सात महिनादेखि घाटको पाटीमा प्रहरी चौकी

फाल्गुन २४, २०८१

प्रकाश बराल

Police station at Ghatko Pati for seven months

बागलुङ — कालीगण्डकी किनारको मालढुंगा दैनिक दुई/चारवटा शव दहन गर्ने घाट हो । सदरमुकाम र आसपासका धेरै मानिसको दाहसंस्कार गरिने घाटमा आएका मलामीले चर्को घाम लाग्दा वा झरी पर्दा बस्नका लागि बनाइएको पाटीमा अहिले प्रहरी चौकी बसेको छ ।

२०५१ सालमा बागलुङमा नियमित गाडी चल्न थालेपछि मालढुंगास्थित कालीगण्डकी नदीको पुल छेऊमा प्रहरीले सुरक्षा दिन थालेको थियो । तर चौकी बसेको छाप्रो भत्किएपछि प्रहरी चौकी मलामीका लागि बनाइएको पाटीमा बस्दै आएको छ । तर मलामी पाटी मर्मत गरेर प्रहरी चौकी बसेको ७ महिना बित्दा पनि चौकीका लागि अर्को भवन निर्माणको पहल भएको छैन । 

जिल्ला प्रहरी कार्यालयसहित अन्यत्रका प्रहरी कार्यालय पक्की घरमा छन् । वरिपरि घेराबारा लगाइएका छन्, सुविधायुक्त कार्यकक्ष छन् । तर यो चौकीमा भने प्रहरी कर्मचारीले ओत् लाग्ने ठाउँसमेत गतिलो छैन । यो प्रहरी चौकीको भवन निर्माणका लागि जिल्लाको नेतृत्वले पर्याप्त पहल नगरेको स्थानीयको गुनासो छ।

यहाँ प्रहरी र ट्राफिक चेकपोष्ट समेत १५ जनाको दरबन्दी छ । मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरको संगम स्थल भएको र चौबिसै घण्टा गाडी चल्ने भएकाले यो चौकीमा चौबिसै घण्टा पहरा दिनुपर्ने बाध्यता छ । यहाँ दैनिक सयौं गाडी गुड्छन्, आसपासको दुर्घटनाको उद्दार र रिपोर्टिङको काम पनि यही चौकीले गर्दै आएको छ।

राजमार्ग भएकोले सवारी चेकजाँच पनि नियमित हुने गरेको छ । जस्तोसुकै मानिससँग छलफल र बहस गर्नुपर्छ । आफ्नो चौकीको समेत सुरक्षा नभएको स्थानमा प्रहरीले जनताको सुरक्षाको काम गरिरहेका छन् । यस अघिको छाप्रोबाट हावाहुरी आउँदा जस्तापाता पटक-पटक उडाएर लगेको थियो ।

यहाँ प्रहरी सहायक निरीक्षकको नेतृत्वमा बस्ने प्रहरीले घाटमै पकाएर खाने र सुत्ने गर्दै आएका छन् । यहाँ २ जना ट्राफिक दरबन्दी पनि छ । मालढुंगाबाट बागलुङ जिल्ला प्रवेश हुन्छ । यहींबाटै दक्षिण बागलुङको बलेवा, जैमिनी नगरपालिका र बरेङ तर्फ जाने सडक पनि छुट्छन् । चौबिसै घण्टा सडकमा गुड्ने सवारी साधनको इन्ट्री गराउनु पर्छ । शंकास्पद गाडीमा खान तलासी गर्ने, शंकास्पद मानिस भेटिएमा नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पठाउने काम समेत गर्नुपर्छ । तर सडकमा उभिएका ती प्रहरी कहिले धुलाम्मे त कहिले हिलाम्मे भएर बस्न बाध्य छन् ।

प्रहरीले रेकर्ड रजिष्टर र बरामद भएका काजगात जोगाउन समेत हम्मेहम्मे परेको गुनासो गरे । ‘दरबन्दी पनि आधा मात्रै छ, भएका जनशक्ती पनि एकैपटक बस्न, खान समेत नमिल्ने ठाउमा छौं,’ एक प्रहरीले भने, ‘चेकजाँचमा जस्तो सुकै मानिसाग व्यवहार गर्नु पर्छ, उनीहरुबाट समेत प्रहरी असुरक्षित हुने खतरा छ ।’ गैरकानूनी काम गरेकालाई नियन्त्रणमा लिएर राख्ने कोठा समेत नभएपछि झनै जोखिम हुने उनले बताए । 

एउटै छानोमुनि खानेबस्ने, सुत्ने र कार्यालय संचालन समेत छ । यहाँ अत्याधुनिक चौकी बनाउने चर्चा भएर पनि काम अगाडि बढ्न नसकेको हो । ‘दिनभर उभिएर डिउटी गर्नुपर्छ, कुनै सुरक्षापनि छैन, हावापानीबाट ओत लाग्ने ठाउँपनि छैन,’ एक ट्राफिक प्रहरीले भने, ‘जिल्लाको पहिचान देखाउन मालढुंगामा व्यवस्थित चौकी र निरीक्षण स्थल बन्नुपर्छ ।’

उनले वर्षात्मा दिनभरि रुझेरै डिउटी गरेको बताए । खुला आकासमा बस्नुपर्दा खल्तीमा राखेका कागजात समेत भिज्ने गरेको उनले बताए । उक्त चौकीबाट सदरमुकाम ५ किमी दुरीमा छ ।

मालढुंगाको हाल प्रहरी बसेको स्थान बगलुङ कालीका गुठी र लक्ष्मीनारायण गुठीको जग्गा भित्र पर्छ । यहाँ सुविधा सम्पन्न ‘इस्कोन भवन’ पनि बनिरहेको छ । प्रहरीकालागि भने जग्गा उपलब्ध गराउने र भवन बनाउने काम आलटाल भएको हो । ‘तोकिएको मापदण्डको चार रोपनी जमिन प्राप्त भएमा मात्रै गृहले चौकी बनाउने रकम दिने प्रावधान छ,’ प्रहरी उपरीक्षक ऋषिराम कंडेलले भने, ‘स्थानीयसँग मिलेर चौकी बसाल्ने अवस्थामा छौं ।’ ‘नगरपालिकाले पनि सहकार्य गरेपछि मात्र भवन बन्ने उनको भनाइ छ । 

गुठीका अध्यक्ष कुमार खड्काले पनि सहकार्य नभएको बताए । प्रहरी चौकी चाहिन्छ भन्ने थाहा भएर पनि सहकार्य अभावले जग्गा उपलब्धतामा ढिला भएको उनले बताए । प्रहरी प्रमुख कँडेलले जग्गा व्यवस्थापनकालागि गुठीमा पत्राचार गरेको र गुठी संस्थान सम्म जानकारी भइसकेको बताए । तत्काल भवन निर्माणको काम थाल्न बागलुङ नगरपालिकाले चालुबर्षकालागि १० लाख रुपैयाा समेत बिनियोजन गरेकोले समन्वयमा काम थाल्नुपर्ने बताए ।

‘यहाँ स्मार्ट भवन बन्यो भने जिल्लालाई नै हेर्ने दृष्टि राम्रो हुने हो,’ कँडेलले भने, ‘नगरपालिका र गुठीकै सहकार्यमा भवन बनाउन सकेमा बहुउद्देश्यीय हुनेछ ।’ त्यसका लागि सबै पालिकालाई पनि बजेट बिनियोजन गर्न आग्रह गरेको उनले बताए ।

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully