो लगाउने दुई किशोरलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कुश्मा–९ बस्ने १८ वर्षीय समिर थापा र १७ वर्षीय एक किशोर रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
उनीहरु बुधबार साँझ कुश्मा नगरपालिका–१० ज्ञादीस्थित मोदी खोला माथिको सार्वजनिक वनमा आगो लगाइरहेको अवस्थामा पक्राउ परेका हुन् । ‘साँझतिर कुश्मा नगरपालिका–७ खरेहाका भिरमा आगलागी भएपछि हामी दमकलसहित निभाउन पुगेका थियौँ,’ प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले भने, ‘त्यही बेला नै पारिपट्टि कुश्मा नगरपालिका–१० को वनमा आगलागीको खबर आयो । तत्कालै हामी त्यहाँ पुगेर आगो लगाउने व्यक्तिलाई समेत नियन्त्रणमा लिन सफल भयौं ।’
उनका अनुसार पक्राउ परेका दुवै जनालाई कारबाहीका लागि डिभिजन वन कार्यालय पर्वत पठाइएको छ ।
वन ऐन, २०७६ को दफा ४९ अनुसार कसैले वनमा आगो लगाउने वा आगलागी गराउने कार्य गरेमा ५ वर्षसम्म कैद वा ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाएको व्यवस्था छ । यदि वनमा आगो लगाएर ठुलो क्षति पुर्याएमा दफा ५० अनुसार दोषीले क्षतिको भरपाईसमेत गर्नुपर्ने कानुनमा उल्लेख रहेको डिभिजन वन कार्यालय पर्वतका प्रमुख डिभिन वन अधिकृत झ्यामनारायण सापकोटाले बताए ।
