तीन दशकको पर्खाइपछि बनेको बसपार्क सञ्चालनमा आएन

चैत्र ७, २०८१

सुमनजंग थापा

After three decades of waiting, the bus park did not come into operation

पर्वत — सदरमुकाम कुश्मामा बसपार्क निर्माण सम्पन्न भएको वर्ष दिन भइसकेको छ । संघीय सरकार अन्तर्गत सघन सहरी विकास तथा भवन निर्माण कार्यालयले कुश्मा बसपार्क निर्माण सम्पन्न गरेर कुश्मा नगरपालिकालाई हस्तान्तरण गरेको पनि ६ महिना भइसकेको छ । 

कुश्मा नगरपालिका–६ स्थित बान्द्रेबेडीको नवनिर्मित बसपार्क सञ्चालनमा आउने दिन कुरेर बसेका स्थानीय र यातायात व्यवसायीहरु यतिबेला निराश बनेका छन् ।

‘बस सडकमै पार्किङ गर्नुपर्ने बाध्यता छ । अन्त कतै ठाउँ छैनन् । सडकमा गाडी राख्दा तोडफोडदेखि चोरीसम्म हुने गरेको छ,’ यातायात व्यवसायी राम नेपालीले भने, ‘बसपार्क नबन्दा बरु खाली ठाउँ भएकाले त्यहिँ राख्न सहज थियो । अहिले बसपार्क त बनेको छ, तर बस नै राख्न पाइएको छैन ।’

विसं २०४८ मा पोखरा–बागलुङ सडक विस्तार भए पनि कुश्मामा आधुनिक बसपार्क निर्माण हुन सकेको थिएन । बसपार्कका लागि शिवालय धार्मिक विकास गुठीले करिब १२ रोपनी १२ आना क्षेत्रफलको जग्गा छुट्याएको दुई दशक बढी भइसकेको थियो । राजनीतिक दलका नेताहरुले चुनावमा बसपार्क निर्माणलाई नारा बनाएर मतदातासम्म पुग्ने गरे पनि बसपार्क निर्माणले गति लिन सकेको थिएन । 

बल्लतल्ल २०७९ सालमा आएर अघि बढेको बसपार्कको निर्माण कार्य एक वर्षमा सम्पन्न भएको थियो । नगरपालिकाले सघन सहरी विकास तथा भवन निर्माण कार्यालयबाट भवनसहितको नवनिर्मित आधुनिक बसपार्क आफ्नो जिम्मामा ल्याएर पनि सञ्चालनमा ल्याउन सकेको छैन । 

प्रभावकारी रेखदेख नहुँदा अहिले बसपार्कको यात्रीकक्ष भत्किन थालेको छ । शौचालयका झ्याल र ढोकामा राखिएका सिसा फोडिएका छन् । बिजुलीका बल्ब पनि फुटाइएका छन् भने भित्ताको रंग पनि उड्न लागेको छ । यतिबेला बसपार्क दिउँसो सवारी सिक्ने र रातिको समयमा लागुऔषध सेवनकर्ताहरुको जमघट गर्ने थलो बनेको छ । 

कुश्मा नगरपालिकाले अबको केही समयभित्र नै बसपार्क सञ्चालनमा आउने दाबी गरेको छ । कार्यपालिकाको बैठक बसेर बसपार्क निजी कम्पनीलाई सञ्चालनन गर्न दिने सहमति र निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले बताए । ‘अबको दुईचार दिनमै दररेट सार्वजनिक गरेर ठेक्का प्रक्रियामा जान्छौं’, उनले भने, ‘वर्षको निश्चित भाडा तोकेका छौं, त्यो भन्दा माथिको रकममा जसले ठेक्का लिन चाहनुहुन्छ, उहाँहरुलाई नै बसपार्कको जिम्मा दिन्छौं ।’ 

After three decades of waiting, the bus park did not come into operation

६ करोड ६६ लाख ३ हजार २ सय ५० रुपैयाँमा बनेको बसपार्क हाताभित्र दुई ठाउँमा सवारीसाधन पार्किङको व्यस्था मिलाइएको छ । दुईतले भवनसहित टिकट काउन्टर, यात्रु प्रतिक्षालय, शौचालय र व्यवसायिक प्रयोजनका लागि आधादर्जन संख्यामा सटरसहितको कोठा निर्माण गरिएको छ । 

बसपार्कबाट उठाइने कर र सटरभाडाको शुल्कबाट नगरपालिकाको आन्तरिक राजश्वमा वृद्धि हुने, बसपार्क वरपरका होटल, रेस्टुरेन्ट, पसल लगायतका व्यवसायहरु फस्टाउने र रोजगारीको सिर्जना हुने नगरपालिकाको विश्वास छ । तर समयमै बसपार्क सञ्चालन नहुँदा नगरपालिकाले आफ्नो आम्दानीसमेत गुमाउनु परेको छ ।

बसपार्क नहुँदा ट्राफिक व्यवस्थापनमा पनि समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका ट्रफिक प्रहरी प्रमुख बलबहादुर गुरुङ बताउँछन् । ‘बसपार्क सञ्चालनमा आउने हो भने सडकमा जथाभावी पार्किङ गर्नेहरुलाई कारबाही गर्न सजिलो हुन्थ्यो,’, उनी भन्छन्, ‘अहिले यहाँ राख, त्यहाँ राख भन्न पनि मिलेन । विकल्प दिन नसकेपछि सडकबाट गाडी हटाऊ भन्दा विवाद मात्र हुन्छ ।’ 

उनले नवनिर्मित बसपार्कमा ट्राफिक प्रहरीको कार्यालय राख्न सकेमा बसपार्कको संरक्षण र सवारीसाधनहरुको सुरक्षाका लागि सहज हुने बताउँछन् । यस्तै सदरमुकाम कुश्मास्थित शिवालय चोकका सडकहरुमा नै सवारीसाधन पार्किङ गरेर यात्रु पर्खनुपर्ने बाध्यता यातायात व्यवसायीहरुको रहेको छ । यहाँबाट काठमाडौं, पोखरा, सुनौली, विराटनगर, भैरहवा, नेपालगञ्ज, काँकडभित्तालगायतका सहरहरुमा सार्वजनिक सवारीसाधन छुट्ने गर्छन् ।

सुमनजंग सुमन कान्तिपुरका पर्वत संवाददाता हुन् । उनी समसामयिक विषयमा समाचार लेख्ने गर्छन् ।

Link copied successfully