बागलुङ — पाँचथरको चिवाभञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्म पुग्ने १ हजार ८ सय ८७ किमि लामो मध्यपहाडी लोकमार्ग निर्माण सुरु भएको दशक नाघ्यो । तर कालोपत्र गरिएका कतिपय खण्ड हस्तान्तरण नहुँदै जीर्ण बनेका छन् ।
आफ्नै राजपत्र नभएको भन्दै आयोजनाले सडक छेवैमा जोडेर बनेका संरचना हटाउन तत्परता देखाएको छैन । सडक ऐन २०३१ ले राजमार्गको हकमा दायाँबायाँ ३१ मिटरसम्म संरचना बनाउन रोकेको छ ।
मध्यपहाडी राजमार्ग नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना हो । यो राजमार्गको बागलुङमा पर्ने १ सय ४२ किमिमध्ये १० किमि खण्ड मात्रै कालोपत्र गर्न बाँकी छ ।
विभागमा हस्तान्तरण पछि मात्र जीर्ण सडक मर्मत गरिनेछ । त्यही सडक पनि नालीसम्मै अतिक्रमण गरेर संरचना बन्न थालेका छन् । ठूला आयोजनादेखि व्यक्तिका घरसमेतले राजमार्ग अतिक्रमण भइरहेको हो । आयोजनाले राजपत्र नभएको निहुँले अतिक्रमण पनि हेटेको छैन ।
निसीखोला गाउँपालिकामा धमाधम बनेका घर अधिकांश सडक छेवैमा जोडिएका छन् । राजमार्गले ती घरटहरा हटाउन सकेको छैन । गलकोट, बडिगाड र काठेखोलामा पनि सडक नजिकै बनेका घर तथा अन्य संरचनाले सडक चौडा बनाउन समस्या देखिएको छ । यसमा आयोजनाले पहल गरेको छैन ।
पक्की भइसकेको स्थानमा राजमार्ग आयोजनाले साढे ७ मिटर कालोपत्र गरेको छ । छेवैमा रहेको नालीमै जोडेर धेरै संरचना बनिरहेका छन् । निर्माण सुरु भएदेखि नै मापदण्ड अनुसारको सडक बन्नै नसकेकाले बजार क्षेत्र अस्तव्यस्त भइसकेको छ भने अन्य स्थानमा पनि सडक निकै साँघुरो भएको गलकोट नगरपालिका-७ का टंक केसीले बताए । ‘अहिलेदेखि नै सडक कति मिटरको हुने भन्ने यकिन नगरी संरचना बनाउन दिने हो भने भोलि राजमार्गमा गाडी गुड्नै सक्दैनन्,’ उनले भने, ‘यो बेलैमा सोच्नुपर्ने भएको छ ।’
मध्यपहाडी राजमार्ग आयोजना कार्यालयका प्रमुख शम्भु आचार्यले आफ्नै राजपत्र नभएकाले कडाइ गर्न नसकेको बताए । छिट्टै सडक डिभिजनमा हस्तान्तरण गरेर मापदण्ड कायम गराउने उनको भनाइ छ ।
सदरमुकाम बागलुङ बजारका केही स्थानदेखि काठेखोला, गलकोट, बडिगाड र निसीखोलासम्म सडकको अधिकांस खण्डमा बाटो विस्तार गर्ने ठाउँ नै नराखी संरचना बनिरहेका हुन् । कालोपत्र भइसकेको गलकोट नगरपालिकाको हटियादेखि खरबाङतर्फको २० किमि खण्डमा त ७ देखि ८ मिटरमै नाली र कालोपत्र गरेर साँघुरो पारिएको छ । बर्सातमा खसेका पहिरो समेत नहटाएपछि दोहोरो गाडी गुड्नसमेत गाह्रो छ । सडकमा परेका खाल्डाले साना सवारीसाधन ठोकिन्छन् । कालोपत्र भने पनि धुलाम्मे सडकको सास्ती यात्रुले भोगिरहेका छन् ।
मनेवास्थित दरमखोला जलविद्युत् आयोजनाले डेढ किमि सडक खनेर पाइपलाइन बिछ्याएपछि छेवैमा पाइपलाइन र सिमेन्टका संरचना बनेका छन् । सडक धुलैधुलो छ । निसीखोलातर्फ सडकको नालीमा फोहोर जमेको छ, सामान्य मर्मत पनि भएको छैन । ‘हाम्रो गाउँपालिका भवनकै अगाडि सडक बिग्रेको छ, नाली भरिएको छ, अस्थायी संरचना बनिरहेका छन्, सडकमा दुर्घटनाको जोखिम बनेको छ,’ निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन पुन मगरले भने, ‘दोहोरोपना हुने भएकाले लगानी गर्न पनि पाएका छैनौं ।’ अघिल्ला वर्ष केही स्थानमा खसेको पहिरो पन्छाउने र खाल्डाखुल्डी पुर्ने काममा खर्चेको रकम बेरुजु आएकाले गाउँपालिका यो पटक मर्मत गर्न पनि डराएको हो । 
बागलुङ बजारदेखि घोडाबाँधेसम्मको २५ किमि खण्ड त अझै बनिसकेकै छैन । सिद्धिसाई भारत संयुक्त निर्माण कम्पनीले जिम्मा लिएको पहिलो १३ किमि खण्ड अलपत्र परेपछि कालोसूचीमा राख्ने तयारी हुँदा ९ वर्षपछि पेटी ठेकेदारमार्फत काम सुरु भएको छ । दोस्रो १२ किमि सडक खण्ड पनि ९ वर्षदेखि अलपत्र पारेपछि सूर्य कन्स्ट्रक्सनको ठेक्का रद्द भएको छ । २६ वर्षअघि खुलेको ग्रामीण सडकलाई लोकमार्गमा रुपान्तरण गरिएको थियो ।
‘ग्रामीण सडक हुँदा दैनिक दुईचार गाडी गुड्थे, अहिले लोकमार्गमा रुकुम, रोल्पा, जाजरकोट र दैलेखसम्मका सवारी गुड्छन्, यही अवस्थामा सडक साँघुरो भइसकेको छ,’काठेखोला गाउँपालिका-६ का अध्यक्ष वृहस्पति कँडेलले भने, ‘एकातर्फ धुलो, अर्कोतर्फ साँघुरो सडकले दुर्घटनाको जोखिम छ ।’ धुलोले स्थानीय बिरामी परिरहने उनले गुनासो गरे । धुलोले छोपिएकाले गाईभैसीले घाँस नखाने, सुन्तलाबारी सेताम्मे हुँदा बजार नपाउने अवस्था समेत बनेको उनले बताए ।
बर्सातमा झाँक्रीस्थान र काफलठुटा नजिकैको घुम्ती मर्मत जोखिम बढेको छ । बडिगाड गाउँपालिकाभित्र पर्ने २९ किमि सडकमध्ये खहरे, तुरतुरे र नुवारमा भत्केको खण्ड र पहिरोसमेत अझै उस्तै छ । राजमार्ग भने पनि एकतर्फी सवारी मात्रै गुड्ने भएकाले दुर्घटनाको खतरा हुने जिप चालक दीपेन्द्र क्षेत्रीले बताए । तुरतुरेमा त अझै पनि सडकको ट्रयाक मात्रै छ । सडक चौडा पार्ने काम थाल्दा अधिकांश घरटहरा भत्काउनुपर्ने बाध्यता भइसकेको छ । त्यतिबेला आयोजनालाई आर्थिक भार पर्नुको साथै सडक चौडा पार्नै नसक्ने अवस्था आउने पुनले बताए ।
निसीखोला-६ को भलकोटमा त मानिस हिँड्दा पनि सवारीसाधनलाई साइड नपुग्ने अवस्था आइसकेको छ । साँघुरो सडक छेवैमा संरचना थपिएका छन् । ‘नक्सा पास गरेर घरटहरा बनाउनुपर्नेमा आफ्नै ढंगले बनेका छन्,’ इन्जिनियर दीपेन्द्र भण्डारीले भने, ‘सडकले राइट अफ वे को चिह्न नलगाएसम्म गाउँपालिकाले पनि केही भन्न सकेका छैनौं ।’ सडक बनिसकेपछि न्यूनतम मापदण्ड हुने भए पनि लोकमार्ग आयोजना कार्यालयले अहिलेसम्म केही नगरेको हो ।
कालोपत्रे भएको ५ वर्ष बितिसक्दा पनि आयोजनाले सडक डिभिजनलाई हस्तान्तरण गरेको छैन । ‘केही खण्डको पहिरो पन्छाएर ठेकेदारले हस्तान्तरण नगर्दा ढिलाइ भएको हो,’ आयोजनाको बागलुङ र पर्वत हेर्ने कार्यालयका सूचना अधिकारी किरण सुवेदीले भने, ‘छिट्टै सडक मर्मत गरेर हस्तान्तरण गरेपछि सडक छेउका घरटहरा पनि हटाइनेछ ।’
हस्तान्तरणपछि सडक डिभिजनले आफ्नो अधिकार प्रयोग गर्न सक्ने उनले बताए । विभागस्तरीय अनुगमन सुरु भएकाले निसीखोलातर्फ ५० किमि हस्तान्तरणको तयारीमा रहेको समेत उनले जानकारी दिए ।
जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले लोकमार्गको राजपत्र नभएपनि सडक ऐन आकर्षित हुने बताए । राजमार्ग भएकाले घरटहरा र अन्य संरचना बनाउनेले पनि ठाउँ छाडेर बनाउनुपर्ने उनले सुझाव दिए । ‘सडक ऐनले पनि दायाँबायाँ संरचना बनाउन रोकेको छ, त्यो ख्याल गर्नुपर्छ,’ थापाले भने, ‘सडक मिच्ने काम गर्दा आफैलाई जोखिम हो ।’ अनुगमनको क्रममा आवश्यक सुझाव दिएको तर आयोजनाले कार्यान्वयन नगरेको उनले टिप्पणी गरे ।
