पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य भन्छन्, ‘फूल लिएर बस्नुपर्ने, हतियार लिएर आए’
पोखरा — पोखरा महानगरपालिकाको अनुमतिबेगर मानव सेवा फाउन्डेसनले कोटिहोम महायज्ञका लागि शुक्रबार भूमि पुजन कार्य सुरु गरेपछि पोखराको लेकसाइड तनावपूर्ण बन्यो । विवादित छविका ‘बालयोगेश्वर विजय श्रीकृष्ण मूर्ती जी महाराज’ भनिने विजय भण्डारी संस्थापक रहेको फाउन्डेसनले वैशाख १६ देखि जेठ २६ सम्म गर्ने कोटिहोमका लागि बाराही मैदानमा भूमि पूजन कार्य गरेको थियो ।
कोटिहोम सञ्चालन गर्न महानगरपालिकाले कुनै अनुमति नदिएकोले भूमि पूजन रोक्न महानगर प्रहरी सहितको टोली बाराही मैदान पुग्यो । महानगर प्रहरीले त्यहाँ रहेका सामग्री नियन्त्रणमा लियो । दुबै पक्षबीच भनाभन भएपछि केहीबेर झडपको स्थिति बन्यो । कोटिहोम पक्षधरको आक्रमणबाट आफ्ना ११ जना नगर प्रहरी घाइते भएको र उनीहरुको पोखराकै मेट्रो सिटी अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले बताए । उनीहरुको टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको छ । ‘हात हतियार सहितको बाउन्सर राखेर कस्तो कोटिहोम गर्न खोजिएको हो ?,’ उनले प्रश्न गरे, ‘भूमि पूजका फूल लिएर बस्नुपर्ने हो, उनीहरु हतियार सहित आए ।’ फाउन्डेसनले पोखरा बाहिरबाट भाडाका मान्छे ल्याएर शुक्रबार नियोजित रुपमा महानगर प्रहरीमाथि रड लगायत हातहतियारले आक्रमण गरेको आरोप उनले लगाए ।
पोखराको लेकसाइडस्थित बाराही मैदानमा गर्ने भनिएको कोटिहोम महायज्ञ यथास्थितिमा गर्न नदिने पोखरा महानगरपालिकाले जनाएको छ । महानगरका प्रवक्ता मोतिलाल तिम्सिनाले शुक्रबार विज्ञप्ति प्रकाशित गरी स्थानीय सरकारको क्षेत्राधिकार उल्लंघन हुने गरी गर्न लागिएको कोटिहोमको सम्पूर्ण कार्यक्रम स्थगत गर्न अनुरोध गरेका छन् ।
प्रवक्ता तिम्सिनाले फाउन्डेसन अनुमतिबिना प्रचलित कानुनविपरीत कोटीहोमका नाममा जबरजस्ती भूमिपूजन गर्न खोज्दा असहज परिस्थिति सिर्जना हुन पुगेको बताए । ‘सम्मानित उच्च अदालत पोखरामा विचाराधीन अवस्थामा रहेको कोटीहोमसँग सम्बन्धित सम्पूर्ण कार्यक्रमहरू स्थगन गर्न पोखरा महानगरपालिकाले अनुरोध गर्दै आइरहेको,’ उनले भने, ‘महानगरपालिकाका जनप्रतिनिधिहरु कार्यक्रम स्थलमा उपस्थित भई कार्यक्रम स्थगन गर्न अनुरोध गर्दा अटेर गरी कार्यक्रम अगाडि बढाउनु प्रचलित कानुन र स्थानीय सरकारको क्षेत्राधिकार माथिको उल्लघंन हो ।’ धर्मको आवरणमा गुण्डागर्दी शैलीमा रड, लाठी र हतियारसहित पोखरा बाहिरका मानिस समेत जम्मा गरी सांघातिक आक्रमणमा उत्रनु निन्दनीय कार्य रहेको विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘जनप्रतिनिधिहरू माथि अशिष्ट, अमर्यादित, उत्तेजक र भ्रामक अभिव्यक्तिहरू दिएर सुरुआतबाटै धार्मिक सहिष्णुतालाई भड्काउने, धर्मका नाममा समाजलाई विभक्त तुल्याउने, सनातन आस्था प्रति घृणा फैलाउने, सदिऔंदेखि मिलेर शान्तिपूर्ण रूपमा बसिरहेको पोखराको एकता र शान्ति खलबल्याउने कुत्सित मनसाय साथ गरिएका यस्ता हर्कतहरु कानुनतः दण्डनीय छन् ।’ नियोजित रूपमा घटना घटाउन उद्धत व्यक्तिहरूको पहिचान गरी कानुन बमोजिम कडा कारबाही गर्न प्रशासन समक्ष विज्ञप्तिमार्फत अनुरोध गरिएको छ ।
फाउन्डेसनले पोखरा क्षेत्रका ऐतिहासिक महत्त्वका चौतारीमा रहेका सयौं वर्ष पुराना वर पीपलका रुख मास्ने कार्यमा समेत संलग्न रहेको थियो । त्यसरी काटेर थुपारिएका दाउरा महानगरले जफत गरेको थियो । सबै धर्म र संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्ने दायित्व र जिम्मेवारी प्रति पोखरा महानगरपालिका पूर्ण प्रतिबद्ध रहेकोले महानगर क्षेत्रमा प्रचलित कानुन विपरीतका कुनै पनि कार्य सञ्चालन नगर्न/नगराउन विज्ञप्तिमा आह्वान गरिएको छ । फाउन्डेसनले भने नेपाल ट्रस्ट मातहतको जग्गामा कोटिहोम गर्ने भएकोले महानगरको अनुमति लिनुनपर्ने बताउँदै आएको छ ।
