नवलपुर — बिरालो प्रजातिका वन्यजन्तुको अध्ययन, अनुसन्धान र संरक्षणबारे जानकारी दिने उद्देश्यले प्राकृतिक विज्ञानमा उच्च शिक्षा अध्ययनरत विद्यार्थीलाई सशक्तीकरण तालिम दिइएको छ ।
वाइल्ड केयरद्वारा नवलपरासी पूर्वको विनयत्रिवेणी गाउँपालिकाको त्रिवेणीमा आयोजित ३ दिने तालिममा बिरालो प्रजातिका वन्यजन्तुको पहिचान, अध्ययन अनुसन्धान गर्ने विधि र प्रक्रियाबारे जानकारी दिइएको हो ।
बिरालो प्रजातिका वन्यजन्तुको महत्त्व, समुदायले हेर्ने दृष्टिकोण र यी वन्यजन्तुका संरक्षण र चुनौतीबारे विस्तृत जानकारी दिइएको थियो । अनुसन्धान गर्ने विधि रेडियो कलर जडान र क्यामरा ट्रापिङबारे सैद्धान्तिक ज्ञान पनि दिइएको थियो ।
सहभागीलाई वाल्मीकि आश्रम वन क्षेत्रमा क्यामरा ट्रापिङ कसरी र कुन अवस्थामा गर्ने भनेर व्यावहारिक ज्ञान दिइएको थियो । तालिममा वन विज्ञान, प्राणीशास्त्र र वातावरण शास्त्रमा स्नातक अध्ययनरत मुगुदेखि संखुवासभासम्मका १४ जिल्लाका १४ जना र स्थानीय सिटिजन साइन्टिस्ट ४ गरी १८ जनाको सहभागिता थियो ।
नेपालमा बिरालो प्रजातिका १३ वटा वन्यजन्तु पाइन्छन् । त्यसमा पाटेबाघ, हिउचितुवा र चितुवा बिरालो प्रजातिमा पर्छन् । ध्वाँसे चितुवा, फ्याकु बिरालो, तासी बिरालो, सुनौलो बिरालो र मलाहा बिरालो सानो बिरालो प्रजातिमा पर्छन् । त्यस्तै वन बिरालो, चरीबाघ, एसियाली जंगली बिरालो, छिरबिरे बिरालो र खियाथोप्ले बिरालो पनि साना बिरालो प्रजातिमा पर्छन् ।
यी वन्यजन्तुले पारिस्थितिकीय प्रणाली सन्तुलन राख्न निकै महत्त्वपूर्ण भूमिका खेल्न भएकाले संरक्षण अभियान स्वरूप युवा विद्यार्थीलाई परिचालन गर्न तालिम दिइएको आयोजकको दाबी छ । सहभागीलाई बाघ विशेषज्ञ डा. बाबुराम लामिछाने, मलाहा बिरालो विशेषज्ञ रमा मिश्र र हिउचितुवा विशेषज्ञ तथा विश्व चर्चित रोलेक्स अवार्ड विजेता रिन्जिन फुन्जोक लामाले आफ्ना अनुभव र ज्ञान बाँडेका थिए । तालिम लिएकाले विद्यालय र समुदायमा गएर दुई सातासम्म सचेतना जगाई संरक्षणमैत्री काम गरेपछि प्रमाणपत्र दिइने बताइएको छ ।
