लमजुङ — लमजुङमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले जिल्लास्तरीय भेलामार्फत ७ बुँदे संकल्प प्रस्ताव पारित गरेका छन् । बेंसीसहरमा आयोजित भेलामा विगतको समीक्षा गर्दै आगामी कार्ययोजनासहित संकल्प प्रस्ताव पारित गरेको जिल्ला अध्यक्ष राजकुमार विष्टले जानकारी दिए ।
कार्यकाल २ वर्ष हाराहारी हुँदा एमाले लमजुङले पार्टीबाट निर्वाचित जनप्रतिनिधिबाट सम्पादित कार्यको समीक्षा गर्दै बाँकी कार्याकालको योजना बनाएको हो । एमालेबाट निर्वाचित जनप्रतिनिधिले नीति कार्यक्रम र बजेट श्रमजीवि वर्गको पृष्ठपोषण गर्ने र समाजवादको आधार निर्माणमा सहयोग पुग्ने खालको बनाउने संकल्प प्रस्ताव पारित गरेको छ ।
भेलाबाट पार्टीको विधानले व्यवस्था गरेअनुसार स्थानीय सभादलको नियमित बैठकपछि मात्र स्थानीय पालिकाको बैठक आयोजना गर्ने, २०७९ को स्थानीय तह निर्वाचनमा सार्वजनिक गरिएको घोषणा पत्रअनुसार काम भए नभएको चालु आर्थिक वर्षमा समीक्षा गरी आगामी बजेट निर्माण गर्ने संकल्प प्रस्ताव पारित गरेको छ ।
पारित संकल्प प्रस्तावमा एमालेले नेतृत्व गरेका पालिकाबाट भएका राम्रा कामको जानकारी जनतालाई दिन, जनताप्रति जवाफदेही बन्न र कामको प्रचारप्रसार गर्न ‘पालिका मुखपत्र’ प्रकाशन गर्ने उल्लेख छ । चौमासिक रुपमा पालिका र वडा तहमा गरिएका गतिविधिको लिखित जानकारी पार्टीमा दिने, पार्टीको वडाकेन्द्रीत अभियानमा जनप्रतिनिधिहरु अग्रपंक्तिमा रहेर पार्टीलाई जनताको बीचमा लोकप्रिय बनाउने संकल्प पारित गरिएको छ ।
भेललाई सम्बोधन गर्दै पार्टी उपमहासचिव एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफूले गरेको कामको प्रचारप्रसार गर्न जनप्रतिनिधि चुकेको बताए । उनले जनताकै लागि गरेको कामलाई जनतासामु पुर्याउन नसकिएको बताए ।
भेलामा केन्द्रीय सदस्य एवम् लमजुङ इन्चार्ज जमीन्द्रमान घले, केन्द्रीय अनुशासन आयोगका सदस्य मायानाथ अधिकारी, एमाले गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दवाडीले प्रशिक्षण दिए ।
भेलामा जिल्ला समन्वय समितिका प्रमुखसहित पालिका प्रमुखले प्रतिवेदन प्रस्तुत गरेका थिए ।
लमजुङमा ४ नगरपालिका र ४ गाउँपालिका गरी ८ वटा स्थानीय तह रहेकामा गत स्थानीय तह निर्वाचनमा एक नगरप्रमुख, ३ गाउँपालिका अध्यक्षका साथै ३ नगर उपप्रमुख र २ गाउँपालिका उपाध्यक्षमा एमालेले जितेको थियो ।
