लमजुङ — निलो टिसर्ट, ट्राउजर र कालो जुत्तासहितको पोसाकमा परिचय-पत्र भिरेका विद्यार्थीहरू सनई, दमाहा, ढोलक, झ्याली, नरसिंह बोकेर पाहुनाको स्वागतमा पुग्छन् । उनीहरू एकसाथ बाजा बजाउन थाल्छन्, साना विद्यार्थीले बाजा बजाएको देखेपछि पाहुना पनि छक्क पर्छन् ।
लमजुङको क्व्होलासोथार गाउँपालिका–९ गिलुङमा रहेको बुद्धोदय माविका विद्यार्थी पञ्चे र नौमती बाजा बजाउन जान्ने भएका छन् । गाउँमा पाहुना आउँदा, ठूला कार्यक्रम हुँदा तथा विवाहमा विद्यार्थी नै बाजा बजाउन पुग्छन् ।
कक्षाकोठामा अब्बल विद्यार्थीहरू पञ्चे र नौमती बजाउन खप्पिस भइसकेका छन् । उनीहरूका गुरु छापाका ५० वर्षीय मंगले परियारले सनई बजाउन सुरु गरेपछि कक्षा ९ का १५ वर्षीय अमन विकले छोप्छन् । दुई वटा सनई एकसाथ बज्न थाल्छ, पछ्याउँदै कक्षा ६ का ११ वर्षीय रोशन विक र १२ वर्षीय प्रवेश विक एकसाथ ट्याम्को र ढोलक बजाउन थाल्छन् ।
कक्षा ८ का दिपक विकले झुर्मा (झ्याली) पिट्छन् । चन्दन नामले चिनिने कक्षा ८ का १४ वर्षीय अमन विक र कक्षा ६ का १२ वर्षीय रोहित विकले एकसाथ दमाहा हान्न थालेपछि बाजाको ताल पुग्छ । कक्षा ३ का ११ वर्षीय प्रयाश परियार र कक्षा ६ का अर्जुन परियारले नरसिंह रन्काएपछि महोल तातिन्छ ।
नौमती बाजा घन्किन थालेपछि गाउँले पाहुनाको स्वागत गर्न थाल्छन् । विवाह हुँदा गाउँले बाजाको तालमा नाच्न थाल्छन् । ठूला कार्यक्रममा बाजा बज्न थालेपछि उद्घाटन, शिलान्यास जस्ता कार्यक्रम हुन थाल्छ । केही भने विद्यार्थीले बजाएको बाजाको ताल र तौरतरिका हेर्न थाल्छन् ।
गाउँघरमा परियार समुदायका व्यक्तिले पञ्चे–नौमतीबाजा बजाउने गरिए पनि गिलुङ–टक्सार क्षेत्रमा विक समुदायका किशोरले पनि बाजा बजाउन सिकेका छन् । गुरुङ समुदायका किशोरले पनि बाजा बजाउन सिक्न थालेको प्रशिक्षक मंगले परियार बताउँछन् । उनले एक महिना सिकाएपछि विद्यार्थीलाई टक्सारका शंकर परियारले पनि बाजा बजाउन सिकाएका थिए ।
विद्यालयका प्रधानाध्यापक भरत दर्जीका अनुसार गाउँमा अमेरिका बस्दै आएका गम गुरुङले कृष्ण संगीत प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएका छन् । उक्त संस्थाको समन्वयमा बाजाको सेट विद्यालयलाई प्राप्त भएको उनले बताए । ‘विद्यार्थीहरू सिकेर बाजा बजाउन जान्ने भएका छन् । गीतको लय झिक्नलाई केही असहज भए पनि गुरुसँगै गाउन थालेपछि विद्यार्थीलाई सजिलो भएको छ । नरसिंह पनि लामो तान्छन् । सबै बाजा मज्जैले बजाउँछन्,’ उनले भने ।
प्रशिक्षण केन्द्रका सचिव रुद्रमान गुरुङका अनुसार वडा कार्यालयको ७५ हजार रुपैयाँ सहयोग र प्रशिक्षण केन्द्रले थप रकमको व्यवस्थापन गरेर काठमाडौंबाट बाजा खरिद गरेर ल्याएको हो । प्रशिक्षण केन्द्रले संगीतको आधारभूत ज्ञानका लागि प्रशिक्षक ल्याएर विद्यार्थीलाई ज्ञान दिने गरेको उनले बताए । ‘विद्यार्थीलाई हार्मोनियम, बाँसुरी, गिटार, मादल बजाउने आधारभूत तालिम पनि दिने गरेका छौं,’ उनले भने ।
उनका अनुसार विद्यालयका पूर्वप्रधानाध्यापक समेत रहेका गिलुङ–टक्सार घरभएका हालका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पहिले बाजा जुटाइदिने काम गरेका थिए । पछिल्लो समय प्रशिक्षण केन्द्र खुलेसँगै स्थानीय तहसँगको समन्वयमा बाजाको व्यवस्थापन गरिएको सचिव गुरुङले बताए ।
‘गिलुङमा पहिल्यैदेखि बाजा बजाउने कोही थिएनन् । टक्सार माथिको दमै गाउँमा थियो बरु । केटाहरू विदेश जान थाले, युवाहरू भएन । पुरै सेट बजाउन छिमकी गाउँ छापा, डडुवा, घाम्राङलगायत गाउँबाट बोलाउनु पर्थ्यो,’ उनले भने, ‘अहिले त्यो समस्या छैन, विद्यार्थीले नै बजाउँछन् बाजा, बाजा बजाएवापतको १५–२० हजार पनि विद्यार्थीले नै पाउँछन् ।’
