तनहुँ — जिल्लाको व्यास नगरपालिकाका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतलाई अमर्यादित भाषा प्रयोग गरेको अभियोगमा निलम्बनमा परेका कर्मचारीमध्ये एक जनाको निलम्बन फुकुवा गरिएको छ । चार जनाविरुद्ध स्पष्टीकरण मागिएकामा चारैजनाको स्पष्टीकरण प्राप्त भएपछि सोमबार बसेको व्यास नगर कार्यपालिका बैठकले एक जनाको निलम्बन फुकुवा गरेको हो ।
नगरपालिकाका कर्मचारीहरु कुमारकञ्चन जीसी, प्रमोद सोती, कृष्णराज घिमिरे र कुशेश्वर गुरुङले मादक पदार्थ सेवन गरी गरपालिकाका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध बोलेको अडियो सार्वजनिक भएपछि फागुन १९ गते स्पष्टीकरण माग गरिएको थियो । २१ गते चारै कर्मचारीलाई निलम्बन गरिएको थियो ।
गुरुङले घटना स्वीकार गरी क्षमा मागेकाले निजको हकमा सचेत गराई निलम्बन फुकुवा गराइएको नगर प्रवक्ता एवं वडा नम्बर ९ का वडाध्यक्ष सुरेश थापाले बताए । उनका अनुसार अन्य तीन कर्मचारीलाई पुनः स्पष्टीकरण माग गरी कानुनबमोजिमको कारबाही अघि बढाउन प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिने निर्णय गरिएको छ ।
