लमजुङ — लमजुङको मर्स्याङ्दी गाउँपालिकाले ७३ जना किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर दिएको छ ।
गाउँपालिका कृषि शाखा प्रमुख विनोद दाहालका अनुसार चालु आर्थिक वर्षको स्वीकृत कृषि यान्त्रीकरण कार्यक्रम अन्तर्गत गाउँपालिकाका ९ वटै वडाका किसानलाई अनुदानमा हाते ट्याक्टर वितरण गरिएको बताए ।
गाउँपालिकाले ६५ वटाका लागि सुरुमा बोलपत्र आहृवान गरेकोमा कास्कीको पर्स्याङस्थित भानु इन्टरप्राइजेजले सम्झौता अनुसार २४ लाख ६४ हजारमा ट्याक्टर उपलब्ध गराएको थियो । गाउँपालिकाले पछि २ लाख ८८ हजार रुपैयाँ खर्च गरी ८ वटा ट्याक्टर ल्याएको थियो । किसानले ५० प्रतिशत अनुदानमा घटीमा १८ हजार ७ सय ५० रुपैयाँदेखि बढीमा २२ हजार रुपैयाँसम्म रकममा हाते ट्याक्टर पाएका छन् ।
गाउँपालिकाले किसानको माग बमोजिम पेट्रोल र डिजेलबाट चल्ने ६ र ७ हर्सपावरको हाते ट्याक्टर ल्याएर वितरण गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुन चपाईंले बताए । उनका अनुसार बर्खायाममा खेत जोत्नका लागि हिलेचक्का पनि ५० प्रतिशत अनुदानमा वितरण गरिनेछ ।
गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले कृषिमा आधुनिकीकरण गर्ने अनुरुप किसानलाई हाते ट्याक्टर उपलब्ध गराएको बताए । ‘किसानको माग बमोजिम प्राथामिकताको आधारमा हामीले यस अघिका वर्षमा पनि हाते ट्याक्टर वितरण गरेका थियौं । यो वर्ष पनि वितरण गर्यौं । यसको सदुपयोगबारे हामी अनुगमन पनि गर्छौं,’ उनले भने ।
उनका अनुसार पछिल्लो समय गोरु नपाउने, युवा पुस्ता वैदेशिक रोजगारीमा जाने र गाउँमा खेतालाको अभावले पनि किसानले हाते ट्याक्टर माग गर्न थालेका छन् । अर्कोतर्फ गोरुले भन्दा हाते ट्याक्टरले छिटो छरितो हुने भन्दै किसानले हाते ट्याक्टरको माग गरेका छन् । ‘हामीले किसानलाई प्राथामिकताको आधारमा हाते ट्याक्टर वितरण गरेका हौं । कृषिमा आधुनीकीकरणका लागि यन्त्रीकरण साथै अन्य कामहरुमा पनि हामी जुटेका छौं,’ उनले भने ।
