पोखरा — निर्माण कम्पनीको लापरबाहीले पूर्वी नवलपरासीस्थित कालीगण्डकी नदीमा निर्माण भइरहेको पुल नौ वर्षदेखि अधुरै छ । ठेकेदार काम छोडेर सम्पर्कविहीन भएपछि नौ वर्षअघि निर्माण सुरु भएको पक्की पुलको काम अलपत्र परेको हो ।
काम अलपत्र पारेको ठेकेदारले १३ करोड भुक्तानी लिइसकेको छ । पूर्वी नवलपरासीको बुलिङ्टार र तनहुँको रिसिङ गाउँपालिका जोड्ने गरी कालीगण्डकी नदीमा २०७२ मा पुल निर्माण सुरु गरिएको थियो ।
पुल सेक्टर कार्यालय पोखराका इन्जिनियर बिदुर सुवेदीका अनुसार पुल निर्माण सुरु गरेको नौ वर्षको अवधिमा ४५ प्रतिशत मात्र काम भएको छ । ठेकेदार कम्पनीले काम नसक्दै १३ करोड रुपैयाँ भुक्तानी लगिसकेको उनले बताए । पुल निर्माणका लागि पटक–पटक ठेकेदार कम्पनीलाई लिखित रुपमा पत्राचार गर्दा समेत अटेर गरेको सुवेदीको भनाई छ ।
‘हालसम्म ४५ प्रतिशत काम सम्पन्न गरेको छ । १३ करोड भुक्तानी भने लगिसकेको छ,’ उनले भने, ‘पुल निर्माणका लागि तारन्तार ठेकेदार कम्पनीलाई लिखित पत्राचार गर्दा समेत टेर्दैन ।’
पुल निर्माणको लागि संयुक्त रुपमा काम गर्ने गरी ३ वटा कम्पनीले ठेक्का लिएको थियो । जिम्मेवारी पाएका तीन वटै ठेकेदार कम्पनी सम्पर्कमा नआएकोले काम पूरा हुन नसकेको पुल सेक्टर कार्यालय पोखराका इन्जिनियर सुबेदीको भनाई छ । कुल २६ करोड ८२ लाख रुपैयाँको लागतमा लुम्बिनी, स्वच्छन्द र नार्गाजुन निर्माण कम्पनीले संयुक्त काम गर्ने गरी जिम्मेवारी लिएका हुन् ।
पछिल्लो पटक गत बैशाखमा एक वर्ष समय थप गरेर निर्माणको जिम्मेवारी दिइए पनि ठेकेदार कम्पनी काम गर्न नआएको इन्जिनियर सुवेदीले जानकारी दिए । काम थालेको ९ वर्षको अवधिमा कालिगण्डकीमा ४ वटा मात्र खम्बा ठड्याइएको छ । २ सय ९० मिटर लम्बाई र साढे १० मिटर चौडाइको पुल निर्माण अलपत्र परेपछि स्थानीयलाई आवतजावतमा समस्या हुने गरेको छ । ‘काम थालेको ९ वर्ष भइसक्यो ठेकेदार आउदै आउदैनन्,’ स्थानीय सूर्य कँडेलले भने ।
महेन्द्रराजमार्गको कावासोती, दलदले, कोखे सडक हुँदै तनहुँको रिसिङ आउजाउ गर्न यो पुल आवश्यक हो । कालिगण्डकी करिडोर अन्तर्गतको बुलिंटार–४ मा पर्ने कोखेमा यो पुल निर्माण सुरु भएको हो । कोखे बजारबाट १ सय मिटर उत्तरमा रहेको कालिगण्डकी नदीको घाट किनारलाई गडगडीघाट भनिन्छ ।
गैंडाकोट, कावासोती र दल्दलेबाट अर्खला कोखे हुँदै भिमाद पोखरा पुग्न यो पुल तरेर जाँदा बाटो छोटो हुन्छ । गैंडाकोट, कावासोती र दलदलेबाट पोखरा जाने यात्रु हाल कोखे भन्दा १३ किलोमिटर पश्चिम डेढगाउँ हुँदै तनहुँको भिमाद बजार पुग्ने गरेका छन् ।
