म्याग्दी — बेनी नगरपालिका, ९ स्थित गलेश्वर शिवालय मन्दिरमा शिवरात्रीका दिन भक्तजनले चार लाख ३३ हजार सात सय ७४ रुपैयाँ नगद भेटी चढाएका छन् ।
शिवरात्रीका दिन बिहानैदेखी साँझसम्म गलेश्वर शिवालय मन्दिरमा पुजाअर्चना गर्न आएका भक्तजनले चढाएको भेटी भोलिपल्ट बिहीबार बिहान स्थानीय अगुवा, आमा समूह, प्रहरी, पुजारी र कोषका पदाधिकारीको रोहोवरमा गणना गरिएको गलेश्वर क्षेत्र विकास कोषका कार्यालय सचिव रामबहादुर बानियाँले बताए ।
मन्दिरमा जिल्लाबाहेक बाग्लुङ, मुस्ताङ, पर्वत, कास्कीबाटसमेत ठूलो संख्यामा भक्तजन आएका थिए । मन्दिरमा शिवरात्री, वालाचर्तुदशी, साउने सोमबारमा दैनिक रुपमा आउने भक्तजनले वार्षिक ८० लाख बढी रुपैयाँ नगद भेटी चढाउने गरेका छन् ।
उक्त भेटी पूजाअर्चनाको भोलिपल्ट र बाँकी समय हरेक महिनाको अन्तिम दिन गणना गरी सोही दिन बैंकमा जम्मा गर्ने गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।
आम्दानीबाट मन्दिरका व्यवस्थापन कर्मचारी, पुजारी, सरसफाइ कर्मचारी, जेष्ठ नागरिक आश्रमका भान्से, कालीगण्डकी वेदविद्याश्रम संस्कृति विद्यालयमा खर्च गर्ने तथा केही रकम सामाजिक उत्तरदायित्व अर्न्तगत पदमार्ग निर्माण, खानेपानी, सडक बत्ती, सडकमा सिसी क्यामेरा जडान, धार्मिक पुस्तकालय निर्माण जस्ता सामाजिक काममा खर्च गर्ने गरेको र बचेको रकम कोषका विभिन्न बैंकमा रहेका खातामा जम्मा गर्ने गरिएको छ ।
‘शिवरात्री, वालाचर्तुदशी, साउने सोमबार र दैनिक दर्शन गर्न आउने भक्तजनले गलेशवर शिवालय मन्दिरमा चढाएको भेटीबाट बार्षिक ४०–४५ लाख र विभिन्न बैंकमा रहेको कोषको मुद्दति बचतबाट ब्याजगरी वार्षिक ८० लाखबढी आम्दानी हुने गरेको छ,’ गलेश्वर क्षेत्र विकास कोषका अध्यक्ष माधव रेग्मीले भने, ‘पुजारी, कर्मचारी, मर्मतसंभार र सामाजिक उत्तरदायित्व तर्फगरी वार्षिक ३५–४० लाख खर्च हुने गरेको छ ।’
