पोखरा — म्याग्दीको बेनीस्थित कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको डेढ अर्ब नगद हिनामिनाको आरोपित ५ जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको छ ।
बुधबार जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले कुमारी सहकारीमा आर्थिक हिनामिना गरेको आरो लागेकालाई पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको हो । अदालतका श्रेस्तेदार भोलाराज रेग्मीका कुमारी सहकारीका हर्ताकर्ता एवं एमाले नेता राजकुमार थापासहित प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिएका सबै ५ जनालाई कारागारमा थुनामा राखेर अनुसन्धान गर्न आदेश भएको हो । पक्राउ परेका सहकारीका पूर्वअध्यक्ष थमबहादुर गर्बुजा मुटुरोगी भएकाले छुटेका छन् । उनी पक्राउ परेकै दिनदेखि पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचाररत थिए ।
कुमारी सहकारीका संचालक समिति र व्यवस्थापकको समेत मिलोमतोमा करिब १ अर्ब ५० करोड हिनामिना गरेको आरोपमा ६ जनालाई २९ दिनअघि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको थियो ।
कुमारी सहकारीको रकम हिनामिना गर्ने मुख्य योजनाकार एवं जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा एक्लैले १७ करोड ५८ लाख रुपैयाँ हिनामिना गरेको भन्दै उनीविरुद्ध अदालतमा मुद्दा दायर भएको थियो । उनलाई ८ वर्ष कैद सजाय माग गरिएको छ ।
व्यवस्थापक रुद्रबहादुर गुरुङ १३ करोड ५२ लाख, पूर्वकोषाध्यक्ष बालकुमार रोकामगरलाई ८ करोड ३२ लाख बिगो जरिवाना मागेर मुद्दा दर्ता भएको हो । कुमारी सहकारीको डेढ अर्ब हिनामिनामा २५ जना संलग्न भएको ठहर गर्दै गण्डकी प्रदेश सहकारी रजिस्टारको कार्यालय पोखराले ९ महिनाअघि प्रारम्भिक छानबिन गरेर प्रतिवेदन सार्वजनिक गरेको थियो । रकम हिनामिनामा संलग्न अन्य १९ जना भने फरार छन् ।
