तनहुँका दुई पालिकालाई कृषि एम्बुलेन्स सहयोग

फाल्गुन २५, २०८१

रासस

Agricultural ambulance support to two municipalities of Tanahun

तनहुँ — सूर्य नेपाल प्रालिले यहाँका दुई पालिकालाई कृषि एम्बुलेन्स सहयोग गरेको छ । शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकाका किसानले उत्पादन गरेका कृषि उपजलाई बजारीकरण गर्न सहज बनाउन कृषि एम्बुलेन्स सहयोग गरेको हो ।

दुई पालिकालाई २६ लाख मूल्यका एक–एक थान कृषि एम्बुलेन्स हस्तान्तरण गरेको प्रालिका मानव संशाधन विभाग प्रमुख अन्जान दुवाडीले जानकारी दिए। नगरपालिकाका प्रमुख कृष्णराज पण्डितलाई प्रमुख दुवाडीले एम्बुलेन्सको साँचो हस्तान्तरण गरे । प्रालिका कारखाना प्रमुख बाबुराम कार्कीले आफूहरुको सहयोगपश्चात स्थानीय सरकारले कृषि क्षेत्रमा काम गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरे।

शुक्लागण्डकी नगरपालिकाका प्रमुख पण्डितले अब गाउँगाउँमा बारअनुसार तालिका बनाएर कृषि उपज सङ्कलन गरी बेलचौतारामा निर्माण गरिएको कृषि सङ्कलन केन्द्र सञ्चालनमा ल्याइने बताए। किसानले न्यूनतम मूल्यमा कृषि एम्बुलेन्स प्रयोग गर्न पाउने भएकाले व्यावसायिक कृषि उत्पादनमा जोड दिन उनले आग्रह गरे। 

नगरपालिकाका उपप्रमुख खुमबहादुर विकले केन्द्र सञ्चालका लागि महत्त्वपूर्ण सहयोग प्राप्त भएको जानकारी दिँदै केन्द्र सञ्चालन कार्यविधि तयार रहेको बताए । उनले गाउँगाउँमा रहेको सामुदायिक भवनलाई कृषि सङ्कलन केन्द्रका रूपमा विकास गरी कृषि उपज बजार ल्याउन कृषि एम्बुलेन्स प्रयोग गरिने बताए।

रासस

Link copied successfully