बागलुङका चार क्याम्पसमा छुट्टाछुट्टै चार संगठनको जित

चैत्र ६, २०८१

प्रकाश बराल

Four separate organizations won in four campuses of Baglung

बागलुङ — मंगलबार सम्पन्न भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा बागलुङको एक आंगिक र तीन सामुदायिक क्याम्पसको परिणाम आएको छ ।

ती मध्ये धौलागिरि बहुमुखी क्याम्पसमा अनेरास्ववियु, गलकोट बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारी, शान्तिदीप बहुमुखी क्याम्पसमा नेविसंघ र सर्वोदय क्याम्पसमा अखिल छैटौंका उम्मेदवार सभापतिमा निर्वाचित भएका छन् । 

धौलागिरि बहुमुखी क्याम्पसमा अखिलबाट सभापति र सदस्यमा एक जनाले जितेका छन् भने बाँकी पदाधिकारी र सदस्यहरुमा नेविसंघका उम्मेदवार विजयी भएका छन् । 

यहाँ नेविसंघ एक्लै लडेको थियो भने अनेरास्ववियु, अखिल क्रान्तिकारी, अखिल छैटौं, अखिल समाजवादी र राष्ट्रिय प्रजातानित्रक विद्यार्थी युनियन ‘अखिल संयुक्त प्यानल’ बनाएर लडेका थिए । 

धौलागिरिमा अखिल संयुक्तको तर्फबाट अनेरास्ववियुकी आस्मिन शेख सभापतिमा निर्वाचित भएकी हुन् । कूल १ हजार ५९ मत खसेकोमा शेखले ५ सय ५२ मत ल्याइन् । नेविसंघकी सृष्टी आचार्यले ४ सय ९१ मत पाइन् ।

सचिव, कोषाध्यक्षमा नेविसंघ विजयी भए । सचिवमा नेविसंघका सचिन हरिजनले ५ सय ३४ मत पाएर विजयी भए भने अखिल संयुक्तका रुद्रबहादुर पुनले ५ सय ९ मत पाए । कोषाध्यक्षमा नेविसंघका विशाल घर्ती ६ सय ५४ मत ल्याएर विजयी भए । 

अखिल संयुक्तकी रेशा शर्माले ३ सय ८४ मत पाइन् । ६ सदस्यमा ५ जना नेविसंघका र एकजना संयुक्तका निर्वाचित भए । 

२०१९ सालमा स्थापना भएको धौलागिरि बहुमुखी क्याम्पसमा पहिलो पटक महिलाबीच नै सभापतिका लागि चुनाव भएको थियो । शेख स्नातकोत्तर प्रथम वर्षकी विद्यार्थी हुन् । सदस्यहरुमा नेविसंघका प्रशान्त सुवेदी, दीप सागर सुवेदी, सुदीप घर्ती, सृष्टी घर्तीमगर, सुवास बाबु घर्ती र अखिलका विकल्प घर्ती निर्वाचित भए ।

समानुपातिकतर्फ भने नेविसंघ पहिलो भयो । नेविसंघले ४ सय २१ मत पाउँदा अखिलले २ सय ७७ मत पायो । अखिल क्रान्तिकारीले १ सय ५, अखिल छैटौंले ७७ मत पायो भने राप्रविसंघले ५१ र स्वतन्त्र विद्यार्थी समूहले १ सय २२ मत पायो ।

गलकोट बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका प्रभात साहनी निर्वाचित भएका छन् । कूल खसेको १ सय ५८ मतमा सहानीले ९९ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी नेविसंघकी रेनुका परियारले ५८ मत पाइन् । सचिवमा अखिल क्रान्तिकारीकै पवन बिकले ८५ र कोषाध्यक्षमा समृति बुढाथोकीले ८५ मत ल्याएर विजयी भइन् । यहाँ अखिल क्रान्तिकारीकै प्यानल विजयी भयो । 

अनेरास्ववियुले ४ र अखिल छैटौंले १३ मत पाएका हुन् । यसैबीच कुश्मीसेराको शान्तिदिप बहुमुखी क्याम्पस कुश्मीसेरामा भने नेविसंघकी विपना परियार स्ववियु सभापतिमा निर्विरोध भएकी छिन् । उनकै नेतृत्वमा ११ सदस्य रहेको कार्यसमिति नै निर्विरोध भएको हो ।

बरेङको सर्वोदय क्याम्पसमा अखिल छैटौंका मोहराज पौडेल सभापतिमा निर्विरोध भए । उपाध्यक्षमा कला शर्मा, सचिवमा गोमा शर्मा सहित सदस्यहरु निर्विरोध भएका छन् ।

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully