कास्की — त्रिभुवन विश्वविद्यालयअन्तर्गत देशकै ठूलो आंगिक क्याम्पस पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतपत्रमा त्रुटि भेटिएको छ । समानुपातिकतर्फको मतपत्रमा अखिल (छैटौं)को चिह्न लगाउने कोष्ठक छुटेको पाइएको हो ।
बिहान ८ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका भएपनि ११ बजेसम्म सुरु हुन सकेको छैन । निर्वाचन अधिकृतले सर्वदलीय बैठक बोलाएका छन् । नयाँ मतपत्र छपाइ गर्न पठाइएको र त्यो आएपछि मतदान सुरु गरिने निर्वाचन अधिकृत डा. रामचन्द्र पोखरेलले जानकारी दिए । मध्याह्न १२ बजेपछि मतदान सुरु गर्ने तयारी छ ।
मतदान छिटो सुरु गर्नुपर्ने माग राखेर क्याम्पस गेटमा विभिन्न विद्यार्थी संगठनले नाराबाजीसहित प्रदर्शन गरिरहेका छन् ।
उक्त क्याम्पसमा समानुपातिकतर्फ अखिल (क्रान्तिकारी), अनेरास्ववियू, प्राज्ञिक विद्यार्थी परिषद नेपाल, अखिल (छैठौ), अखिल (क्रान्तिकारी) वैद्य, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल (समाजवादी) र नयाँ शक्ति विद्यार्थी युनियनले उम्मेदवारी दिएका छन् । यहाँ स्ववियु निर्वाचनका लागि ९ हजार २ सय ७० मतदाता छन् ।
