उँभौली लागे भेडीगोठ

चैत्र ४, २०८१

घनश्याम खड्का

Umbhauli lage Vedigoth

म्याग्दी — जाडो छल्न उँधौली (बेँसी) झरेका यहाँका फिरन्ते भेडी गोठ गर्मी चढेसँगै उँभौली (माथि लेकतिर) लागेका छन् । हिउँदमा बेँसी झरेका जिल्लाका एक सय २० भेडागोठ आ–आफ्ना पायक पर्ने गुर्जा, धौलागिरि, नीलगिरि र अन्नपूर्ण हिमाल फेँदीका लेकाली चरनखर्क क्षेत्र तर्फ उकालो लागेका हुन् ।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र म्याग्दीका अनुसार जिल्लाका सबै ६ पालिकामा १८ हजार ५ सय ६७ वटा रैथाने बरुवाल जातका भेडा छन् । भेडालाई मार्गनिर्देश गर्न रैथाने सिनास जातका करिब ३ हजार बाख्रा पनि छन् । प्रत्येक भेडाको बथानमा नाइके बाख्रा हुन्छन् । बथानमा अगाडि हिँड्ने बाख्रा नभएसम्म भेडाको मात्र गोठ राख्न सम्भव हुँदैन । 

केन्द्रको अभिलेख अनुसार जिल्लामा सबैभन्दा धेरै अन्नपूर्ण गाउँपालिकामा ६ हजार १ सय ५१ वटा, धवलागिरि गाउँपालिकामा ५ हजार ९ सय ९१, रघुगंगा गाउँपालिकामा ५ हजार ५ सय ८९ वटा भेडा रहेका छन् । त्यस्तै, मालिका गाउँपालिकामा ३ सय ६७ वटा, मंगला गाउँपालिकामा ३ सय ४७ वटा र बेनी नगरपालिकामा १ सय २२ वटा फिरन्ते भेडा पालन गरिएको छ । अन्नपूर्ण, धवलागिरि र रघुगंगा गाउँपालिका गुर्जा, धौलागिरि, नीलगिरि र अन्नपूर्ण हिमालमुनि ठूला ठूला चरन क्षेत्र भएकोले यही क्षेत्रमा भेडागोठ बढी छन् । 

‘यो वर्ष हिउँ र हिउँदे झरी नपरी जाडोयाम सकियो । उँभौली हिँड्यौं । जेठ अन्तिमसम्म सबैभन्दा माथिको खयर लेकमा पुग्छौं,’ अन्नपूर्ण गाउँपालिका–६ घारबाट भेडा धपाउँदै पारी पाउद्वारतर्फ उकालो लागेका रकप्रसाद गर्वुजाले भने, ‘चिसो बढेपछि भेडाले चर्दै तल च्याप्छन्, गर्मी बढेपछि माथि माथि च्याप्न थालेपछि हामीले गोठ माथि माथि सार्दै जान्छौं ।’ यस वर्षको हिउँदमा रकप्रसाद र कुमार पाईजाको संयुक्त भेडागोठले घारकको वनमा २५ हजार तिरेर चरनमा बिताए ।

Umbhauli lage Vedigoth

आफ्नो बस्ती क्षेत्रमा प्रशस्त चरन नभएका अन्नपूर्णको खोप्रा, खयरबराह क्षेत्रका चरन खर्कमा चौरी गोठ पनि भएकोले केही भेडागोठ भने मुस्ताङको मूलिखर्क, बतासे, दह, बराह, मार्चे लगायतका बुक्यानमा गोठ लैजाने चलन रहेको छ । जिल्लाको पश्चिम धवलागिरि गाउँपालिकाका केही भेडागोठ ढोरपाटन सिकार आरक्षको खर्कमा लैजाने गर्छन् । लेकमा गोठ लैजान प्रत्यक गाउँका आ–आफ्नै चरन क्षेत्र रहेका छन् । 

प्रयाप्त चरन, प्रशस्त आम्दानी र पीपीआरसमेत पूर्ण खोप सुनिश्चितसमेत पर्याप्त औषधोपचार सुविधा भएपनि भेडापालन व्यवसायतर्फ भने बर्सेनि आकर्षण घट्दो छ । एक सय ४८ गोठ ५ वर्षमा घटेर एक सय २० मा र भेडाको संख्या २१ हजारबाट घटेर १८ हजारमा सीमित भएको तथ्यांकले देखाएको छ ।

‘सीमित व्यक्तिबाहेक अधिकांश भेडा गोठाला/भेडा पालक कृषक अघिल्लो पुस्ताका छन् । गोठमा बस्ने मान्छे पाउनै मुस्किल भएको गुनासा कृषकको छ,’ भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका प्राविधिक अधिकृत शुभाष रेग्मीले भने, ‘जलवायु परिवर्तनको कारण भेडाको चरन क्षेत्रमा विषालु घाँस बढेको र चितुवासमेत वन्यजन्तुको आक्रमण पनि बढेको छ ।’

Umbhauli lage Vedigothम्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको देउराली पाखामा रहेको भेडी गोठ र गोठाला । तस्बिर : घनश्याम खड्का/ कान्तिपुर

फिरन्ते गोठमा बस्ने गोठाला अभावका बीचमा पनि भेडाबाट मनग्य आम्दानी छ । भेडाको माग उच्च छ । बजार खोज्न पनि पर्दैन, ग्राहक भेडा खोज्न गोठसम्मै पुग्छन् । गाउँ–गाउँमा गरिने भूमेपूजा, बराह पूजा, विभिन्न जाति, जनजाहिरुको कुलपूजामा भेडाको बली दिएर पूजा गर्न स्थानीयले गोठबाटै खोसाखोस गर्छन् । एक सिजनमा एक गोठले २ लाखदेखि १० लाख मूल्य बराबरको भेडा, बोका बिक्री गर्छन् । जिउँदो भेडाको व्यापार मात्र होइन, भेडाको ऊनको पनि राम्रो व्यापार हुने गरेको छ । 

गाउँ–गाउँमा लाग्ने भुमेपूजा, जनैपूर्णिमा आदि चाडपर्वमा विभिन्न मन्दिरमा गरिने पूजासहित पशुबली दिने प्रचलन भेडाको व्यापार गर्ने गतिलो अवसर हो । जनैपूर्णिमाका दिन खयरवराही मन्दिरमा लाग्ने यस क्षेत्रकै सबैभन्दा ठूलो मेला विभिन्न हिमाली क्षेत्रबाट आ–आफ्ना गोठ यही ल्याउने गरिन्छ । 

परम्परागत फिरन्ते भेडागोठलाई वन्यजन्तुको आक्रमणबाट भेडाबाख्रालाई जोगाउन सोलार टुकीहरु उपलब्ध गराइदिन, भकारीसहितको गोठसहित भेडाधपाएर हिँड्नु पर्ने भएकोले टेन्ट र गोठालाको मनोरञ्जन र सूचनामा पहुँच बढाउन भेडा गोठालाले माग गरेका छन् ।

Umbhauli lage Vedigoth

‘सरकारले व्यावसायिक भेडाबाख्रा पाल्नेलाई सहयोग गर्ने गरेको सुनेका छौं । हामी भेडा गोठालाहरुको जीवन कष्टकर छ त्यसैले सोलार टुकी, टेन्ट र रेडियो सहयोग मागेका हौं,’ रघुगंगा गाउँपालिका–२ भगवतीका नन्दबहादुर भण्डारीले भने, ‘चरन क्षेत्रमा विभिन्न विषालु झार पलाउन थालेको छ । बेँसीका वनमा चराउन पाइँदैन । वन्यजन्तु बढेकोले पशु र हामी दुवैलाई असुरक्षा बढेको छ ।’

त्यति मात्र होइन परम्परागत शैलीमा पालिएका भेडीगोठमा भेडाको आनुवांशिक समस्या पनि देखिएको छ । स्वजातिय गर्भाधान (हाडनाता गर्भाधान)को समस्याले गर्दा भेडाको वृद्धि–विकास र उत्पादनशीलता घटेको छ भने भेडाको आकार पनि घट्दो छ । 

‘परम्परागत भेडा गोठमा उन्नत जातका बीउ भित्राउन र स्वजातिय गर्भाधान हटाउन अनेक प्रयास गरेका छौं । तर पुरानो पुस्ताले तयार नै हुन सकेको छैन । भेडामा हाडनाता गर्भाधानले मासु र ऊन उत्पादनमा वृद्धि ल्याउन सम्भव हुने थियो,’ विज्ञ केन्द्रका पशुसेवा प्राविधिक गणेश रिजालले सुनाए ।

घनश्याम खड्का दुई दशकभन्दा बढीदेखि पत्रकारिता गरिरहेका छन् । उनी कान्तिपुरमा कानुन, न्याय, मानवअधिकार लागयतका बिटमा लेख्छन् ।

Link copied successfully