गोरखा — बारपाक सुलिकोट गाउँपालिकाले अभिभावक नभएका तथा अशक्त बालबालिकालाई आवासीय सुविधासहित नि:शुल्क शिक्षा उपलब्ध गराएको छ । बारपाक सुलिकोट–६ ताकुस्थित वाहकोटमा मनास्लु छात्रावास सञ्चालन गर्दै बालबालिकालाई आवासीय सुविधा उपलब्ध गराइएको हो ।
छात्रावासमा गाउँपालिकाभरीका १९ बालबालिका रहेका छन् । छात्राबासमा बस्ने बालबालिका २ देखि १० कक्षासम्म सूर्योज्योति माध्यमिक विद्यालयमा अध्ययन गरिरहेको छात्राबासका निरीक्षक सूर्यकुमार श्रेष्ठले बताए ।
‘आमाबुबा नभएर समस्यामा परेका बालबालिका छात्राबासमा हुनहुन्छ, गाउँपालिकाले खानेबस्ने सबै सुविधा उपलब्ध गराएको छ,’ उनले भने,‘साहरा नभएकै कारण शिक्षाबाट बञ्चित हुने अवस्था नआओस् भनेर आवासीय सुविधा उपलब्ध गराउने कार्यको थालनी भएको हो ।’
गत जेठ १ गतेबाट बालबालिकालाई गाउँपालिकाले आवासीय सुविधा दिन थालेको हो ।
छात्राबासका बालबालिकालाई भरणपोषण, स्टेसनरी, दैनिक जीवन निर्वाहका लागि चाहिने सामग्रीलगायतका सबै सुविधा उपलब्ध गराइएको उनले बताए । वैदेशिक रोजगारको प्रभाव तथा विभिन्न कारणले बालबालिकाले संरक्षक नपाएर पढाइबाट बञ्चित हुने अवस्था देखेपछि गाउँपालिकाले गाउँसभाबाट निर्णय गराएर छात्राबास सेवा सुरु गरेको थियो ।
बाहकोटको मनास्लु आधारभूत विद्यालय सूर्योज्योति माविमा गाभिएपछि खाली रहेको विद्यालय भवनलाई छात्राबासको रुपमा प्रयोग गरिएको उनले बताए । ३० जनासम्म बालबालिका राख्न सक्ने गरी छात्राबासका संरचना छन् । आउँदो शैक्षिक सत्रबाट बालबालिका थप्ने योजनामा रहेको उनले बताए ।
‘बाबुआमा नभएर समस्यामा परेका बालबालिका गाउँपालिकाभरी अझै १७/१८ जना छन् । अब चैतमा बालबालिका थप्ने योजनामा पनि छौं,’ उनले भने । छात्रावास सञ्चालनका लागि मासिक १ लाख २० हजार रुपैयाँसम्म खर्च भइरहेको छ । खर्चको व्यवस्थापन गाउँपालिकाले मिलाएको श्रेष्ठले बताए । ‘केही सामग्री विभिन्न संघसंस्थाबाट पनि सहयोग आउने गरेको छ,’ उनले भने,‘बालबालिकालाई कुनै अभाव र असहज नहोस् भनेर सचेत छौं ।’
बालबालिकालाई १२ कक्षासम्म छात्राबासमा राखेर शिक्षा दिइने बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले बताए । खाना, आवास, हेरचाहलगायतका आधारभूत कुरामा गाउँपालिकाले व्यवस्थापन गरेर छात्राबास सञ्चालन गरिएको उनको भनाइ छ ।
‘बालबालिकाको अवस्था बुझ्दा छात्राबास सञ्चालनको अपरिहार्यता देख्यौं, वैदेशिक रोजगारी तथा सामाजिक विघटनका कारण सामान्य स्याहार पनि नपाएका बालबालिका छात्रावासमा हुनुहुन्छ,’ उनले भने,‘विभिन्न कारणले समस्यामा परेर शिक्षाबाटै बञ्चित हुने अवस्था देखिएपछि गाउँपालिका मातहत नै रहने गरी छात्राबास सेवा सुरु गरेका हौं ।’ छात्राबास सञ्चालनमा सहजताका लागि शिक्षा मन्त्रालयमा प्रस्ताव पनि पेश गरिएको उनले बताए । बालबालिकालाई मनोसामाजिक परामर्श पनि उपलब्ध गराइएको उनले बताए ।
बाबुआमा नभएका, बुबा सम्पर्कमा नरहेका तथा बाबुआमामा अपांगता भएर पठनपाठनमा समस्या परेका बालबालिका छात्राबासमा राखिएको छ । बाबुआमा नभएको तथा संरक्षण पनि नपाएका बालबालिकालाई विद्यालय र वडाको सिफारिसका आधारमा छनोट गरी छात्रावासमा बस्ने व्यवस्थापन मिलाएको हो ।
