'द क्लिफ'मा कमान्डो तालिमका प्रहरीको बन्जी जम्प

फाल्गुन २५, २०८१

कान्तिपुर संवाददाता

Commando training cops bungee jump at 'The Cliff'

काठमाडौँ — नेपाल प्रहरिको 'प्रहरी विशेष कला तथा कारबाही (कमान्डो) तालिमअन्तर्गत दसौं समूहमा तालिमरत प्रहरीहरुले कुश्मास्थित 'द क्लिफ'मा आइतबार बन्जी जम्प गरेका छन् ।

तालिम संयोजक प्रहरी नायब उपरीक्षक गणेशबहादुर बरालको संयोजनमा क्लिफमा प्रहरीहरूलाई बन्जी जम्प गराइएको महाविद्यालयका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक दीपशमशेर जबराले जानकारी दिए । 

'भविष्यमा आइपर्ने जस्तोसुकै अवस्थाका लागि कमान्डोहरुलाई तयार गर्न साहसिक गतिविधिमा संलग् गराइएको हो,' प्रहरी वरिष्ठ उपरीक्षक जबराले भने, 'नेपालमा मात्र नभई विदेशमा समेत सेवा विस्तार गरिरहेको द क्लिफको प्रोफेसनल टिमका कारण केही वर्षदेखि निरन्तर द क्लिफसँग सहकार्य गर्दै आएका छौं ।'

तालिमअन्तर्गत १ सय ६ जना प्रशिक्षार्थी प्रहरीले बन्जी जम्प गरेका छन् । नेपाल प्रहरीले तालिमरत प्रहरीलाई विभिन्न साहसिक खेलमा सहभागी गराउँदै आएको छ । 

तालिमअन्तर्गत नै सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीकै विभिन्न समूहले यसअघि फरक-फरक समयमा द क्लिफमै बन्जी गरिसकेका छन् । क्लिफका अध्यक्ष राजु कार्कीले नेपाल प्रहरीको तालिमको हिस्सा बन्न पाउँदा खुसी भएको बताए ।

एकै स्थानमा विभिन्न एड्भेन्चर गतिविधि सञ्चालन गरेर पर्वत-बाग्लुङ क्षेत्रलाई सहासिक पर्यटकीय गन्तव्यका रुपमा चिनाउन सफल द क्लिफ आन्तरिक तथा बाह्य पर्यटक मात्र नभई सेना तथा प्रहरीको तालिम केन्द्र समेत बन्न सफल भएको छ । 

क्लिफमा व्यावसायिक स्काई साइक्लिङ, मेगा ट्रोल, स्काई क्याफे, वाल क्लाइम्बिङ, गुलेली पिङ, क्रेजी ब्रिज, स्काइ ग्लाइडिङ, स्काई चियरलगायत गतिविधि सञ्चालनमा छन् ।

कान्तिपुर

Link copied successfully