युवा जनशक्तिलाई रोक्न गम्भीर बनौं : राष्ट्रपति पौडेल

फाल्गुन १७, २०८१

कान्तिपुर संवाददाता

Let's be serious about stopping the youth workforce: President Paudel

पोखरा — राष्ट्रपति रामचन्द्र पौडेलले देश र जनताका लागि अझै काम गर्न बाँकी रहेको भन्दै राष्ट्र निर्माणको महाअभियानमा जुट्न अपिल गरेका छन् ।

कास्कीको पोखरा महानगरपालिका–१८ सराङकोटमा आयोजित श्रीमद्भगवत् ज्ञान महायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव २०८१ एवम् देवालय सराङकोट धामको समुदघाट्न समारोहमा सम्बोधन गर्दै उनले देश अगाडि बढिरहेको बताए । 

राष्ट्रपति पौडेलले युवा जनशक्तिको पलायन मुलुकका लागि ठूलो चिन्ताको विषय भएको भन्दै यो अवस्थाबाट मुलुकलाई जोगाउन सम्बद्ध सबैलाई गम्भीर बन्न आग्रह गरे । २०४६ सालको परिवर्तनपछि गाउँगाउँमा बाटो, बिजुली, पानी, शिक्षा, स्वास्थ्य, सञ्चारजस्ता पूर्वाधार पुगिसकेको बताउँदै उनले अब स्वदेशमै रोजगारी र आम्दानीको अवसर सिर्जना गरी विदेश पलायन भइरहेको युवा जनशक्तिलाई रोक्नुपर्नेमा जोड दिए ।

उनले पोखराको विशिष्टता, प्राकृतिक सौन्दर्य, संस्कृति र  सभ्यतालाई समृद्धिको आधारका रूपमा स्थापित गर्न सकिने बताए । निजी क्षेत्रका लागि लगानीमैत्री वातावरण बनाउन स्थानीय, प्रदेश र सङ्घ सरकारले उपयुक्त नीति, नियम र कानुन निर्माण गरेर प्रोत्साहन गरिदिनुपर्ने उनको भनाइ थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully